बर्खास्त भएका तरुणदलका महासचिव भन्छन, ‘अध्यक्षलाई निष्काशन गर्ने अधिकार छैन’
कांग्रेसको युवा संगठन नेपाल तरुण दलको महासचिवबाट बर्खास्त गरिएका भूपेन्द्रजंग शाहीले अध्यक्षलाई त्यो अधिकार नभएको बताएका छन् । दलका अध्यक्ष जितजंग बस्नेतले विधान विपरीत काम गरेको भन्दै शनिबार शाहीलाई महासचिवसहित सदस्यसमेत नरहने गरी निष्काशन गरेका थिए ।
पार्टीले सर्वसम्मत महासचिव बनाएको उल्लेख गर्दै शाहीले अध्यक्षले हटाउन नसक्ने बताएका हुन् । ‘म पोखरा महाधिवेशनबाट सर्वसम्मत महासचिव भएको हुँ,’ उनले भने, ‘मलाई पार्टीले पनि सर्वसम्मत निर्णय गरेर हटाउन सक्छ, अध्यक्षले हटाउन सक्दैनन् ।’
अध्यक्ष बस्नेतले विधानको धारा उल्लेख गर्दै हटाएको प्रसंगमा उनले विधानमा उल्लेख हुँदैमा हटाउन नसक्ने जिकिर गरे ।



















