नतिजा निस्कने गरी काम गर्न मातहतका निकायलाई मन्त्री भट्टराईकाे निर्देशन
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रााााल अन्तरगत मन्त्रालय र अन्तर्गत रहेका विभाग, प्राधिकरण, वोर्ड, प्रतिष्ठान, कोष, संग्रहालय र विकास समिति सहितका 31 निकायका प्रमुख एवं उच्च पदाधिकारी सम्मिलित व्यवस्थापन तथा भावी योजना सम्बन्धी उच्चस्तरीय कार्यशाला गोष्ठि 2076 फागुन 29-30 मा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM), रविभवनमा सम्पन्न भयो।
कार्यशालाको पहिलो दिनमा संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र सम्वद्ध सबै निकायबाट चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम तथा मन्त्रालयको 141 बुँदे प्राथमिकताप्राप्त कार्यक्रमको हालसम्मको प्रगतिको प्रस्तुती, आगामी आर्थिक वर्ष सहित तीन वर्षको बजेट तथा कार्यक्रममा समावेश हुनुपर्ने प्रमुख विषयहरू, पन्धौं आवधिक योजना अनुरूपका लक्षित कार्यक्रमहरू र प्रस्तावित पर्यटन दशकमा गर्नुपर्ने कार्यहरूको संक्षिप्त अवधारणा समेतको प्रस्तुती गरीयो।
कार्यशालाको दोस्रो दिन आज संस्कृति, पर्यटन, नागरिक उड्डयन र पूर्वाधार विकासका छुट्टाछुट्टै समूह(Thematic Groups) विभाजन गरी उक्त क्षेत्रको विकासका लागि अवलम्बन गर्नुपर्ने नीति, योजना, कार्यक्रम, बजेट, अन्तर निकाय समन्वय र नतिजा खाका समेतको प्रस्तुती गरिएको थियो । चारवटै Theme मा तीन वर्षको भावी कार्यक्रम खाका, Project Bank, Game Changer आयोजना, तीन तहका सरकारको साझेदारीको खाका, अन्तरनिकाय समन्वय, पर्यटन क्षेत्रको पुनरूत्थान योजना, नेपाल वायुसेवा निगम र उड्डयन क्षेत्रको सुधार, बैदेशिक लगानी, जनशक्ति विकास, चालू परियोजनाको कार्यप्रगति लगायतका विषयमा गहन अन्तरक्रिया र पृष्ठपोषण मार्फत कार्यान्वयन योजना तयार गरियो ।
नेपालमा प्रचुर सम्भावना रहेको पर्यटनको लाभ जनस्तरसम्म लैजान तीन तहका सरकार तथा निजी क्षेत्र समेतको साझेदारीमा नतिजामुखी ढंगले कार्यसम्पादन गर्ने तर्फ सबै निकायका कार्यक्रम केन्द्रित रहनुपर्नेमा मन्त्रालयका सचिव श्री केदार बहादुर अधिकारीले जोड दिनुभयो।
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश भट्टराईले हरेक राजनैतिक परिवर्तन पश्चात जनताको विकास र समृद्धिप्रतिको तिब्र अपेक्षा रहने हुँदा जनअपेक्षा सम्बोधन हुने गरी मन्त्रालय र अन्तर्गतका नीति, कार्यक्रम तय हुनु पर्ने र कार्यसम्पादनलाई नतिजामूखी बनाउनेतर्फ उन्मुख रहन निर्देशन दिनुभयो ।उहाँले नेपालको पर्यटन क्षेत्रको प्रमुख आधार तथा ग्रामीण जनताको आवतजावतको संवैधानिक हकको सुनिश्चिततताको लागि नागरिक उड्डयन क्षेत्रको विकास गरिनुपर्ने बताउनुभयो ।
पर्यटन क्षेत्रका नवीन आयामहरूलाई अवलम्बन गर्दै यस क्षेत्रको लाभ जनस्तरसम्म लैजाने गरी पर्यटन क्षेत्रको दीगो विकास गर्नुपर्ने तथा ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरी पन्धौं योजनाको लक्ष्य हासिल गर्दै समृद्ध नेपाल र सुखी नेपाली अभियानमा यस क्षेत्रको भूमिका उल्लेखनीयरूपमा बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
माननीय मन्त्रीज्यूले कार्य दोहोरोपनालाई हटाउँदै संगठनात्मक पुनर्संरचना मार्फत नतिजामूखी कार्यसम्पादनमा जोड दिनुपर्ने बताउनुभयो । गोष्ठिबाट तयार भएको कार्ययोजनालाई आगामी 2076 चैत्र 2 गते हुने सबै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री एवं सचिव तथा सबै महानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँगको छलफल कार्यक्रममा प्रस्तुत गरी थप परिमार्जन गर्न र साझेदारीमा कार्यान्वयन गर्ने गरी तयारी गर्न निर्देशन दिनुभयो।



















