अन्तराष्ट्रिय बुद्धिचालको उपाधि श्रीवास्तव र प्रियालाई
ताप्लेजुङ। ताप्लेजुङमा सम्पन्न पाथीभरा अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि भारत गुजरातका राघव श्रीवास्तवले जित्नुभएको छ । अन्तिम चरण सम्ममा ७.५ अङ्क जोडेर नेपालका सुमित पन्तलाई पछि पार्दै प्रथम हुनुभएको हो । पन्त ७ अङ्कका साथ उपविजेता बन्नुभयो भने भारत सिक्किमका थेण्डुप तामाङले पनि ७ अङ्क प्राप्त गरी तीतृय बन्नुभयो ।
प्रतियोगिताको उपाधिसहित श्रीवास्तवले ६० हजार रुपियाँ नगद पुरस्कार र ट्रफी तथा प्रमाणपत्र पाउनुभयो । यस्तै उपविजेता पन्तले ५० हजार तथा तृतीय बन्नुभएका तामाङले ४० हजार रुपियाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाउनुभयो । महिलातर्फ भारतकी रश्मी प्रिया प्रथम, ताप्लेजुङकी रुपा गुरुङ द्वितीय र झापाकी कृतिसरा अधिकारी तृतीय हुनुभयो । महिलातर्फका बिजेता प्रथम, द्वितीय र तृतीयले क्रमशः १० हजार, आठहजार र छ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र पाउनुभएको छ ।
त्यस्तै ताप्लेजुङ जिल्लास्तरमा प्रथम बन्नुभएका राजकुमार गुरुङले १५ हजार रुपियाँ, द्वितीय मोहनबहादुर सेन्दाङले १२ हजार र तृतीय सन्तोष पालुङ्वाले १० हजार रुपियाँ नगद पुरस्कार पाउनुभयो । प्रदेश १ अन्तर्गत सहभागीको तर्फबाट उत्कृष्ट बन्नुभएका भोजपुरका सुमन राईले पनि १५ हजार रुपियाँ नगद पुरस्कार पाउनुभयो ।
नेपाल भ्रमण वर्ष सन् २०२० र पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०७६ को अवसर पारेर आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताका बिजेतालाई प्रदेश १ का प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा प्रदेशसभा सदस्य होमकुमारी साँबा, जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बो लगायतको सहभागिता रहेको थियो ।
खेलकुदको माध्यमबाट प्रसिद्ध तीर्थस्थल पाथीभरासहित जिल्लाको पर्यटन प्रवद्धृन गर्ने उद्देश्य राखेर ताप्लेजुङ बुद्धिचाल सङ्घले आयोजना गरेको प्रतियोगितामा भारतका २४ जना खेलाडी सहभागी थिए । ताप्लेजुङ बुद्धिचाल सङ्घका अध्यक्ष राजकुमार मेन्याङ्बोका अनुसार प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन भूपेन्द्र निरौला, नवीन तन्डुकार, सुरबीर लामा, बद्रीलाल नेपालीसमेत नेपालका ६२ गरी कुल ८६ जनाको सहभागिता रहेको थियो । प्रतियोगिता गएको शनिबार सुरु भई बिहीबार सम्पन्न भएको हो ।



















