केही बदमासले गलत हल्ला फैलाउँदा नेपालकै बेइज्जत भयो : पर्यटनमन्त्री भट्टराई

वेलकम खबर
पुस २३, २०७६

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आफूलाई बदनाम गराउन भएका हर्कतले देशकै बेइज्जत भएको बताउनुभएको छ ।

अस्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ गर्न गएका मन्त्री भट्टराईलाई सुरक्षाकर्मीले रोकेको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

सिड्नीको ओपेरा हाउसमा नेपाल भ्रमण वर्षसहितका ब्यानर बोकेर जाँदै गर्दा त्यहाँका सुरक्षाकर्मीले रोकेका प्रत्यक्षदर्शीले बताएका छन् । तर ओपेरा हाउसभित्र जाँदा झण्डा र ब्यानरसहित जान नपाउने भएकाले सुरक्षाकर्मीले झण्डा र ब्यानर मात्र रोकेको अस्ट्रेलियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

अस्ट्रेलियामा रहेका मन्त्री भट्टराईले उज्यालोसँग कुरा गर्दै सुरक्षाकर्मीले रोकेको भन्ने हल्ला पूर्णरुपमा गलत भएको र यस्तो हल्लाका कारण देशकै बेइज्जत भएको बताउनुभयो । उहाँले आफूलाई बदनाम गर्ने नियतले केही बदमासले फैलाएका हल्लाले नेपालको बदनाम भएको र अस्ट्रेलिया र नेपालबीचको सम्बन्धमा दरार ल्याउन कोशिस गरेको बताउनुभयो ।

अस्ट्रेलियामा ठूलो विपद् परेको बेला अहिले नै त्यहाँ नगएको भए हुँदैनथियो? भन्ने उज्यालोको प्रश्नमा अस्ट्रेलियामा रहेका मन्त्री भट्टराईले भन्नुभयो, ‘हाम्रो कार्यक्रममा यहाँकै सरकारले हामीलाई स्वागत गरेका छन्, सरकारका प्रतिनिधि आएर हाम्रो कार्यक्रममा बोलिरहेका छन्, अष्ट्रेलियाले जनवरी १ मा भव्य ढंगले नयाँ वर्ष मनाएको छ, अहिले म यहाँ आउँदा के फरक पर‍्‍‍‍यो ?’

उहाँले अस्ट्रेलियाले आगलागीबाट भोग्नुपरेको दुःखबारे नेपाल सरकार बोलेको, आफूले मंगलबार सम्बोधनका क्रममा पनि दुख व्यक्त गरेको र भ्रमण वर्षको कार्यक्रमका दौरान पनि अस्ट्रेलियामा भएको दुःखमा सहानुभूति दिइएको बताउनुभयाे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*