विवाहको आवरणमा चीनमा १० लाखमा बेचिन्छन् नेपाली युवती

वेलकम खबर
भदौ १४, २०७६

बिहेपछि बनाइन्छन् यौनदासी
विवाहको आवरणमा नेपाली युवतीलाई चीनमा लगेर बिक्री गर्ने समूह प्रहरीको फन्दामा परेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले चार चिनियाँसहितको १० जनाको गिरोहलाई पक्राउ गरेको हो । बिहे गरेर चीन जान लागेका दुई युवतीलाई विमानस्थलबाट उद्धार गरी गिरोहलाई पक्राउ गरिएको ब्युरोका प्रमुख एसएसपी ईश्वरबाबु कार्कीले बताए ।

कमजोर आर्थिक अवस्था भएका युवतीलाई प्रभावमा पारेर चिनियाँ युवकसँग बिहे गराएर यौनदासी बनाउने गरेको प्रहरीले जनाएको छ । विगतमा त्यसरी बिहे गरेर चीन पुगेका युवतीलाई दूतावासले उद्धार गरेको थियो ।

रिना तामाङ भन्ने सिन्धुपाल्चोक हेलम्बुकी बिबिरानी तामाङ, नुवाकोट ककनीका रोज तामाङ, लमजुङ बेसीसहरकी पार्वती गुरुङ, भरत तामाङ, अमृता गुरुङ र उषाकुमारी घिमिरे पक्राउ परेका हुन् । उनीहरू चिनियाँ युवकसँग विवाह गर्ने युवती खोज्ने र चिनियाँ दलाललाई भेट गराउने काममा सक्रिय रहेको प्रहरीले जनाएको छ । त्यस्तै, दुई चिनियाँ दलाल झेङ दोङ र झाङ दोङ हुई, नेपाली युवती बिहे गर्न आएका क्वाङ झाङ पेङ र क्विन लिवाङ पक्राउ परेका छन् । लामो समयदेखि नेपाल बस्दै आएका झेङ नेपालीसमेत बोल्छन् । सोल्टीमोडमा नेपाली प्रेमिका उषा घिमिरेसँग बस्ने गरेका र प्रेमिकामार्फत नै चिनियाँ युवकसँग बिहे गर्ने युवती खोज्थे ।

यो समूहले खासगरी मंगोलियन अनुहार भएका युवतीलाई चिनियाँ युवकसँग बिहे गराउँदै आएको ब्युरोका एसपी गोविन्द थपलियाले बताए । सो समूहले कोर्ट म्यारिज गरेर चीन पठाउन लागेका अन्य तीन युवतीलाई समेत प्रहरीले फेला पारेको छ । यसरी चीन जान तयार पारिएकाहरू साधारण लेखपढ मात्र गर्न जान्नेहरू छन् । प्रारम्भिक अनुसन्धानमा सो समूहले यसअघि धेरै युवतीलाई ‘कोर्ट म्यारिज’ गराएर चीन पठाइसकेको खुलेको छ ।

१० लाखमा दुलही ‘खरिद’
प्रहरीले सो गिरोहबाट २१ लाख ९७ हजार नौ सय ६० नेपाली रुपैयाँ, ३८ हजार आठ सय भारु, तीन हजार तीन सय चिनियाँ युआन र एक सय ९० अमेरिकी डलर बरामद गरेको छ । बरामद भएको २१ लाख रुपैयाँ दुई युवतीलाई चिनियाँ युवकसँग बिहे गराइदिएबापत लिएको प्रहरी अनुमान छ ।

‘उनीहरूले एक चिनियाँलाई नेपाली युवतीसँग बिहे गरिदिएबापत करिब १० लाख रुपैयाँ लिने गरेको देखिन्छ,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गोविन्द थपलिया भन्छन्, ‘जसमध्ये करिब ५०–६० हजार रुपैयाँ युवतीका परिवारलाई दिने गर्थे ।’

बिहे गरेर लगेपछि केही महिना परिवारलाई फोन गर्न दिने र त्यसपछि बन्धकजस्तो बनाएर राख्ने गरेको प्रहरीले जनाएको छ । गिरोहकी नाइकेमध्ये एक सिन्धुपाल्चोक हेलम्बुकी बिबिरानी केही वर्षअघि चिनियासँग बिहे गरेर चीन गएकी थिइन् । नेपाल फर्किएर उनले अन्य युवतीलाई चीन लैजाने धन्दा गरेको प्रहरीले जनाएको छ ।

अदालतमा सेटिङ ? 
चिनियाँ युवकले नेपाल आएको पाँच दिनमै अदालतबाट ‘कोर्ट म्यारिज’ गरेका थिए । विगतमा सो समूहले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहमा विवाह दर्ता गर्थे । अहिले अदालतमा गर्न थालेको देखिन्छ । अदालतमा सोधपुछ नै नगरी विवाह दर्ता हुने भएकाले उनीहरूले नयाँ बाटो रोजेको देखिन्छ । स्थानीय तहका अधिकारीले ‘क्रस चेक’ गर्ने डरले उनीहरू अदालततर्फ लागेका थिए । अदालतमा सोधपुछ नै नगरी सजिलै कोर्ट म्यारिज हुने गरेको उनीहरूले बताएका छन् ।

चार वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले म्यारिज ब्युरोमार्फत नेपाली युवतीलाई चीन र कोरियामा तस्करी भएको तथ्य पत्ता लगाएको थियो । छेरु इन्टरनेसनल प्रालि नामक म्यारिज ब्युरोबाट विदेशीलाई बिहे गरी तस्करी गराउने पासाङ शेर्पा, विपुल नगरकोटी र कोरियन नागरिक पार्क छुलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई प्रभावमा पारी विदेशीसँग विवाह दर्ता गरेको अनुसन्धानमा खुलेको थियो । खासगरी काठमाडौंमा धेरैले विदेशीसँगको विवाह दर्ता गरेपछि त्यसले मानवतस्करी बढाएको भन्दै गृह मन्त्रालयले स्थायी बसोवास भएको जिल्लाबाट मात्र विवाह दर्ता गराउन जिल्ला प्रशासन कार्यालयहरूलाई सर्कुलर गरेको थियो । त्यसपछि अहिले त्यस्तो समूहले काठमाडौं जिल्ला अदालतमार्फत ‘कोर्ट म्यारिज’ गर्न थालेको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

बिहेपछि यौनदासी 
बिहेअघि चिनियाँ युवा र नेपाली युवतीबीच ‘विच्याट’मा कुराकारी गराइन्छ । चिनियाँ युवकलाई सुट लगाएर धनीजस्तो देखाउने र ग्रामीण क्षेत्रका नेपाली युवतीलाई आकर्षक पोसाक लगाउन लगाई सो समूहले भिडियो च्याट गराउँथे । सोही आधारमा बिहे तय हुन्थ्यो । उनीहरूलाई एक–अर्काको भाषा त परै जाओस् नामसमेत याद हुँदैनथ्यो ।

बिहेपछि चीनको ग्रिनकार्ड पाइने तथा परिवारलाई समेत लैजान सकिने आश्वासन दिने गरिएको एसपी थपलियाले बताए । चीनको आधुनिक सहरमा बस्न पाइने सपना बोकेर बिहे गर्ने युवतीलाई ग्रामीण क्षेत्रका युवासँग झुक्याएर बिहे गरिन्छ । ‘त्यहाँ लगेपछि धेरैलाई यौनदासी बनाउने गरिएको बुझिएको छ,’ एसपी थपलियाले भने, ‘किनेर ल्याएको भन्दै चरम यातना दिने गरिएको खुलेको छ ।’

चीनमा लामो समयदेखि बेहुली किन्ने प्रथा कायम छ । चीनमा विगतमा लागू गरिएको ‘एक सन्तान नीति’का कारण छोरीभन्दा करिब दुई करोड धेरै छोरा जन्मिएपछि बेहुली नपाउने अवस्था छ । सोही कारण नेपाललगायत अन्य देशबाट बिहेका लागि युवती तस्करी हुँदै आएको छ । विगतमा कम्बोडिया, भियतनाम, लाओसलगायत देशबाट बिहेका लागि चीनमा ठूलो संख्यामा युवती तस्करी हुने गरेकोमा पछिल्लो समय ती देशमा कडाइ भएपछि यस्तो समूह नेपालमा सक्रिय भएको हुन सक्ने बताउँछन् ब्युरोका एसएसपी कार्की । पाकिस्तानबाट पनि ठूलो संख्यामा युवती बिहेको प्रलोभनमा चीनमा पुगेर बेहाल भएको समाचार केही महिनाअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आएका थिए ।

चार चिनियाँ दलालसहित १० पक्राउ
यसरी खुल्यो रहस्य : चिनियाँसँग बिहे गरेर चीन जाने तयारीमा रहेकी एक युवतीलाई सो गिरोहमाथि शंका लाग्यो । फस्ने ठानेर उनी पछि हटिन् । उनकै आफन्तबाट प्रहरीले गत मंगलबार सूचना पायो । ‘सूचना आएकै वेला एक चिनियाँ युवकले नेपाली युवती लिएर चीन जाँदै गरेको थाहा पाएर विमानस्थल पुगियो,’ ब्युरोका एक अधिकारी भन्छन्, ‘विमानस्थल पुग्दा दुईजना चिनियाँले नेपाली युवती लैजान लागेको खुलेको हो । उनीहरूबाटै गिरोहका अन्य सदस्य बुधबार र बिहीबार पक्राउ गर्न सफल भएका हौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*