पारसविरुद्ध दरबारमा सातलाख हस्ताक्षर बुझाएको भनेपछि नियत बुझिहालेंः मन्त्री भट्टराई

वेलकम खबर
भदौ २९, २०७६

पर्यटनमन्त्री योगेश भट्टराईले शनिबार साँझ नेपालगञ्जबाट काठमाडौं उड्ने क्रममा आफ्नो कारणले बुद्ध एयरका यात्रुमा पर्न गएको असुविधाप्रति माफी मागेका छन्।

तर मन्त्री भट्टराईले सँगसँगै आफ्नो कारणले जहाज १५ मिनेट ढिलो हुँदा ३–४ जना आफुविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको बताएका छन्।

‘सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो’, भट्टराईले काठमाडौं आइपुगेपछि भनेका छन्, ‘नेपालगञ्ज विमानस्थलमा ३–४ जना व्यक्तिहरू आक्रमक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो। एकजनाले पारसविरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस्, त्यो हामीले कहाँ बिर्सेंका छौ र भनेपछि मैले उनीहरुको नियत बुझिहालें।’

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।
मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।

कैलालीको टिकापुरमा आयोजित डल्फिन महोत्सवमा सहभागी भएर नेपालगञ्जबाट बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्कने क्रममा भट्टराई केही ढिला विमानस्थल पुगेका थिए। नेपालगञ्जबाट काठमाडौं उड्ने बुद्ध एयरको अन्तिम जहाज अरु सबै यात्रुको बोर्डिङ गराएर मन्त्रीलाई पर्खेर बसेको थियो।

मन्त्रीको कारणले जहाज ढिलो भएपछि यात्रुले उनीविरुद्ध नाराबाजी गर्नुको साथै दुव्र्यवहार समेत गरेका थिए। प्रहरीले दुव्र्यवहार र हातपात गर्न खोज्नेलाई रोकेका थिए।

प्रहरीका अनुसार जहाजमा आफुलाई भ्रष्टाचारविरोधी अभियान्ता दावी गर्ने ज्ञानेन्द्र शाहीसमेत थिए। उनकै एक जना सहयोगीले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको प्रहरीले जनाएको छ।

नेपालगञ्ज विमानस्थलले बेलुकी ६ बजेर २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरको अन्तिम जहाज मन्त्री भट्टराई आउन ढिलाइ भएपछि करिब ४३ मिनेट ढिलो ७ बजेर ८ मिनेटमा उडेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*