कुकुरमा पनि देखियो कोरोना भाइरसको संक्रमण
हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । बुधबार हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेका हुन् ।यसअघि जनावरबाट मानिसमा संक्रमण भएको भनिए पनि मानिसबाट जनावरमा संक्रमण भएको यो पहिलो घटना भएको विज्ञहरुले बताएका छन् ।
पोमरेनियन प्रजातिको कुकुरको गत शुक्रबारदेखि नै परीक्षण भइरहेको थियो । सुरुमा एकदमै न्यून रुपमा संक्रमण भएको बताइएको थियो । कुकुरको नाक वा मुख कोभिड–१९ संक्रमण हुन सक्ने सिँगान तथा र्यालजस्ता चिजको सम्पर्कमा पुगेको हुन सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
संक्रमण देखिएपछि उक्त कुकुरलाई क्वारेन्टाइनमा राखिने पनि साउथ चाइना मोर्निङ पोस्टले जनाएको छ । ‘कुकुरमा कोभिड–१९ पोजिटिभ देखिएको छ । कृषि, मत्स्यपालन तथा संरक्षण विभागमा उसलाई क्वारेन्टाइनमा राखिनेछ,’ हङकङकी स्वास्थ्य मन्त्री सोफिया चान सिउ चीले नियमित पत्रकार सम्मेलनमा भनिन् । नियमित रुपमा कुकुरको स्वास्थ्य चेक गरिने र नेगेटिभ नदेखिएसम्म क्वारेन्टाइनमै राखिने पनि उनले जानकारी दिइन् ।
विभागले हङकङ विश्वविद्यालय, सिटी विश्वविद्यालय र पशु स्वास्थ्यसम्बन्धी विश्व संगठनसँग पनि यसबारेमा परामर्श गरिरहेको बताएको छ । विभागका प्रवक्ताले अहिलेसम्म घरपालुवा जनावर कोभिड–१९ संक्रमणको स्रोत भएको पुष्टि नभएकाले यस घटनाबाट आत्तिनु नपर्ने बताएका छन् । घरपालुवा जनावरको सरसफाइमा ध्यान दिनुको अलावा अत्याधिक चिन्तित हुन नपर्ने पनि विभागले बताएको छ । कुनै पनि परिस्थितिमा घरपालुवा जनावरलाई त्याग्नुपर्छ भन्ने अवस्था नरहेको पनि विभागले जनाएको छ ।
‘अहिले भएका परीक्षणको रिपोर्टले कुकुरमा एकदमै न्यून तहको संक्रमण हुने देखिएको छ । सन् २००३ मा सार्स महामारीका बेलामा पनि केही कुकुरमा न्यून तहको संक्रमण देखिएको थियो,’ सिटी विश्वविद्यालयकी पशु स्वास्थ्य विज्ञ भेनेसा बार्सले भनिन् । घरबेटीलाई कोभिड–१९ को संक्रमण देखिएकाले पोमरेनियन प्रजातिको कुकुरमा देखिएको संक्रमण अचम्मित पार्ने खालको पनि नभएको उनले बताइन् । अहिलेसम्म गरिएका खोज अनुसन्धान र प्रमाणका आधारमा कोभिड–१९ मानिसबाट मानिसमा मात्रै सरेको देखिएकाले नआत्तिन उनले आग्रह गरिन् ।कान्तिपुरबाट



















