नेकपा सांसद् पार्वत गुरूङविरूद्ध ३५ दिने पक्राउ पूर्जी

वेलकम खबर
अशोज २९, २०७६

ज्यान मार्ने उद्योगमा नेकपा सांसद् पार्वत गरूङविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध ३५ दिने म्यादसहितको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले उनको घरमा म्याद तामेलसमेत गरिसकेको छ ।

‘बाटोको म्याद बाहेक ३५ दिनभित्र आफै वा पक्राउ पुर्जी बमोजिम पक्राउमा परी यस अदालतमा हाजिर हुन आउनु भएमा तपाईको व्यहोरासमेत बुझी कानुन बमोजिम कारबाही हुनेछ,’ पक्राउ पुर्जीमा भनिएको छ,‘म्याद गुजारी फरार रहे कानुन बमोजिम हुनेछ । पछि तपाईको उजुर गर्न पाउनु हुने छैन ।’

काठमाडौं जिल्ला अदालतमा दोलखाका वीरध्वज खड्काले २९ वैशाख ०७६ मा गुरूङ, मीनबहादुर तामाङ, कारसाङ भन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ र सविन तामाङ विरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेका थिए । सो मुद्दाको बयान दिनका लागि उनलाई डाकिएको हो । ३५ दिनभित्रमा उनी आफै अदालतम उपस्थित भएर घटनाबारे बयान नदिए प्रहरीले पक्राउ गरी अदालतसमक्ष उपस्थित गराउन सक्ने छ ।

गत स्थानीय तहको निर्वाचनका बखत काठमाडौंको गौशालामा दोलखाकै वीरध्वज खड्काले गुरूङको समेत संलग्नतामा आफूमाथि सांघातिक आक्रमण गरेको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका थिए । सो मुद्दाको बयानका लागि अदालतले गुरूङलाई बोलाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*