सामाजिक सुरक्षा भत्ताको नयाँ दर कायम, कसको कति पुग्यो ?

वेलकम खबर
भदौ २७, २०७६

काठमाडौं, २७ भदौं । सरकारले चालु आर्थिक वर्ष २०७६–७७ को बजेटमा घोषणा गरेअनुसार ज्येष्ठ नागरिकदेखि सबै शीर्षकका सामाजिक सुरक्षा भत्ता बढाएको छ ।

अर्थ मन्त्रालयले बढेको सामाजिक सुरक्षा भत्ताको दर तय गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराएको छ ।

चौमासिक रुपमा प्रदान गरिने यस्तो भत्ताको पहिलो किस्ता १ असोजमा वितरण हुन्छ । सोही प्रयोजनका लागि विभागले उक्त दरको विवरण स्थानीय सरकारहरुलाई उपलब्ध गराएको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि अर्थले आवश्यक रकम विभागमा दिन्छ भने विभागमार्फत स्थानीय तहबाटै वितरण हुन्छ ।

चालु आवको बजेटले ज्येष्ठ नागरिकले मासिक पाउँदै आएको भत्ता एक हजारबाट २ हजार पुर्‍याएको थियो । ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकले एक हजार रुपैयाँ मासिक उपचार खर्च पनि पाउँछन् । यसरी ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको मासिक भत्ता ३ हजार पुगेको छ ।

यस बाहेक साविक कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक र ६० वर्ष नाघेका देशभरका तोकिएका दलित समूदायका नागरिकलाई राज्यले सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

यस्तो छ नयाँ सामाजिक सुरक्षा भत्ता दर
ज्येष्ठ नागरिक मासिक– २ हजार रुपैयाँ
एकल र विधवा महिला मासिक– २ हजार रुपैयाँ
पूर्ण अपाङ्गता भएका मासिक– ३ हजार रुपैयाँ
अति अशक्त अपाङ्गता मासिक– १६ सय रुपैयाँ
लोपोन्मुख आदिवासी जनजाति मासिक– ३ हजार रुपैयाँ

बालबालिका (बाल संरक्षण अनुदान) मासिक–४ सय रुपैयाँ
७० वर्ष पूरा भएका ज्येष्ठ नागरिक उपचार खर्च (मासिक) –१ हजार रुपैयाँ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*