आलमसहित ११ लाई जन्मकैद माग
रौतहट — बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसहित ११ जनालाई जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जन्मकैदसहितको सजाय माग्दै जिल्ला अदालत रौतहटमा अभियोगपत्र दर्ता गरेको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोगमा उनीमाथि छुट्टाछुट्टै ऐनअनुसार सजाय मागिएको छ ।
मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साहलगायतलाई प्रतिवादी बनाइएको हो । आलमबाहेक सबै फरार छन् । उनीहरूमाथि पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन ०६४ चैत २७ गते राजपुर फरदहवास्थित पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग छ ।
एक जनालाई भने मतियारका रूपमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिल खडिन्द्रराज कटवालले जानकारी दिए ।
घटनामा एक दर्जन मानिसको हत्या भएको आफूहरूको निष्कर्ष रहेको उनले बताए । ‘प्रत्यक्षदर्शीलगायत विभिन्न व्यक्तिको बयानबाट एक दर्जन मानिसको हत्या भएको पुष्टि हुन्छ,’ उनले भने, ‘घाइतेलगायतको बयानबाट पनि धेरैको हत्या भएको भन्न सकिने आधार छन् ।’
आलमलाई सोमबार दिउँसो अबेर गरी अदालतमा पेस गरिएको थियो । त्यस क्रममा अदालत वरपरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । बाहिर उनका समर्थकले केहीबेर नाराबाजी गरेका थिए । अदालतले आलमसित मंगलबार बयान लिनेछ । त्यसै दिन समय भए दुवै पक्षका वकिलले बहस गर्नेछन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा दर्ता गरेको ३९ पृष्ठ लामो अभियोगपत्रमा पीडित परिवारलाई उचित क्षतिपूर्तिको समेत माग गरिएको छ । प्रहरीले अनुसन्धानका क्रममा तयार पारेको ८ सय पृष्ठको मिसिल गत शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । आलमलाई पक्रेर अनुसन्धान अघि बढाएपछि प्रहरीले घटनामा थप ६ जनाको संलग्नता भेटेको हो ।
आलमको निर्देशनमा भएको बम विस्फोटको घटनामा एक भारतीयसहित ३ जनाको ज्यान गएको प्रहरीको अनुसन्धानमा उल्लेख छ । विस्फोटमा परी ज्यान गुमाएकाका परिवारले आलमलाई तत्कालीन मुलुकी ऐनअनुसार सर्वस्वसहित जन्मकैदको माग गरे पनि नयाँ मुलुकी अपराध संहितामा सर्वस्वसहितको व्यवस्था नभएकाले प्रहरीले आजीवन कारावासको सजाय माग दाबीसहित राय पेस गरेको थियो ।



















