ज्ञानेन्द्र शाहीलाई निषेध गर्ने युवा संघको घोषणा, ‘कुकुर’हरु भुक्दै गर्छन्ः मन्त्री भट्टराई

वेलकम खबर
भदौ ३०, २०७६

ठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई निषेधको घोषणा गरेको छ।

नेपालगन्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेको, राजावादीको पक्षपोषण गरेर परिवर्तनलाई चुनौती दिएको भन्दै संघको कास्की जिल्ला कार्यसमितिले आफ्नो जिल्लामा शाहीलाई प्रवेशमा निषेधको घोषणा गरेको हो।

जिल्ला अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीद्वारा जारी विज्ञप्तिमा ज्ञानेन्द्र शाहीलाई गलत अभियानमा संलग्न कुपात्रको रुपमा चित्रण गर्दै गणतान्त्रिक भूमी कास्कीमा प्रवेश निषेध गर्ने घोषणा गरिएको छ। शाहीमाथिको निषेध विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलब्धिको रक्षार्थ भएको जिकिर गर्दै संघले यसमा दृढतापूर्वक उभिएर सहयोग गर्न अपिल समेत गरेको छ।

संविधानले स्वतन्त्रताको हक ग्यारेन्टी गरे पनि सत्तारुढ दलकै भ्रातृ संगठनले निषेधको घोषणा गरेपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ।

यता मन्त्री भट्टराईको सचिवालयले भने शाहीलाई ‘कुकुर’को संज्ञा दिएको छ। ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ’ भन्ने मदन भण्डारीको भनाई उल्लेख गर्दै सचिवालयले मण्डले प्रवृत्तिको विरोध र धम्कीले रत्तिभर विचलित नहुने उल्लेख गरेको छ।



यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*