महरा पूर्वआईजीपी ठकुरीसँगै सदरखोरमा

वेलकम खबर
कार्तिक १९, २०७६

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको कसुरमा पूर्व सभामुख कृष्णबहादुर महरालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आइतबारदेखि सुरु थुनछेक बहस सोमबार सकिएपछि महरालाई थुनामै राखेर मुद्दा अघि बढाउने आदेश दिएको हो ।

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको र प्रतिकार गर्दा हातपात गरेको अभियोग लागेका महरालाई आदेशलगत्तै सदरखोर डिल्लीबजार (कारागार) लगिएको छ । पाण्डेको इजलासले घटना विवरण, कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरूको बयान र तत्काल प्राप्त प्रमाणका आधारमा महरा कसुरदार होइनन् भन्न नसकिने भएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

स्रोतका अनुसार तत्काल प्राप्त प्रमाण हेर्दा उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएको समेत आदेशमा उल्लेख छ । प्रहरी हिरासतका क्रममा उनी पूरै अवधि थापाथलीस्थित नर्भिक अस्पतालको बेडमा बसेका थिए । उनलाई अस्पतालमा बस्न दिने या थुनामै राख्ने भन्ने निर्णय अब डिल्लीबजार कारागार प्रशासनले गर्नेछ । कारागार प्रशासनले उनलाई उपचार आवश्यक हो भन्ने यथोचित आधार देखिएमा मात्र अस्पताल बस्न अनुमति दिनेछ, नदेखिएमा कारागारमै बस्नुपर्नेछ । अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि महराको सांसद पद भने यथावत् रहनेछ । उनले सांसद पदबाट राजीनामा दिएका छैनन् ।

प्रतिनिधिसभा नियमावलीअनुसार उनले सांसद पदको पारिश्रमिक र अन्य सेवा सुविधा भने पाउने छैनन् । थुना अवधिभर उनले सांसदको हैसियतमा कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति नपाउने नियमावलीमा उल्लेख छ । नियमावलीमा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतको फैसलाबमोजिम कैद सजाय भुक्तान गरिरहेको सांसदको मात्र पद निलम्बन हुने व्यवस्था छ । यही व्यवस्थाका कारण महराको सांसद पद निलम्बन नहुने जानकारी संसद् सचिवालय स्रोतले दिएको छ ।

‘कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकामा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तान गरिरहेकामा सो अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिने’ नियमावलीमा उल्लेख छ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययन गरी सरकारी वकिल कार्यालयले महराविरुद्ध बलात्कार प्रयासको कसुर गरेको अभियोगमा बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो । महरालाई थुनामा पठाएर या थुनामुक्त गरेर मुद्दा अघि बढाउने विषयमा दुई दिनसम्म थुनछेक बहस भएको थियो ।

पीडित महिलाले असोज १२ गते राति महराले आफ्नो निवासमा आएर बलात्कार प्रयास गरेको र प्रतिकार गर्दा हातपात गरेको उल्लेख गर्दै कानुनबमोजिम कारबाही गर्न किटानी जाहेरी प्रहरीसमक्ष दिएकी थिइन् । घटना सार्वजनिक भएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए ।

पीडितको उजुरीका आधारमा प्रहरीले महरालाई पक्राउ गरी बलात्कार प्रयासको अभियोगमा अनुसन्धान अघि बढाएको थियो । मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार प्रयासको कसुरमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सभामुखजस्तो मर्यादित सार्वजनिक ओहदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालय, काठमाडौंले महरालाई हुने सजायमा डेढ गुणा थप गर्नसमेत अभियोगपत्रमा मागदाबी गरेको छ ।

कारागारमा पूर्वआईजीपी ठकुरीसँगै महरालाई सदरखोर डिल्लीबजारको ‘क’ ब्लकमा पूर्वआईजीपी रमेशचन्द ठकुरीसँगै राखिएको छ । ठकुरी सुडान घोटालामा प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल परेका हुन् ।

महरालाई सामान्य कैदी बस्ने कोठामा राखिएको हो । यसअघि उक्त कोठामा सुडान घोटाला प्रकरणमा सर्वोच्चबाट दोषी ठहर भएका पूर्वआईजीपी ओमविक्रम राणालाई समेत राखिएको थियो । राणा जेल सजाय भुक्तान गरी रिहा भइसकेका छन् ।

स्रोतका अनुसार महरालाई जिल्ला अदालतबाट साँझ साढे ५ बजे सदरखोर डिल्लीबजारमा ल्याइएको थियो । तत्काल जेलभित्रै उनको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य भएको पाइएको छ । जेलभित्रैका स्वास्थ्यकर्मीको टोलीले महराको स्वास्थ्य परीक्षण गरेको हो ।

महरा स्वयंले समेत जेल प्रशासकहरूसित आफ्नो स्वास्थ्य अवस्था ठीकै रहेको बताएका थिए । प्रहरी हिरासतमा रहँदा महरालाई उनकै आग्रहमा नर्भिक अस्पतालको बेडमा राखिएको थियो । कारागारमा भने उनले आफूलाई अस्पताल लैजान जिकिर नगरेको स्रोतले उल्लेख गरेको छ । अब जेल प्रशासनले उनको स्वास्थ्य परीक्षण गराउन सरकारी अस्पतालमा लानेछ, त्यसको खर्च सरकारले बेहोर्नेछ । निजी अस्पतालमा लग्नुपरेमा भने त्यो खर्च महराले बेहोर्नुपर्ने जानकारीसमेत स्रोतले दिएको छ ।कान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*