कोरोनामुक्त भए दुई संक्रमित

आत्मबल र हौसला नै ठुलो औषधि रहेछ’
वेलकम खबर
बैशाख ७, २०७७

काठमाडौं । शनिवार एकैदिन दुई जना कोरोना संक्रमित भाइरसमुक्त भएका छन् । काठमाडौंकी १९ वर्षिया युवति र बाग्लुङकी ६५ वर्षिया महिला कोरानामुक्त भएका हुन् । शनिवार दुवै जनाको परीक्षणको रिपोर्ट लगातार दोस्रो पटक नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

योसँगै नेपालमा कोरोनाबाट निको हुने संख्या तीन पुगेको छ । फ्रान्सबाट कतारको दोहोहुँदै फर्किएकी काठमाडौं मैतिदेवीकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ निको भएर टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् । २७ दिनको अस्पताल बसाईपछि शनिवार उनि डिस्चार्ज भईन् । डिस्चार्ज भएपनि केही दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । चैत ४ गते काठमाडौं आईपुगेकी उनिमा परीक्षण गर्दा चैत १० गते कोरोना पुष्टि भएको थियो । चैत ९ गतेदेखी नै उनि टेकु अस्पतालमा भर्ना गरेर आइसोलेसनमा राखिएको थियो ।

बेल्जियमबाट फर्किएकी ६५ वर्षीया महिला पनि कोरोना मुक्त भएकी छन् । २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए । शनिबार पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि बिहीबारको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार गरिरहेकी ती महिलालाई शनिवार साँझ डिस्चार्ज गरिएको निर्देशक डा. शर्माले बताए ।

‘उहाँलाई डिस्चार्ज दिएपछि १४ दिन सुरक्षित रुपमा होम क्वारेन्टाइनमा राखिने छ,’ उनले भने, ‘हामी फलोअप पनि गरिरहन्छौं ।’ उनी चैत १९ देखि आइसोलेसनमा थिइन् । दम र उच्च रक्तचापको विरामी भएकाले औषधि खाइरहेकी थिइन् । अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौंथो स्वाब परीक्षणको नतिजा पनि पोजिटिभ आएको थियो । उनको स्वाब परीक्षण भइरहेको र रिपोर्ट आइतबार आउने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी चैत १५ देखि आइसोलेसनमा छिन् । दुबैजना बेल्जियमबाट कतार एअरवेयजको जहाजबाट नेपाल आएका थिए ।

यसअघि चीनबाट फर्किएका एक विद्यार्थी पनि कोरोनाबाट निको भएर घरमा छन् । उनी नेपालको पहिलो कोरोना संक्रमित व्यक्ति पनि हुन् । चीनबाट आएका उनको स्वाब परीक्षण गर्न हङकङ पठाइएकोमा माघ १० गते संक्रमण पुष्टि भएको थियो । डिस्चार्ज भएर घरमा रहेका उनलाई संक्रमण पुष्टि भएपछि अस्पतालमा फेरि भर्ना गरियो । उपचारपछि नतिजा नेगेटिभ आएपछि उनलाई घर पठाइएको हो ।

दोस्रो संक्रमित देखिएको भोलिपल्टदेखि सरकारले लकडाउनको समेत घोषणा गरेको थियो । शनिबार डिस्चार्ज भएपछि श्रेष्ठले चिकित्सक र स्वास्थ्यकर्मी सबैलाई धन्यवाद दिएकी छिन् । उनले सरकारलाई समेत बढी भन्दा बढी मानिसलाई आइसोलेसनमा राख्न सुझाएकी छिन् । कोरोनामुक्त भएकी ६५ वर्षिया महिलाले पनि आफूले संसारलाई नै हल्लाएको रोगलाई जितेको बताइन् ।

घर फर्किन पाएकोमा खुशी व्यक्त गर्दै उनले भनिन, ‘सबैको माया र मेरो आत्मबिश्वासले रोगलाई जितेर घर फर्किन पाएँ ।’ आफूलाई अस्पताल नआइकनै ठीक हुन्छ जस्तो लागेको उल्लेख गर्दै उनले अगाडी भनिन्, ‘डाक्टर र नर्सहरुले मेरो धेरै सेवा गर्नुभयो । दैनिक तीन÷चार लीटर तातो पानी पिउने र पीर चिन्ता नलिइकन बस्दा निको भएछ ।’ घरपरिवार र छिमेकीले दिनदिनै फोन गरेर शुभकामना दिएको लागेझैं भएको उनले बताइन् । डाक्टर र नर्सले दैनिक ३ पटक भेटेर औषधि खुवाउने गरेको समेत उनले बताइन् ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमा तीन जना निको भएर घर फर्किएका छन् भने २८ जना विभिन्न अस्पतालको आइसोलेसनमा छन् । संक्रमितहरूमध्ये विराटनगरको कोरोना अस्पतालमा १२, नारायणी अस्पतालमा ४, भरतपुर अस्पतालमा २, टेकु अस्पतालमा १, पाटन अस्पतालमा २, धौलागिरि अञ्चल अस्पतालमा १ र सेती प्रादेशिक अस्पतालमा ५ जना छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबै २७ जनाको अवस्था सामान्य नै रहेको छ ।

‘अत्याउछ तर आत्मबल बढाउनुहोस् जित अवश्य हुन्छ’
गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी हुँ । घर आएको चार दिनपछि मसँगै जहाजमा यात्रा गरेकी भियतनामकी साथीले आफू कोरोनाभाइरस संक्रमित भएको सुनाइन् ।

त्यसपछि म पनि अब परीक्षण गर्न जानुपर्छ भनेर चैत ९ गते परीक्षणका लागि टेकुस्थित अस्पताल आए, परीक्षण गराए । कोरोनाभाइरस संक्रमण देखिएपछि त्यही दिन अस्पताल भर्ना भए । म परीक्षणका लागि अस्पताल आउनुअघि खासै लक्षण देखिएका थिएनन् । अस्पताल भर्ना भएको दुइ दिनपछि बल्ल लक्षण देखियो । सास फेर्न गाह्रो भयो, खोकी लाग्यो, पेट दुख्यो ।

फ्रान्सबाट घर आएदेखि नै म अलगै बसेको थिए । म घरमै सेल्फ आइसोलेसनमा बसेको थिएँ । जहाजमा रहँदा पनि म अलग्गै अरुसँग नजिक नपर्ने गरी बसेकी थिएँ, कोरोनाको महामारी चलिरहेकाले मैले जहाजमै सजगता अपनाउँदै आएँ, शौचालय पनि प्रयोग गरिनँ । त्रिभुवन विमानस्थलमा ओर्लिएदेखि घरमा आएपछि पनि मैले आफूलाई सेल्फ आइसोलेसनमा राखेकी थिएँ । त्यहीकारण मेरो परिवारका अरु कुनै सदस्यलाई कोरोना सर्न पाएन ।

अस्पतालमा उपचारमा रहँदा स्वास्थ्यकर्मी, डाक्टर, नर्स र कर्मचारीबाट आफूलाई धेरै सहयोग मिल्यो । डाक्टरहरूले म ठीक हुन्छु भन्नुभएको थियो । अस्पतालले गरेको रेखदेखप्रति म संतुष्ट छु । आफ्नो उपचारमा खटिएका डाक्टरहरू सागर राजभण्डारी र अनुप बाँस्तोलालाई धन्यवाद दिन्छु । डा. अनुपले सुरूबाटै नआत्तिनु ठीक हुन्छ भनेर दिनु भएको हौसलाले ठूलो काम र्गयो ।

श्वास फेर्न एकदमै अफ्ठ्यारो हुँदो रहेछ । पेटमा दुखाई पनि चर्को थियो । थकाई एकदमै धेरै लाग्थ्यो, कोरोनासँग जुधिरहँदा समाजमा हुने टिप्पणीले पनि मनोबलमा असर गर्दो रहेछ । कतिले सत्य कुरा बोल्नु भएको थियो भने केहीले कुरै नबुझी चित्त दुख्ने कुरा गर्नुभयो । पत्रकारहरुले पनि राम्ररी नबुझी गरेको टिप्पणीप्रति मेरो गुनासो छ ।

सरकारले धेरै प्रयासहरू काम गरिरहेको छ । सकेसम्म मानिसहरूलाई आइसोलेसनमा राख्न सहयोग गरिदिनुहोला । धेरै मानिस आइसोलेसनमा बस्न पाएका छैनन् । जनता पनि इमान्दारपूर्वक आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नुपर्छ । सेल्फ आइसोलेसन महत्वपूर्ण कुरा हो । तपाईं बाहिरबाट आउनुभएको छ भने परीक्षण पनि गराउनुस्, सरकारले त्यो सुविधा पनि दिएकै छ ।

सकेसम्म आफूलाई सुरक्षित राख्न सबैसँग म आग्रह गर्दछु । अनावश्यक हिँडडुल नगर्नू, परीक्षण गर्नू, सेल्फ आइसोलेसनमा बस्नू । मास्क, ग्लोव्स् र चस्मा लगाउनुस् । अस्पतालमा हुनु हुनेहरुले धैर्यताका साथ बस्नुहोला । मेरो पनि लगातार टेस्ट गर्दा आजको अवस्थामा आइपुगेको हो । त्यसै होइन । समय लाग्ला तर आत्तिनुपर्दैन, ठीक हुन्छ ।

कसैलाई आवश्यक पर्दा म प्लाज्मा दिने घोषणा पनि गर्दछु । निको हुनुलाई मैले मौकाको रूपमा लिएको छु । प्लाज्मामा रहेको एन्टिबडि म दान गर्न चाहन्छु । मैले दान गरेको प्लाज्माले संक्रमितलाई हेल्प गरोस् भन्ने आशा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*