बंगलादेशी प्रधानमन्त्रीद्वारा प्याज नखाने घोषणा

वेलकम खबर
मंसिर १५, २०७६

बंगलादेशी प्रधानमन्त्रीद्वारा प्याज नखाने घोष

प्याजको भाउ निरन्तर उकालो लागेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन् । बंगलादेशमा उत्पादन नहुने र आयातका लागि ठूलो रकम बाहिरिने देखेपछि उनले जनतालाई समेत प्याज उपभोगका लागि निरुत्साहित गर्न आफ्नो भान्सामा प्रयोग नगर्ने निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बंगलादेशमा सामान्य अवस्थामा ३० टाका प्रतिकेजी रहेको प्याजको भाउ बढ्दै गएर दुई सय ६० टाका पुगेपछि प्रधानमन्त्री हसिनाले यस्तो कदम चालेकी हुन् । बंगलादेशी सरकारले जनतालाई राहत दिन भन्दै सीमित पसलबाट प्रतिकेजी ४५ टाकामा उपलब्ध गराइरहेको छ । बंगलादेशले हाल म्यानमारबाट प्याज आयात गरिरहेको छ ।

यतिवेला भारतको राजधानी दिल्लीमा प्याज सय भारुभन्दा बढीमा कारोबार भइरहेको छ । प्याजको बढ्दो भाउ नियन्त्रण गर्न केन्द्रीय खाद्य एवं सार्वजनिक वितरणमन्त्री रामविलास पासवनले केही दिनअघि एक लाख टन प्याज आयात गरेर दिल्लीमा वितरण गर्न लागेको उद्घोष गरेका थिए ।

भारतले दूतावास परिचालन गरेर अफगानिस्तान, इजिप्ट, टर्की र इरानबाट प्याज आयातको प्रबन्ध मिलाइसकेको छ । यसका साथै महाराष्ट्र र दक्षिणी राज्यबाट समेत उत्तर भारतमा प्याज आपूर्तिका लागि केन्द्रीय संयन्त्र लागिपरेको छ । भारतले दुई महिनाअघि नै सबै देशका लागि प्याज निर्यात बन्द गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*