आरडिटीबाट ७७ जिल्लामै परीक्षण शुरु, २७ हजारभन्दा बढीको परीक्षण
काठमाडौँ, ६ वैशाख : कोभिड–१९ का बिरामी पहिचानका लागि र्यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र पिसिआर प्रविधिबाट आठ हजार १७ जनाको परीक्षण भइसकेको जानकारी दिइयो ।
मुलुकभरका क्वारेन्टाइनमा बस्ने व्यक्तिको सङ्ख्या आज चार हजार ५३६ जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । आइसोलेसनमा बसेका सङ्क्रमितको सङ्ख्या ११७ रहेकामा काठमाडौँ उपत्यकाभित्र पाँच र बाहिर ११२ रहेका छन् ।
उनीहरुमध्ये तीन सम्भावित सङ्क्रमित जोनमा रहेका र त्यस्तो जोनमा पुग्नेको सङ्ख्या मुलुकभर हालसम्म २५४ जना रहेको छ । शुक्रबार थप १४ जनामा कारोनाको पुष्टि भएसँगै मुलुकमा कोभिडङ–१९ सङ्क्रण हुनेको सङ्ख्या ३० पुगेको छ । उदयपुरमा १२ र चितवनमा दुई जना पछिल्ला सङ्क्रमणबाट पुष्टिभएका हुन् ।
कूल सङ्क्रमितमध्ये उपचारपछि निको भइ दुई जना घर फर्किसकेका छन् भने २८ जना उपचाररत छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेका मध्ये एक जना किशोरी निको भइ घर फर्केकी छिन् ।
विभिन्न जिल्लामा द्रुतमार्गबाट गरिने र्यापिट डायग्नोष्टिक भइरहेका र त्यसमा पोजेटिभ देखिएकाको पिसिआर प्रविधिबाट परीक्षण जारी छ । सङ्क्रमित टेकु अस्पतालमा एक, पाटनमा दुई, बाल रोगमा दुई, धनगढीमा पाँच, वीगञ्जमा चार, भरतपुरमा दुई र विराटनगरमा १२ जनाको उपचार भइरहेको छ । ती सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको नाम सार्वजनिक नर्गन सबै सञ्चारमध्यमसँग स्वास्थ मन्त्रालयले आग्रह गरेको छ । लकडाउनको प्रभावबाट असहज महशुस गरेका बालबालिका र किशोर किशारीलाई रमाइलो वातावरण सृजना गरी घरभित्रै रहन सुझाव दिइएको छ ।
टेकुमा कोभिड–१९ सङ्क्रमणलाई परास्त गरी निको भएर घर जाँदै गरेकी किशोरी प्रसिद्धि श्रेष्ठले सरकारले घोषणा गरेको लकडाउन आदेश पूर्ण पालना गर्न सबै नागरिकलाई आग्रह गरेकी छिन् । उनले उपचारमा रहेका बिरामीलाई उच्च मनोवल राख्न सुझाव दिएकी छिन् ।



















