मन्त्री भट्टराईले गृह जिल्ला पठाएको राहत सामाग्री गाँउगाँउ पठाईयो

वेलकम खबर
बैशाख २, २०७७

 काठमण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको पहल तथा बिराटनगरका स्थानीय ब्यवसायीको समन्वयमा उपलब्ध खाद्यान्नसहितका दैनिक उपभोग्य बस्तु वितरणको लागि गाँउ गाउ पठाईएको छ ।

फुङ्लिङ नगरपालिकालाई सरदर २० र अन्य ८ वटा गाउँपालिकालाई जनही सरदर १० प्रतिशतले बिभाजन गरी जिम्मा लगाउने निर्णय गरेको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए।

उनका अनुसार मन्त्री भट्टराईको पहल र बिराटनगरका स्थानीय ब्यवसायी सुरेशकुमार राठी र सुमन भट्टराईको समन्वयमा ताप्लेजुङका लागि खाद्यान्नसहितका दैनिक उपभोग्य बस्तु यहाँ आई पुगेको छ।

ताप्लेजुङ मन्त्री भट्टराईको गृह जिल्ला र निर्वाचन क्षेत्र हो। एक निर्वाचन क्षेत्र रहेको यहाँबाट मन्त्री भट्टराई २०७४ सालमा प्रतिनिधिसभामा निर्वाचित भएका थिए। मादेनका अनुसार प्रतिप्याक १२ किलोग्राम वजन भएको ७ सय प्याकेट चामल, ३५ काटुन तेल, प्रतिबोरामा ५० किलोग्राम वजन भएको २० बोरा आयो नुन, प्रतिबोरा २५ किलोग्राम वजन भएको ४२ बोरा दाल र १० काटुन साबुन फुङ्लिङ आई पुगेको छ।

ढुवानी खर्च समेत ब्यवसायी आफैंले बहन गरी फुङ्लिङ बजारसम्म ल्याईएको सामग्रीलाई यहाँ रहेका ९ स्थानीय तहलाई वितरण गर्ने गरी निर्णय भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए। उनी जिल्ला तहमा गठन भएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव हुन्। निरौलाका अनुसार फुङ्लिङ नगरपालिकालाई प्रतिप्याक १२ किलोग्राम वजन भएको १ सय ४० प्याक चामल,३ काटुन खानेतेल, प्रति बोरा ५० किलोग्राम वजन भएको ४ बोरा आयो नुन, प्रतिबोरा २५ किलोग्राम वजन भएको १० बोरा दाल र २ काटन साबुन दिईने छ।

यस्तै सिदिङ्वा, सिरिजङ्घा, पाथीभरा याङ्वरक, आठराई त्रिबेणी, मेरिङ्देन, मैवाखोला, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकालाई समान परिणामका दैनिक उपभोग्य बस्तु दिईने छ। जस अनुसार उल्लेखित सबै गाउँपालिकाले प्रतिप्याक १२ किलोग्राम वजन भएको ७०–७० प्याक चामल, ४–४ काटुन खाने तेल, प्रतिबोरा ५० किलोग्राम वजन भएको २–२ बोरा आयो नुन, प्रतिबोरा २५ किलोग्राम वजन भएको ४–४ बोरा दाल र १–१ काटुन साबुन दिईने छ। नेपाल सरकारले लकडाउनका कारण यथास्थितिमा हातमुख जोर्न समस्या भएका परिवारको पहिचान र उनीहरुलाई आकस्मिक राहातल वितरण गर्ने दायित्व स्थानीय तहलाई दिएको छ।

सोहि अनुरुप यहाँका सबै स्थानीय तहले निर्देशिका अनुसार वडा तहमा खाद्यान्न आपूर्ति तथा व्यवस्थापन समिति गठन गरेका छन्। प्राप्त खाद्यान्न सबै स्थानीय तहलाई तहमा गठन भएका वडास्तरीय संयन्त्र अनुसार व्यवस्थापन हुने प्रावधानका आधारमा सबै स्थानीय तहलाई दामासाहीले जिम्मा लगाउने निर्णय भएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*