पर्यटनमन्त्रीको प्रश्न– ‘पोखराबाट प्लेनमा के बोकाएर पठाउनुहुन्छ ?’

वेलकम खबर
भदौ ११, २०७६

पोखरा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरे । विमानस्थल निर्माणको प्रगतिबारे जानकारी लिए । जनप्रतिनिधिका कुरा र स्थानीयका गुनासा पनि सुने । सबैका कुरा सुनेपछि जनप्रतिनिधितिर फर्कदै उनले सोधे– ‘मान्छेबाहेक प्लेनमा बोकाएर पठाउने के छ तपाईंहरुसँग ?’

अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि हवाइजहाजले मान्छे मात्रै नबोकेर व्यापार पनि गर्नुपर्ने उनले बताए। ‘यहाँबाट कार्गो हुन सक्छ। कार्गोका निम्ति मालसामान चाहियो। पोखराका जनप्रतिनिधि साथीहरु हुनुहुन्छ, प्लेनले के बोकेर जान्छ? मान्छेमात्रै बोकेर जान्छ कि माल बोकेर जान्छ?,’ उनले भने, ‘माल बोकेर जानुपर्‍यो। माल के छ तपाईंहरुसँग? तपाईंले के माल बोकाएर पठाउनुहुन्छ प्लेनमा? सोच्नुस्।’ उनले प्यासेन्जर फ्लाइटमा मात्रै जहाज नाफामा नजाने बताए।

भने, ‘मान्छेमात्रै बोकेर प्लेन फाइदामा हुँदैन। माल बोक्नुपर्‍यो। के–के उत्पादन गर्नुहुन्छ? टनका टन माल बोकेर जानुपर्‍यो।’

विमानस्थल बनिसकेपछि पोखराका हालका सडक उपयुक्त नहुने, हालकै होटलले व्यापार गर्न नसक्ने बताए। सडकलगायत पूर्वाधार स्तरीय बनाउन तयारी थालिहाल्नुपर्ने आवश्यकता उनले औंल्याए। सडकको कुरा पोखरा विमानस्थलसँग सम्बन्धित भएपनि आफ्नो जिम्मा नभएको उनले जनाए। त्यसका लागि आवश्यक परे आयोजना, प्रदेश र स्थानीतहबीच समन्वय गर्ने संयन्त्र बनाउनपर्ने उनले बताए।

मन्त्री भट्टराईले पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले हरेक दिन अनुगमन भइरहने बताए। उनका अनुसार अध्यागमनले ग्राउन्ड ह्यान्डलिङ, भिसा जाँच, कस्टम लगायतका लागि आवश्यक तयारी गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*