करको दरप्रति ताप्लेजुङका सर्वसाधारणको आक्रोस
ताप्लेजुङ, । ताप्लेजुङको फुङ्लिङ वडा नं ६ सुकेटारका ब्यावसायी बिष्णु तिवारीले ३ हजार ५ सय रुपैंया तिरेर नगरपालिकामा ब्यवसाय दर्ता गरे । उद्योग बाणिज्य संघमा आबद्ध उनले थप ४ हजार रुपैैंया नविकरण सहितका अरु कानूनी बैद्यताका लागि खर्च गर्नुपर्यो । मदिराजन्य सामग्री पनि बिक्री गर्ने उनले आन्तरिक राजश्व कार्यालयमा भुक्तान गर्नुपर्ने ब्यवसाय दर्ता तथा नविकरण शुल्क कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाए । स्थायी लेखा नम्बर(पान) सहितका कार्य गर्दा उनले बार्षिक २० हजार बढी रकम करकै निम्ति खर्च गर्नुपर्छ ।
भने‘कतितिर तिरेर सक्नु,ब्यावसाय नै धरापमा पर्ने अवस्था आईसक्यो’बजार अनुगमन तथा ब्यावसाय दर्ता आवहन गर्दै हिंडेको टोलीसमक्ष सुकेटारका ब्यावसायीको प्रश्न थियो ।
यति करले मात्र ढुक्क हुन नसकेका ब्यावसायी तथा सर्वसाधारण करको दरले आजित भएका तिवारी एक्ला होईनन् । स्थानीय सरकारले लिने अचाक्लिदो करको दरप्रति ब्यङ्ग गर्दै फुङलिङ बजारका स्थानीय मनमणि काफ्लेले शुक्रवार सामाजिक सञ्जालमा लेखे–‘छिट्टै कमाउन ब्यावसायीले भाउ बढी राखे झैं आम्दानी बढाउने नाममा स्थानीय तहले करको दर उच्च बनाएको छ,संस्थागत साहु ! ।’उनको यो टिप्पणीले स्थानीय तहले लिदैं आएको कर जनताले थेग्न नसक्ने प्रकृतिको भएको झल्को दिन्छ । करको दर बढी भएको प्रति टिप्पणी गर्दै भीम पौडेलले सामाजिक सञ्जालमै असन्तुष्टी पोखेका छन् ।
’स्थानीय सरकार भनेको सैद्धान्तिक रुपमै जनताका साशक होइनन्,सहजकर्ता र नोकर हुन्,तर यहाँ उल्टो भयो’पौडेलले भनेका छन् । उनले करको दर घटाएर दाहेरा फराकिलो बनाउनेतर्फ सोच्न जनप्रतनिधि र सचिवालय टिमलाई आग्रह गरेक छन् । साब्लाखुका प्रयास लिम्बू स्थानीय सरकारले लिएको करको दरप्रति सर्वसाधारण सन्तुष्ट नभएको बताउँछन् । करको दर अचाक्ली भएको भन्दै उनले गाउँ–गाउँका सिंह र दरवारलाई पाल्न सहज हुने हिसावले उठाईएको करप्रति रोष प्रकट गरेका छन्
। सुबिधाभोगी जनप्रतिनिधि र स्थानीय सरकारलाई उनले गाउँ–गाउँका सिंह र दरवारको व्यङ्ग गरेका थिए । फुङ्लिङका कृष्ण पौडेलले करको दर थामी नसक्नु भएको भन्दै जनतालाई चेपुवामा पारेर असुली हुने कर सुबिधाभोगका लागि हो की के का लागि भनेर प्रश्न गरे । उनले जनताले कर तिरेपछि साँच्चै आफ्ना लागि केहि भएको भान हुनेगरी सुबिधा बृद्धि गर्न नसके थामी नसक्नु करको भारले पिल्सिने बताए । ब्यवसायी निरोज श्रेष्ठले करको दरले सर्वसाधारण बिस्थापित हुने अवस्था सृजना भएको बताए । उनले करको यहिँ दर कायम रहे ब्यावसायीबाट पलायन हुनुको बिकल्प नरहेको प्रतिक्रिया दिएका छन् ।
करको दर बढी भएको आक्रोस सामाजिक सञ्जालमा मात्र केन्द्रित देखिएन । शुक्रवार बजार÷पसल बन्दको सदुपयोग गरेर स्थानीय ब्यावसायी तथा सर्वसाधारणले फुङ्लिङ नगरपालिकाका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई करको दर घटाउन ध्यानाकर्षण गरेका छन् ।‘एउटा घरले मासिक १२–१५ सय फोहोरकै निम्ति कर तिर्दाको हैरानीबाट उन्मुक्त हुन बाध्य भएर सरकार गुहार्न पुग्यौं’ध्यानाकर्षण गराउन पुगेका ज्ञानु मिश्रले भने ।
उनले अब गुरुदक्षिणाको रकममा पनि कर लगाउने हो की भनेर नगरपालिकासंग प्रश्न गरेको बताए । करको दर घटाउन माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गर्न पुगेको टोलीले मान्छेलाई ‘कर तिरौं’भन्ने बनाउनुको सट्टा करको डरबाट भाग्ने बनाउनु राम्रो बिषय नभएको बताएको थियो ।‘जनतालाई मार्ने काम भएको छ’मिश्रले भने‘फोहोरको कर दोब्बर बृद्धि गरेर जनतालाई रुवाउने मात्र गरियो’ । उनले व्यवसाय दर्ता,फोहोर संकलन कर सहितको कर दर नघटाए जनताले प्रतिकार गर्ने दिन आउन सक्ने चेतावी पनि दिए । फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले फोहोर संकलन कर बढी भएको भनेर नगरपालिकामा गुनासो आएको स्वीकार्दै रकम संकलनको पहिलो महिना संकलनको अवस्था बारे हेर्ने र त्यसपछि अरु निर्णयमा जान सकिने बताए ।
फोहोर संकलन तथा व्यवस्थापनका लागि खर्च धान्ने अवस्था चाँही फोहोर ब्यवस्थापन शुल्कबाट सृजना हुनुपर्ने उनको भनाई थियो । नगरपालिकाले कर सहित बार्षिक करिव १९ लाख रुपैंया हुनेगरी फोहोर संकलन तथा व्यवस्थापन कार्यको ठेक्का लगाएको छ । नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा)ले फोहोर संकलन तथा व्यवथापन शुल्कको पहिलो महिनाको रकम संकलनका आधारमा थप निर्णय गर्न सक्ने संकेत दिए । फुङ्लिङ नगरपालिका सहित यहाँका ८ वटा गाउँपालिकाले निर्धारण गरेको करको दर सर्वसाधारणले थेग्न नसक्ने प्रकृतिको भएको भन्दै चौतर्फी आलोचना हुदै आएको छ ।
सर्वसाधारणको विरोध पछि यता शनिवारे हाटमा भने कुनै पनि कर उठाईएको छैन ।



















