घट्दै हिमाली चौंरी गोठ
ताप्लेजुङ : चौंरीपालन व्यवसायलाई हिमाली क्षेत्रको पहिचानको रुपमा समेत लिने गरिएको छ । पर्यटनको समेत आधार मानिए पनि व्यवसायिक सुरक्षा प्रत्याभूति नहुँदा ताप्लेजुङका चौंरीपालक किसान पलायन हुँदैछन् भने पशुपालन व्यवसाय पनि संकटमा परेको छ । वन्यजन्तुको आक्रमण र नयाँ पुस्ता अन्यत्रै लागेपछि ताप्लेजुङमा पुस्तौंदेखि चल्दै आएको चौरी पालनको पेशा लोप हुने अवस्थामा पुगेको छ ।
पहिले–पहिले कञ्चनजंघा पदमार्गको फलेदेखि आधार शिविरसम्मै चौरीका गोठ हुन्थे । अहिले गोठ भत्किएका छन् भने घुन्सामा होटल र घर बन्ने क्रम बढेको छ । पहिले जताततै देखिने चौंरी अहिले देख्न मुस्किल पर्छ । ‘पहिले पहिले हाम्रोतिर प्रत्येक घरमा गोठ पाल्ने चलन थियो ’ स्थानीय गोठपालक तेञ्जिङ शेर्पाले भने, ‘अहिले सवैले गोठ मासेर सदरमुकामतिर लागे ।’ एक हप्ताभित्रमा ७ वटा याक ब्वाँसोले खाइ दिएपछि आजित बनेका घुन्सा ताप्लेजुङका चुङ्दाक शेर्पाले गत वर्ष १९ वटा याकसहितको गोठ बेचिसकेका छन् । जंगली जनावरले दुख दिएपछि उनी पु्र्ख्याैली पेसा छोड्न बाध्य बनेका हुन् । तिब्बतियन ब्वाँसोले गोठ र चरनमा पुगेर चौरी खाइदिने किसानको गुनासो छ । ‘सवैभन्दा धेरै त जंगली जनावरले दुःख दिन्छ । कंञ्चनजंघा संरक्षण क्षेत्रबाट जनावर आउँछन् क्षतिपूर्तिको व्यवस्था पनि छैन’ चौँरीपालक किसान पेम्बा शेर्पाले भने ।
कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने यहाँ हिउँ चितुवाले पनि त्यत्तिकै दुःख दिने गरेको छ । संरक्षण क्षेत्रले हिउँ चितुवाले क्षति गरेमा बिमाबापत ८ हजार रुपैयाँ दिन्छ । तर, ब्वाँसोले पुर्याएको क्षतिमा बीमाको सुविधा छैन । पशु बिरामी भए आफैंले झारफुक र जानेको जडीबुटीको प्रयोग गर्छन् । सरकारले दिने अनुदान र औषधि कस्तो हुन्छ, यहाँका किसानलाई अहिलेसम्म थाहा छैन । तिब्बतमा अहिले नेपाली पशु आयातमा रोक लगाइएको छ । खुलेपछि बिक्री गर्ने आशामा रहेका घुन्साका तेञ्जिङ शेर्पा पशुपालन पेशा जोगाउन सरकारले केही गर्नै पर्ने बताउँछन् । गाउँपालिकाले भने आवश्यक सहयोग गरिरहेको दावी गरेको छ । मंसिरदेखि फागुनसम्मको जाडोमा चौंरी बेंसीमा झारिन्छ । पदमार्गमै गोठ भएकाले पर्यटक पनि चौंरीसँग रमाएका देखिन्छन्। चौंरीपालनमा खासै चासो नराखे पनि उनीहरू फोटो खिच्नैकै लागि पनि दुहुन रहर गर्छन् । यहाँको पर्यटन प्रवर्द्धन गर्नका लागि पनि चौंरीपालन लगायतको पशुपालन व्यवसायलाई जोगाउन आवश्यक रहेको पर्यटन व्यवसायी बताउँछन् ।



















