ठाङठाङ ठुङठुङ सुन्दै मेरो कार्यकाल सकिने भयो : प्रधानमन्त्री
काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्दै गरेको प्रधानमन्त्री निवासको भवन बनाउने क्रमको ‘ठाङठाङ ठुङठुङ’ सुन्दै आफ्नो कार्यकाल बित्ने बताएका छन् ।
बिहीबार बालुवाटारमा निर्माण गर्न लागिएको प्रधानमन्त्री निवासको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूले त्यसो सुन्नु परे पनि त्यसपछिका प्रधानमन्त्री शान्तपूर्वक बस्न पाउने बताए ।
प्रधानमन्त्री निवासको निर्माणधीन भवन र राष्ट्र बैंकको बन्दै गरेको भवनको काम आफ्नै कार्यकालमा बनिसक्ने उनको भनाई थियो ।
‘आफ्नै भवनको ठाङठाङ ठुङठुङ, राति पनि दिउँसो पनि ठाङठाङ ठुङठुङ सुन्नुपर्छ । अबका प्रधानमन्त्रीले भने शान्तसँग बस्न पाउनुहुन्छ किनभने त्यतिबेला सबै बनिसकेका हुन्छन्’, उनले भने ।
‘म अहिले ४१ औं प्रधानमन्त्री छु’, उनले भने, ‘यो भवनमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ’ उनले भने ।
प्रधानमन्त्री निवास र बैठक कक्षसहितका दुई भनव निर्माण गर्न लागेको छ। ती दुबै भवनको निर्माणका लागि ४० करोड लाग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।



















