ऐजेन्सी । चीनले १० दिनमा कोरोना भाइरसका लागि छुट्टै अस्पताल तयार पारेको छ। कोरोना भाइरको उद्गम स्थल मानिएको चीनको वुहान शहरमा १० दिनमै अस्पताल तयार गरेको हो ।
अस्पताल तयार भइसकेकोले चीनले १४ सय मेडिकल स्टाफलाई उक्त अस्पतालमा पठाइसकेको छ । अस्पताल निर्माणमा चीनको सेनाले सहयोग गरेको थियो । १४ सय मध्ये ९५० जना साधारण तर्फका मेडिकल स्टाफ र चिनिया लिबरेसन आर्मीका ४५० जनालाई उक्त अस्पतालमा खटाइसकेको छ । गत जनवरी २३ बाट बनाउन शुरु गरिएको उक्त अस्पताल १ हजार बेड (शय्या) रहेको चिनिया सञ्चारमाध्यमले जनाएका छन् ।
१० दिनमा बनाएर उपचार शुरु गर्ने चीनको घोषणा अनुसार आजदेखि औपचारिक रुपमा उपचार थाल्ने चीनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनले यस अघि सन् २००३ मा पनि बेइजिङमा यस्तै एक अस्पतालमा निर्माण गरेको थियो । चीनको ३१ राज्यमा फैलिएको कोरोना भाइरसका कारण अहिले सम्म चीनमा ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार २ सय ५ जना भाइरसका बिरामी रहेको जनाइएको छ ।
कोरोना भाइरसको असर चीन बाहिरका देशमा पनि फैलिएको छ । हिजो मात्रै फिलिपिन्समा उक्त भाइरसका कारण एक जनाको मृत्यु भएको छ । भाइरको संक्रमण नेपालसहित २२ देशमा संक्रमण फैलिएको छ ।



















