चुहानडाँडामा एयरपोर्ट बन्छ : पर्यटनमन्त्री भट्टराई
तेह्रथुम । बिमानस्थलका निर्माणका लागि पटकपटक चर्चा हुदै आएको तेह्रथुम चुहानडाँडाको थुम्किडाँडामा अब एयरपोर्ट बन्ने भएको छ । एयरपोर्टको लागि स्थलगत अध्ययनमा बिहिवार बिहान चुहानडाँडा आउनुभएका संस्कृति, पर्यटन तथा नगरीक उड्यान मन्त्रि योगेश भट्टराईले एयरपोर्ट निर्माणको आवश्यक प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मुल्यांकन र यो आर्थिक वर्ष भित्र टेन्डर निकाल्ने कार्य हुने भएकोले एयरपोर्ट बन्छ, मन्त्री भट्टराईले भन्नुभयो । यो एयरपोर्ट विभिन्न हिसाबले महत्त्वपूर्ण छ, यही एयरपोर्टको अनुगमन गरि फर्किने क्रममा दुर्घटनामा परि म भन्दा अगाडिका मन्त्री रविन्द्र अधिकारीको निधनले पनि छिटो एयरपोर्ट बनाउनका लागि दवाव रहेको छ ।
अरू एयरपोर्ट भन्दापनि यो विभिन्न कारणले चुहानडाँडा एयरपोर्ट प्राथमिकता रहेको उहाँले उल्लेख गर्नुभयो । पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सेन्टरमा भएकोले यो एयरपोर्ट हरेका हिसाबले उपयुक्त हुदाँ पूर्वी क्षेत्रको पर्यटन विकासको लागि यो एयरपोर्ट निर्माण हुनु महत्त्वपूर्ण रहेको पर्यटन मन्त्री भट्टराईले बताउनुभयो ।
आठराई गाउँपालिका–६ चुहानडाँडामा रहेको थुम्किडाँडामा बिमानस्थल बनाउने चर्चा २०३२ साल देखि नै चल्दै आएको स्थानीयहरु बताउँछन् । पूर्व पहाडी जिल्लाहरुकै बिमानस्थल निर्माणका लागि सबै भन्दा उपयुक्त स्थान भएकाले यसअघि नै पाँच पटक सम्म सम्भााव्यता अध्ययन भएको छ । बिमानस्थाल निर्माणका लागि २०३२, २०३५, २०६९, २०७१ सालमा प्राविधिकहरुबाट सम्भाव्यता तथा संर्वेक्षण भई सकेको छ ।
सम्भाव्यता तथा संर्वेक्षण अध्ययनका आधारमा उपयुक्त ठहरिई २०७३ सालमा विस्तृत संर्वेक्षण भई लागत स्टिमेट समेत भएको भक्तराज स्मृति आठराई थुम्कि बिमानस्थल सरोकार समितिका अध्यक्ष तथा १ नं. प्रदेश सभाका सदस्य माननीय तेजमान कन्दङवाले बताउनु भयो । पाँचथर, ताप्लेजुङ र तेह्रथुम सहितका अधिकांश क्षेत्रलाई पायक पर्ने यो बिमानस्थल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री डा. बाबुराभ भट्टराई समक्ष २०६८ सालमा, तल्कालीन प्रधानमन्त्री सुशिल कोइराला समक्ष २०७१ सालमा हालका प्रधानमन्त्री केपि शर्मा ओलीको नेतृत्वको प्रतिनिधि मण्डलले अनुरोध गरेको थियो ।
काँग्रेस नेता कृष्णप्रसाद सिटौला सहितको प्रतिनिधि मण्डलले पुनः प्रधानमन्त्री ओली समक्ष २०७२ र २०७५ बैशाखमा बिमानस्थल निर्माण कार्यको थालनी गर्नका लागि पहल गरेको भक्तराज स्मृति आठराई थुम्कि बिमानस्थल सरोकार समितिका सचिव रामचन्द्र थपलियाले बताउनु भयो । बिमानस्थलका लागि पटकपटक अध्ययन र प्रतिनिधि मण्डल सरकार समक्ष पुगेपनि कार्यन्वयनमा आउन नसकेको अवस्थामा पटकपटक मन्त्रीहरूको स्थलगत अवलोकनले भने एयरपोर्ट बन्छ भन्नेमा स्थानीयले विस्वास लिएका छन् ।
आठराई क्षेत्रको आवश्यकता र समृद्धिसंग जोडिएको बिमानस्थलको जग्गा मुआब्जाका लागि रु. २ करोड ५० लाख रुपैयाँ लाग्ने समितिले जनाएको छ । नेपालको शैक्षिक र राजनीतिक ईतिहासमा आठराई क्षेत्रको विशेष महत्व समेत रहेकाले आ.ब. २०७६/०७७ को बजेटमा मुआब्जा सहितको बिमानस्थलका लागि आवश्यक रकम विनियोज गर्न यसअघि आठराई बासीले संस्कृति, पर्यटन तथा नगरीक उड्यान मन्त्रालय समक्ष ज्ञापनपत्र बुझाएका थिए ।
२ सय ७१ रोपनी क्षेत्रमा फैलिएको थुम्किडाँडामा १० जना स्थानीयको जग्गा रहेको छ । बिमानस्थल निर्माणका लागि स्थानीयहरुले भक्तराज स्मृति आठराई थुम्कि बिमानस्थल सरोकार समितिकलाई जग्गा उपलब्ध गराउन मन्जुर समेत भएका छन् ।



















