उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान, नेकपाले पनि दर्ता गर्नुपर्ने

वेलकम खबर
भदौ १६, २०७६

निर्वाचन आयोगले आगामी १४ मंसीरमा हुने संघ, प्रदेश र स्थानीय तहको रिक्त स्थानमा हुने उपनिर्वाचनमा सहभागी हुन राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ ।

निर्वाचन आयोगले २०७४ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका राजनीतिक दल बाहेकलाई सो उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेको हो । २०७४ सालको निर्वाचनमा भाग लिएका राजनीतिक दलहरुले भने दल दर्ता गर्नु नपर्ने निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए ।

आयोगको प्रावधान अनुसार एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको सत्तारुढ नेकपाले भने उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने हुन्छ । आयोगका प्रवक्ता खरेलले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्म कायम गरिएको जानकारी दिए ।

दल दर्ताका लागि वार्षिक लेखा परीक्षण प्रतिवेदन अनिवार्य रुपमा बुझाउनुपर्ने आयोगले जनाएको छ । त्यसैगरी दलको विधान, नियमावली, घोषणा पत्र, निर्वाचन चिन्ह पनि दल दर्ताको लागि दिइएको निवेदनमा समावेश गर्नुपर्ने खरेलले जानकारी दिए ।

विभिन्न कारणले रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहको ५१ वटा पदमा उपनिर्वाचन हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*