प्रधानमन्त्री ओलीले गरे नयाँ संसद भवन शिलान्यास

वेलकम खबर
अशोज १, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरेका छन् । सिंहदरबार भित्रको पुतली बगैंचामा भवन शिलान्यास गरिएको हो ।

उक्त भवन शिलान्यासलगत्तै निर्माण कार्य सुरु हुने बताईएको छ । भवन निर्माणको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।

शहरी विकास मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ ।

संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ ।

 

यसअघिका संविधानसभा हुँदा समेत सम्मेलन केन्द्रलाई नै भाडामा लिइएको थियो । संसद सचिवालयका अनुसार हाल सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको छ ।

प्रतिनिधिसभा ५ वर्ष र राष्ट्रियसभाका लागि लिइएको उक्त भवन गत वर्ष ६ वर्षसम्मका लागि भनेर सम्झौता गरिएको छ । सम्झौतामा दुई(दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*