केही बेरमै तोडियो सहमति, कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

वेलकम खबर
भदौ ३०, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।

बाँकेको खजुरा घटनालाई लिएर संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग केहीबेर अगाडि सदन खुलाउने विषयमा सहमति भएको थियो।

खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भए पर्नि सत्तारुढ दल नेकपा कारबाहीका लागि तयार नभएपछि सहमति भाँडिएको हो।

सहमति भाँडिएपछि कांग्रेसले अहिले संसद अबरुद्ध गरिरहेको छ।

संसद बैठक सुरु हुनासाथ समय लिएर बोलेकी कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालले बाँके घटनामा कारबाही प्रक्रिया अगाडि नबढाएसम्म संसद चल्न नदिने बताइन्।

उनले कांग्रेसको जागरण अभियानलाई निस्तेज पार्नका लागि बाँकेमा आक्रमण गरिएको आरोप लगाइन्।

‘कांग्रेसले किटानी जाहेरी दिँदै गर्दा गृहप्रशासन मौन बसेपछि हामी संसद अबरुद्ध गर्न बाध्य भयौँ’, प्रमुख सचेतक भुसालले भनिन्।

उनी लगत्तै बोलेका सत्तारुढ दल नेकपामा सोही क्षेत्रका सांसद नन्दलाल रोकायाले नेकपाले कांग्रेसमाथि आक्रमण नै नगरेको भन्दै बचाउ गरे।

उनले यो प्रकरणमा वडाध्यक्ष निर्दोष रहेको भन्दै डेड सय जना भएको ठाउँमा तीन जनाले आक्रमण गर्न नसक्ने दावी गरे। ‘डेढ दुई सयको जमघटमा तीन जना केटाकेटीले हातपात गर्न सक्दैनन्’, उनले भने।

उनले वडाध्यक्षविरुद्ध मुद्दा लगाउन नमिल्ने भन्दै कांग्रेस आन्दोलनमा गए आफू पनि जाने चेतावनी समेत दिए।

उनी बोले लगत्तै कांग्रेसले सत्तारुढ दल नेकपा सहमतिबाट पछाडि हटेको भन्दै कांग्रेसले संसद अबरुद्ध गरेको हो।

कांग्रेसको अवरोधपछि संसद बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*