पालिका स्तरीय फुटसलको उपाधी मिक्वाखोला चुम्यो
काठमाडौं । दसैं तिहार तथा छठ पर्वको अवसरमा ताप्लेजुङ युवा समाज काठमाडौले आयोजना गरेको पालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधी मिक्वाखोला गाउपालिकाले जितेको छ ।
शनिवार काठमाण्डौमा सम्पन्न फुटसल प्रतियोगिताको बिजेता मिक्वाखोला गाउँपालिका टीम ए र उपबिजेता मिक्वाखोला गाउँपालिका टीम बी ले क्रमश ५० हजार र ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फुङलिङ नगरपालिका सहित १६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रमुख अतिथि सांसद पासाङ शेर्पाद्धारा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
फाइनल खेलमा मिक्वाखोला ए टीमले मिक्वाखोला बी टीमलाई ६-२ गोल अन्तरले पराजित गरेको हो । बेस्ट प्लेयर मिक्वाखोला टीम ए का बहार लक्सम्बा, बेष्ट किपर सोही टीमका पुजन लिम्बुले हात पारेका छ्न ।
सेमिफाइनल खेलमा मेरिङ्देनलाइ मिक्वाखोला ए टीमले र श्रीजङ्गा गाउँपालिकालाई मिक्वाखोला बी टीमले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन ।
प्रतियोगीतामा ताप्लेजुङका विभिन्न संघ संस्थालाई समेटेर मैत्रीपुर्ण खेलको पनि आयोजना गरीएको थियो । जसमा ताप्लेजुङ पत्रकार समाज काठमाडौं, ताप्लेजुङ समाज नेपाल, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ युवा समाज गरी ४ टिमको सहभागीता रहेको थियो । ताप्लेजुङ सरोकार केन्द्र मैत्रीपुर्ण खेलको विजेता बन्दै २५ हजार बराबरको खसी जित्न सफल भएको छ ।
ताप्लेजुङबाट काठमाडौं आएर बसोबास गरेका ताप्लेजुङबासी बिच भेटघाट र शुभकामना आदानप्रदान गर्ने उद्धेश्यले हरेक वर्ष ताप्लेजुङ युवा समाजले फुटसल प्रतियोगिता लगायत अन्य विविध कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।



















