नेपाल एयरलाइन्सले ७० वर्षमाथिका नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने

वेलकम खबर
अशोज १, २०७६

नेपाल वायुसेवा निगमले ज्येष्ठ नागरिक अर्थात् ७० वर्षमाथिका नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ। निगमका सहप्रवक्ता सुलेख मिश्रले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईको उक्त निर्णयलाई निगमले पालना गरेको बताएका हुन्।

निगमको गत ३० गते बसेको उच्चस्तरीय समिति (मार्केटिङ कमिटी)ले राज्यद्वारा घोषित कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको सहप्रवक्ता मिश्रले नेपालखबरलाई जानकारी दिए। निर्णयअनुसार आज असोज १ गतेदेखि नै निगमले ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिनेछ। देशका सम्मानित ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडामा छुट दिनुलाई निगमले कर्तव्यका रुपमा लिएको मिश्रले जानकारी दिए।

तत्काल प्राविधिक तयारी पूरा नभएका कारण हाललाई सेल्स अफिसबाट टिकट लिने ज्येष्ठ नागरिकले मात्र उक्त सुविधा उपभोग गर्न पाउने निगमले जनाएको छ। यसका लागि निगमले सफ्टवेयर निर्माणको काम थालिसकेको मिश्रले बताए। उनले भने, ‘प्रणाली सेटअप गर्न समय लाग्ने भएकाले हाललाई अल्पकालीन नियमअनुसार निगमको आधिकारिक कार्यालयमै पुगी टिकट लिनुपर्नेछ। यसरी टिकट लिने ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिइनेछ।’

त्यस्तै पूर्वको विराटनगर र पश्चिमको नेपालगञ्जमा रहेको निगमको क्षेत्रीय कार्यालयबाट पनि टिकट लिँदा छुट पाइनेछ। निगमको आधिकारिक कार्यालय भद्रपुर, धनगढी, दांग, विराटनगर, नेपालगञ्ज, पोखरा, भैरहवा, सुर्खेत, ताप्लेजुंग, लुक्ला, फाप्लु, रुम्झाटार, ताल्चा, लामीडाँडा, खानिडाँडामा समेत कार्यालयहरु रहेका छन्। यसैबीच, दशैँको अग्रिम टिकट बुकिङ पनि निगमले खुल्ला गरेको उनले जानकारी दिए।

पर्यटनमन्त्री नियुक्त भएपश्चात् योगेश भट्टराईले वायुसेवा प्रदायक कम्पनीहरुलाई ज्येष्ठ नागरिकको सम्मानस्वरुप भाडामा आधा छुटको प्रस्ताव गरेका थिए। उनले अन्य वायुसेवा कम्पनीलाई पनि कर्तव्य सम्झेर ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिन अनुराेध गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*