पाथीभरा म्याराथनको उपाधि कुलुङ र बुढालाई

ताप्लेजुङ, । ताप्लेजुङमा भएको खुल्ला म्याराथनको उपाधि सुमन कुलुङ र महिला हाफ म्याराथनको उपाधि सुनमाया बुढाले जित्नु भएको छ ।
मंगलवार भएको खुल्ला म्याराथन प्रतियोगिताको उपाधि महाकुलुङ–५ सोलुखुम्बुका सुमन कुलुङले जितेका छन् । उनले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पूरा गर्नुभयो । फिदिम १० पाँचथरका प्रताप थाम्सुहाङ द्धितिय भए । उनले ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा दुरी पूरा गर्दा रुकुम मुसीकोटका दुर्गाराज बुढाले ४ घण्टा २९ मिनेट १७ सेकेण्डमा दुरी पूरा गर्नुभयो ।
दुर्गाराजले त्रिभुवन आर्मी क्लवका बेदबहादुर सुनुवारलाई पछि पार्नुभयो । अघिल्लो संस्करणको पाथीभरा म्याराथनका बिजेता बेदबहादुरले ४ घण्टा ३५ मिनेटमा मात्र निर्धारित दुरी पार गर्नुभयो । खुल्लातर्फको म्याराथनका बिजेताले नगद १ लाख ५१ हजार १११ रुपंैंया,द्धितिय हुनेले १ लाख ११ हजार १११ र तृतिय हुनेले ५१ हजार १११ रुपैंया पाउनुभयो । खुल्ला म्याराथनको दुरी करिव ४७ किलोमिटर थियो । फुङ्लिङको पाथीभरा चौकबाट सुरु ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरमा पुगेर तोक्मेस्थित नेपाली सेनाको भीमकाली गुल्म अगाडिको प्रबेशद्धारमा आई पुग्दा सो दुरी पूरा हुन्थ्यो । यस्तै हाफ महिला पाथीभरा म्याराथनको उपाधि पत्रासी गाउँपालिका वडा नं २ जुम्लाकी बुढाले हात पार्नुभयो । उहाँले फुङ्लिङको पाथीभरा चौकबाट सुरु ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरमा पुगेर तोक्मेस्थित नेपाली सेनाको भीमकाली गुल्म अगाडिको प्रबेशद्धारमा आई पुग्दा पूरा हुने करिव २७ किमी दुरी ३ घण्टा ३८ मिनेट ५७ सेकेण्डमा पार गर्नुभयो । त्रिभुवन आर्मीका सरिता बासीले ३ घण्टा ४८ मिनेट २४ सेकेण्डमा सो दुरी पार गरी दोस्रो हुनुभयो ।
धादिङको छत्रेदेउरालीकी रसिला तामाङले ४ घण्टा ५९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो हुनुभयो । भैरवी दल गण पाँचथरमा कार्यरत ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ४ स्थायी घर भएकी सविता बिकले ४ घण्टा ६ मिनेट ८ सेकेण्डमा दुरी पार गरेर चौथो स्थानमा नाम लेखाउनुभयो । फुङ्लिङको पाथीभरा चोकबाट सुरु भई नगर परिक्रमा पछि पाथीभरा क्षेत्रको काफ्लेपाटी पुगेर तोक्मेस्थित भीमकाली गुल्मको खेल मैदान सम्मको दुरीमा महिला हाफ म्याराथन भएको थियो । महिला हाफ म्याराथनका बिजेताले नगद ८१ हजार १११ रुपैंया,द्धितिय हुनेले नगद ५१ हजार १११ रुपैया र ३१ हजार १११ रुपैंया पाउनु भएको छ ।
बिजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अथिति संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले पुरस्कार तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो । कार्यक्रममा तत्कालिन संबिधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फे,पूर्व सांसद तिलकुमार मेन्याङ्वो,प्रदेश सांसद त्रय क्रमशःटंक आङ्बुहाङ,बलबहादुर साम्सोहाङ,होमकुमारी साँवा,जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली,सिरिजङ्घा,मेरिङ्देन,फक्ताङ्लुङ र आठराई त्रिबेणी गाउँपालिका अध्यक्षहरु क्रमशःटीकाराम गुरुङ,गणेशबहादुर लिम्बू,सरोज एभेङ र बिश्वनाथ सिटौला,बिभिन्न राजनीतिक दलका अगुवा,लगायतको उपस्थिति रहेको थियो । पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको अगुवाईमा कार्यक्रम भएको कार्यक्रममा पाँचथर,इलाम र झापाका उद्योग बाणिज्य संघ तथा सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । यो संगै पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवका यसबर्षका कार्यक्रम औपचारिक रुपमा सकिएका छन् ।