आत्महत्यामा उक्साहट : नयाँ बहसको सुरुवात

अनुसन्धानमा रहेका तीनैजनाको बयान जस्ताको तस्तै
वेलकम खबर
भदौ १०, २०७६

रवि लामिछाने पाँच लाख र युवराज तीन लाख धरौटीमा, अस्मिता साधारण तारेखमा छुटे

जिल्ला अदालतको आदेश

प्रतिवादीमध्येका रवि लामिछाने र युवराज कँडेल न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्ने सञ्चारकर्मी हुन् र प्रस्तुत मुद्दाको विषय उनीहरूले सञ्चालन गर्ने गरेको सो टेलिभिजन कार्यक्रमको विषयवस्तुसँग पनि सम्बन्धित छ । यही मुद्दा अदालतभित्र विचाराधीन रहेको अवस्था हुँदा मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म मुद्दाको विषयवस्तुलाई लिएर अनुसन्धानमा संलग्न प्रहरी, अभियोजनकर्ता सरकारी वकिल, पीडित परिवार, मुद्दाका सम्बद्ध साक्षी, मौकामा बुझिएका अन्य व्यक्ति, प्रमाणको वैज्ञानिक परीक्षणमा संलग्न विशेषज्ञ, चिकित्सक, अदालत र समग्र न्यायिक प्रक्रियाबारे कुनै पनि विषयवस्तु समावेश गरी संकलित प्रमाणको विश्वसनीयतामा अन्यथा असर पुर्‍याउने उद्देश्यले अदालतभन्दा बाहिर कुनै पनि सार्वजनिक कार्यक्रम गर्न, टेलिभिजन कार्यक्रम प्रसारण गर्न, फेसबुक लाइभ, ट्विटर, युट्युबलगायत सामाजिक सञ्जाल वा अन्य सार्वजनिक सञ्चारमाध्यमबाट विचार वा प्रतिक्रिया स्वदेश वा विदेशबाट व्यक्त गर्न, गराउन नपाइने आदेश हुन्छ ।

त्यस्तै, औषधोपचारका लागि विदेश जानुपरेको अवस्थामा चितवन जिल्ला अदालतको लिखित पूर्वअनुमति लिएर मात्र जान पाउने गरी लामिछाने र कँडेललाई सर्तसहित क्रमशः नगद पाँच लाख रुपैयाँ र तीन लाख रुपैयाँ धरौटी वा सोबराबरको जायजमानत वा विनाकुनै सर्तको बैंक ग्यारेन्टी लिएर मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ६८ बमोजिम उल्लिखित सर्तसहितको कागज गराउनू ।

आदेशमा अदालतको तर्क
१. मृतकले जुनसुकै अवस्थामा गरेको घोषणालाई प्रमाणका रूपमा लिनुपर्ने होइन, मृतकले मर्न लागेको अवस्थामा मृत्युको बारेमा व्यक्त गरेको भनाइलाई मात्र प्रमाणका रूपमा लिन सकिन्छ । तर, शालिकराम पुडासैनीले भिडियो रेकर्ड गरेको कति समयपछि डोरीमा झुन्डिएर आत्महत्या गरेका हुन् भन्ने यकिन छैन, किनकि भिडियो रेकर्ड गर्दा उनले भित्री वस्त्र लगाएका छन् भने झुन्डिँदा उनले सर्ट–पाइन्ट लगाएका छन् । त्यसैले उनको भिडियोलाई मृत्युकालीन घोषणा मान्ने कि नमान्ने भनेर निश्चित गर्न थप अनुसन्धान आवश्यक छ ।

२. प्रतिवादी रवि लामिछाने र युवराज कँडेलले शालिकराम पुडासैनीसँग संवाद गरेको कलडिटेलबाट देखिन्छ । तर, एउटै टेलिभिजनमा, एउटै कार्यक्रममा सँगै काम गरेका उनीहरूबीचको संवाद स्वाभाविक हो कि अवाञ्छित हो भनेर यकिन गर्न भ्वाइस रेकर्ड नै आवश्यक पर्छ । त्यस्तै, अस्मिता र शालिकरामबीच प्रेम सम्बन्ध भएको भनेर दुवै पक्षबाट पुष्टि भएकाले उनीहरूबीच पटक–पटक फोन संवाद हुनु अस्वाभाविक मान्न सकिएन । ती फोन संवादमा खास के–कस्तो विषय थियो भन्ने यकिन गर्न थप अनुसन्धान आवश्यक छ ।

३. शालिकरामको विवाहइतर प्रेम सम्बन्ध थाहा पाई प्रतिवादी रवि र युवराजले टेलिभिजन कार्यक्रमबाट प्रसारण गरिदिने हुन् कि भन्ने भय र त्रासले तथा आफ्नो घरपरिवार र स्वजनको इज्जत–प्रतिष्ठामा आँच आउने दुःखदायी परिस्थितिको कल्पना गरेर शालिकरामले आत्महत्या गरेका हुन् भने उनलाई त्यस्तो मनोदशामा पु¥याउन प्रतिवादीहरूले भूमिका खेलेका हुन् भन्ने स्पष्ट खुलेको छैन, तर सँगै काम गरेर छुट्टिएका उनीहरूबीचमा आग्रह, पूर्वाग्रह, दुराग्रह, वैमनस्यता, प्रतिशोध थिएन भन्न सकिँदैन । त्यस्तै, शालिकरामको विवाहइतर सम्बन्ध पनि थाहा पाएकोले उनीहरूले धम्की वा त्रास देखाएनन् होला र शालिकरामलाई आत्महत्या गर्न दुष्प्रेरित गरेनन् होला भनेर ठहर गर्न सकिँदैन ।

अनुसन्धानमा रहेका तीनैजनाको बयान जस्ताको तस्तै

अस्मिताको बयान : शालिकरामलाई सम्झाइदेलान् भनेर मैले हाम्रो कुराकानीको स्क्रिनसट दिएकी हुँ, तर रवि, युवराज र अनिलले हतोत्साही गराएकाले शालिकरामले आत्महत्या गरेको हुनुपर्छ

करिब एक वर्षपहिले फेसबुकमार्फत शालिकराम पुडासैनीसँग चिनजान भएपछि हामीबीच मायाप्रेम बसेकाले फोन तथा म्यासेजमार्फत अन्तरंग कुरा हुन्थ्यो । शालिकराम अलि शंकालु स्वभावका थिए, जसका कारण वेलावेला मसँग झगडा गर्थे र तिमीले मलाई छाडेमा तिम्रो र मेरोबीच भएका कुराकानीका म्यासेजहरू सार्वजनिक गरी तिम्रो बेइज्जत गरिदिन्छु र म पनि विष खाएर मरिदिन्छु भनी मलाई दुःख दिने गर्थे ।

वारदातभन्दा करिब सात–आठ दिनपहिले मैले उनी पहिले नै विवाहित हुन् भन्ने थाहा पाएँ । झुठो बोलिरहेका छन् भन्ने प्रस्ट भएपछि तिमीले मलाई फसायौ भनी गाली गरेँ । मेरो पिछा गर्न छाडिदेउ पनि भनेँ । तर, मलाई पटक–पटक फोन गरी, बाटोसमेत छेकी दुःख र हैरानी दिन नछोडेकाले मैले सो कुराको जानकारी उनले पहिले काम गर्ने न्युज २४ टिभीको ‘सीधा कुरा जनतासँग’ भन्ने कार्यक्रममा काम गर्ने रवि लामिछाने, युवराज कँडेलसमेतलाई भनेमा उनीहरूले शालिकरामलाई मेरो पिछा गर्नबाट छुटाइदेलान् भन्ने सोचेँ ।

त्यसैले घटना हुनुभन्दा चार–पाँच दिनपहिले सो टेलिभिजनका क्यामेराम्यान अनिल ढुंगेललाई फोन तथा म्यासेज गरेर भेटी रवि लामिछानेसमेतलाई सो कुराको जानकारी गराइदिनु भनी म र मृतक शालिकरामबीच भएका म्यासेजहरूका केही स्क्रिन सर्टहरूसमेत दिएकी थिएँ । उनैले भनेअनुसार मैले न्युज २४ को कार्यालयअगाडि उभिएको फोटो खिची शालिकराम पुडासैनीलाई पठाएकी थिएँ, सो विषयमा अनिल ढुंगेलले रवि लामिछाने, युवराज कँडेलसमेतलाई जानकारी गराएको भनेका थिए । पछि, अनिल ढुंगेलले आफूले मृतक शालिकराम पुडासैनीलाई फोन गरी केही कुरा गरेकोसमेत भनेका थिए । मैले केही म्यासेजका स्क्रिन सटहरू मृतकका फेसबुक साथीहरू कृष्ण थापा, प्रतिमा देवकोटा, बेविका भण्डारीसमेतलाई म्यासेजमार्फत पठाएकी थिएँ । सोपश्चात् पनि शालिकराम पुडासैनीले मलाई पटक–पटक फोन गरिरहेका थिए, तर मैले उनको फोन वास्ता गरिनँ । गत २० साउन राति करिब १२ः३० बजेतिर अनिल ढुंगेलले मलाई फोन तथा म्यासेज गरी शालिकराम पुडासैनीसँग कुराकानी भएका कुनै पनि म्यासेजहरू डिलिट नगर्नु भनेका थिए ।

भोलिपल्ट बिहानको सिफ्टको ड्युटीमै हुँदा शालिकरामको मृत्युको बारेमा सुनी थाहा पाएकी थिएँ । पछि करिब १४ः३० बजेतिर न्युज २४ टिभीका अनिल ढुंगेल र दीपक बोहरासमेतले मलाई पटक–पटक फोन गरी भेट्न र पाँच मिनेटको भए पनि भिडियो बनाइदिन भनिरहेका थिए, तर म भेट्न गइनँ, भेट भएन । मृतकको मोबाइलबाट बरामद भिडियोहरू हेरेँ, सुनेँ । उक्त भिडियोमा मृतकले अस्मिता भन्ने रुकु कार्कीसँग रवि लामिछाने र युवराज कँडेलसमेत मिली योजना बनाई जालझेल गरी मलाई आत्महत्या गर्ने बाध्यात्मक स्थितिको सिर्जना गरेकाले आफूले आत्महत्या गरेको भनेका रहेछन् ।

तर, मैले उनलाई यसरी आत्महत्या गर्नेसम्मको कुनै कार्य गरेकी छैन । उनले मलाई झुटो आश्वासन दिई प्रेममा पारी फसाएको र वास्तविकता थाहा पाई मलाई पिछा गर्न छाडिदेऊ भन्दासमेत नमानेकाले उनलाई सम्झाइदेलान् भन्ने मनसायले मैले रवि लामिछानेसमेतलाई भनिदिनु भनी न्युज २४ टिभीका क्यामेराम्यान अनिल ढुंगेलसमेतलाई केही म्यासेजका स्क्रिनसटहरू दिएको हुँ । अनिल ढुंगेल, युवराज कँडेल, रवि लामिछाने सो सम्बन्धमा सल्लाह गरी योजना बनाई शालिकराम पुडासैनी हतोत्साही हुने किसिमले ब्ल्याकमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ । सोही कारणबाट शालिकरामले आत्महत्या गरेको हुनुपर्छ भन्नेसमेत व्यहोराको अस्मिता भन्ने रुकु कार्कीको कागजी बयान ।

रविको बयान : प्रेमिकाले रवि लामिछानेमार्फत तिम्रो कुरा सबै सार्वजनिक गरिदिन्छु भनेकीले त्यसैलाई साँचो ठानी मसँग समेत चित्त दुखाई मेरो नाम लिएर शालिकरामले आत्महत्या गरेको हुनुपर्छ

शालिकराम करिब डेढ वर्षपहिले दुई–तीनवटा सान्दर्भिक सूचना ल्याई हाम्रो कार्यालयमा आएका थिए । सोही क्रममा चिनजान भई उनले राम्रो सूचना ल्याउन सक्ने सोची म र दीपक बोहराले सिफारिस गरी उनलाई न्युज २४ मा रिपोर्टरका रूपमा काममा राखेका थियौँ । उनले पाउने सेवासुविधाबारे मलाई केही थाहा थिएन, काममा निकै मिहिनेत गरी खटिने र राम्रो–राम्रो सूचना ल्याउने गर्थे । शालिकरामले कम्प्युटर चलाउन नजान्ने भएकाले उनले ल्याएका सूचनाहरूलाई युवराज कँडेलले पूरा गरी समाचार बनाई मलाई दिन्थेँ । उनीबारे अन्य केही पनि जानकारी थिएन । करिब दुई महिनापहिले उनले ‘मैले माउन्टेन टिभीमा एक लाख तलब पाउने गरी मार्केटिङको काम पाएँ अब न्युज २४ छाडेँ’ भनेका थिए । पछि, उनले उक्त टिभीमा ‘मिसन न्युज’ भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाहा पाउँदा उनले मलाई किन ढाँटे होलान् भन्ने लागेको थियो । वारदातको दुई–तीन दिनपहिले हाम्रो क्यामेराम्यान अनिल ढुंगेलले हामी सबै कर्मचारीहरू सँगै भएको वेला शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमिकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेको सुनेको थिएँ  । २० साउनमा मेरो कार्यक्रम नभएकाले चाँडै सुतेँ । भोलिपल्ट बिहान ब्युँझिई मोबाइल हेर्दा शालिकराम पुडासैनीको मृत्यु सम्बन्धका म्यासेजहरू राति नै आइसकेका रहेछन् ।

मर्नुअघि बनाएका दुईवटा भिडियोहरू हेर्दा उनले आफूलाई रवि लामिछानेसमेतले मर्न बाध्य बनाएकाले आत्महत्या गरेको भनेका रहेछन् । सो कुरा उनले के–कति कारणले भने मलाई थाहा छैन, तर उनले आफ्नी श्रीमती हुँदाहुँदै अस्मितालाई झुठो बोली प्रेम गरेको र पछि प्रेमिकाले सबै कुरा थाहा पाई उनीबाट टाढिन खोजेको बुझिन्छ । त्यसैले अस्मितालाई अनेक दुःख दिने, बाटो छेक्ने, मरिदिन्छु भनी डर देखाउनेजस्ता कार्यहरू गर्ने गरेको पनि बुझिन्छ । त्यसैले अस्मिताले ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा गई रवि लामिछानेसमेतलाई भनी तिम्रो बारेमा सबै सार्वजनिक गरिदिन्छु भनेको कारणले सोही कुरालाई उनले साँचो ठानी मसँग समेत चित्त दुखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ । मैले उनीविरुद्ध कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुन सक्छ । मृतकले मलाई अत्यधिक सम्मान गर्ने हुँदा उनीविरुद्ध कार्यक्रम बनाउने भन्ने भ्रामक कुरा हो । तर, त्यही कुराले उनको मन दुःखेको हुन सक्छ र ममाथि आरोप लगाएका हुन सक्छन् । तर, मैले उनलाई आत्महत्या गर्नेसम्मको दुःख दिएको छैन र दिनुपर्ने कुनै कारण पनि छैन । मृतकको प्रेमिका भनेकी अस्मिता भन्ने रुकु कार्कीसँग देखभेट भएको थिएन । प्रहरीद्वारा पक्राउ परेपश्चात् मात्र देखेचिनेको हुँ भन्नेसमेत व्यहोराको रवि लामिछानेको बयान कागज ।

युवराजको बयान :  शालिकरामले सूचना र टिपोट ल्याउँथे, मैले समाचार बनाई कार्यक्रम प्रस्तोता रविलाई दिन्थेँ, शालिकरामलाई दुःख दिएको छैन

न्युज २४ मा रवि लामिछानेले प्रस्तुत गर्ने सीधा कुरा जनतासँग भन्ने कार्यक्रमको रिपोर्टरका रूपमा कार्यरत छु । मृतक शालिकराम पुडासैनीले करिब डेढ वर्षपहिले कुनै सरकारी कार्यालयको बेथितिबारे समाचार ल्याई हाम्रो कार्यक्रममा आएका थिए । उनले ल्याएको सूचना राम्रो लागी कार्यक्रमका प्रोड्युसर दीपक बोहरा र रवि लामिछानेको सिफारिसमा उनलाई रिपोर्टरका रूपमा हामीसँगै काम गर्ने गरी आबद्ध बनाउने क्रममा उनलाई चिनेको हुँ । उनले करिब डेढ वर्ष हामीसँगै काम गरे । उनले ल्याएका विभिन्न सूचनालाई मैले काटछाँट गरी समाचारको रूपरेखा दिई कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई दिने गरेको थिएँ । हामीसँग काम गर्ने क्रममा उनको घर नुवाकोट हो, श्रीमती सम्झना हुन् र उनीहरू नयाँ बसपार्कतिर बस्छन् भन्नेबाहेक अन्य केही पनि थाहा थिएन । उनीसँगको हाम्रो सम्बन्ध राम्रै थियो । करिब डेढ महिनापहिले माउन्टेन टेलिभिजनमा राम्रो तलब पाएकाले शालिकरामले न्युज २४ टिभी छोडी गएको भन्ने रवि लामिछानेबाट थाहा पाएको हुँ । सोपश्चात् उनीसँग मेरो फोन तथा सामाजिक सञ्जालसमेतबाट कुनै सम्पर्क तथा कुराकानी भएन । वारदातभन्दा करिब दुई–तीन दिनपहिले दीपक बोहरा, रवि लामिछाने र मलगायत न्युज २४ का अन्य कर्मचारीहरूसमेत भएको वेला क्यामेराम्यान अनिल ढुंगेलले शालिकरामको प्रेमिकासँग सम्बन्ध बिग्रिएकाले गुनासो गर्दै थिइन् भनेकाले त्यस्तो छ भने प्रहरीकोमा जान भन्दिनु भनी दीपक बोहराले भनेका थिए ।

२० साउन रातको करिब २३ः३० बजे म आफ्नै डेराकोठामा थिएँ, सहकर्मी रिया भण्डारीले फोन गरी शालिकराम पुडासैनी चितवनको एक होटेलमा झुन्डिएको अवस्थामा फेला परेको भनेर जानकारी गराएकीले मैले पूर्वसहकर्मीको नाताले घटनाबारे रवि लामिछाने र दीपक बोहरालाई जानकारी गराएको थिएँ । शालिकराम पुडासैनीले मर्नुअघि रवि लामिछाने, मेरो र आफ्नी प्रेमिका अस्मिताको नाम लिएको छ भन्ने विभिन्न समाचारहरूबाट थाहा पाएको थिएँ । पछि, अनुसन्धानका क्रममा प्रहरीद्वारा पक्राउ गरी शालिकरामको मोबाइलबाट बरामद भएका दुईवटा भिडियोहरूसमेत हेरी सो सम्बन्धमा थप जानकारी भयो । उनले सो भिडियोमा भनेजस्तो मैले उनलाई कुनै दुःख दिएको छैन । उनले ल्याएका समाचारका टिपोटहरूलाई कहिलेकाहीँ निकाल्ने र थप्ने हुन्थ्यो । सोही कुरामा उनले मसँग चित्त दुखाएको हुनुपर्छ । सोबाहेक अन्य केही कारण छैन भन्नेसमेत व्यहोराको युवराज कँडेलको बयान कागज ।

रविका अधिवक्ता भन्छन्– आदेशको सम्मान गर्छाैँ, तर उच्च अदालत जान्छौँ

यसरी भयो अदालतमा बहस 
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले नेपालको न्याय क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको छ । नयाँ मुलुकी संहिता जारी भएको एक वर्षमा एक सय ३२ यस्ता घटनामा परिवारका सदस्य, प्रेमी–प्रेमिका तथा साथीभाइलाई नै आरोपी बनाएर मुद्दा चलाइएको थियो । तर, पत्रकार पुडासैनीको आत्महत्यापछि रवि लामिछानेसहित तीनजना पक्राउ परेपछि जनप्रदर्शन भएको छ । यसले सो कानुनमाथि नयाँ बहस सिर्जना गरेको छ । रवि पक्षका कानुन व्यवसायीले मृतकले आत्महत्याअघि नाम लिएको भरमा कसैमाथि मुद्दा चलाउन नमिल्ने जिकिर गरेका छन् । तर, अदालतले रविलाई पाँच लाख, उनका सहयोगी युवराज कँडेललाई तीन लाख धरौटीमा छोडेपछि उनी पक्षका अधिवक्ताले उच्च अदालतमा जाने स्पष्ट पारेका छन् । ‘हामी जिल्ला अदालत चितवनको आदेशलाई सम्मान गर्छौँ, तर न्यायको माग गर्दै उच्च अदालत जान्छौँ, मृतकले नाम लिएकै भरमा हाम्रो पक्षलाई धरौटीमा छाडेर मुद्दा चलाउन मिल्दैन,’ वरिष्ठ अधिवक्ता सुशील पन्तले भने ।

तर, अदालतको आदेशअगाडि जिल्ला अदालत चितवनमा गरमागरम बहस भएको थियो । रविसहित तीनजनालाई पक्राउ गरेको १० दिनपछि प्रहरीले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्नासाथ आइतबार र सोमबार अदालतले अभियुक्तहरूसँग बयान लिएको थियो । बयान सकिनासाथ दुवै पक्षका वकिलले गरमागरम बहस गरेका थिए । न्यायाधीश हेमन्त रावलको इजलासमा रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र सुनील पोखरेल, अस्मिता कार्कीको तर्फबाट मनीषा श्रेष्ठ र उषा गिरी तथा शालिकराम पुडासैनीको परिवारका तर्फबाट सरकारी वकिलहरू यदु शर्मा, प्रकाश श्रेष्ठ तथा अधिवक्ता स्वागत नेपालले बहस गरेका थिए ।

न्यायाधीश हेमन्त रावलले प्रहरीको अनुसन्धानमाथि उठाए ३ प्रश्न
१. आत्महत्याअघि शालिकराम पुडासैनीले रेकर्ड गराएको भिडियोको अन्त्यमा आमाबाबु, आफन्तलाई प्रणाम गर्दै दुई हात जोडेको देखियो । दुवै हात जोडेर सेल्फी खिच्न कसरी सम्भव छ ? उनी एक्लै थिए भन्ने कसरी पुष्टि हुन्छ ?
२. मृतकले आत्महत्या गर्छु भनेर घोषणा गर्नु र आत्महत्या गर्नुमा समयको अन्तर कति हो ? उनले कपडासमेत फेरेको देख्दा समयको अन्तर धेरै देखिन्छ । आत्महत्या आवेगमा गर्ने हो, त्यति लामो समयसम्म उनको मन बदलिएन भनेर कसरी मान्ने ?
३. मृतकले खिचेको भिडियो अदालतमा आउनुभन्दा अघि मिडियामा कसरी पुग्यो ?

अधिवक्ता स्वागत नेपालले भने, ‘मिसिल हेरेर श्रीमान्को आदेश आउनुपर्छ, झ्यालबाहिरको जुलुस हेरेर होइन 

फेसबुकको कमेन्ट पढेर होइन ।’ श्रीमान्बाट गम्भीर प्रश्नको उठान भएको छ, त्यसको सम्मान गर्दै म आफ्नो तर्क प्रस्तुत गर्दछु । शालिकरामले खिचेको भिडियोमा उनले समग्र विषय राख्दा अनुहार मात्र देखिन्छ, तर अन्त्यमा उनले नमस्कार गर्दा मोबाइल टाढा अड्याएका छन् । त्यसबीचमा मोबाइल हल्लिएको छ । मोबाइलको फ्रेम पनि फराकिलो भएको छ । त्यसैले मोबाइल हातमा नराखी सेल्फी खिच्नु कुनै अनौठो होइन । यस्ता भिडियो मैले धेरैपटक बनाएको छु । त्यो अहिले पनि म गरेर देखाउन सक्छु । त्यसैले श्रीमान्ले आफ्नै अगाडि प्रस्तुत भएको मिसिलमा समावेश भिडियो हेरेर धारणा बनाउनुपर्छ । मिसिल हेरेर श्रीमान्को आदेश आउनुपर्छ, झ्यालबाहिरको जुलुस हेरेर होइन । फेसबुकको कमेन्ट पढेर होइन । (अधिवक्ता नेपालको यो टिप्पणीपछि इजलासमा केही तनाव भएको थियो । तर, केही सवालजवाफपछि बहस फेरि जारी रह्यो ।)

मृतकले आत्महत्या गर्छु भनेर भिडियोमा घोषणा गर्नु र आत्महत्या गर्नुको समयमा पक्कै पनि अन्तर छ । किनकि, भिडियोमा उनले सेन्डो लगाएका छन्, आत्महत्या गर्दा सर्ट–पाइन्ट नै । योबीचमा उनको मनस्थिति बदलिन सक्थ्यो भन्ने श्रीमान्को जिज्ञासालाई म सम्मान गर्न चाहन्छु । तर, म के स्मरण गराउन चाहन्छु भने स्वीट्जरल्यान्ड भनेको ‘सुसाइड टुरिजम’मा पनि चर्चित देश हो । अमेरिकाबाट मान्छेले म अब आत्महत्या गर्न जान्छु भन्छ, स्वीट्जरल्यान्ड आउँछ र आत्महत्या गर्छ । त्यत्रो यात्रामा पनि उसको मन किन बदलिन्न ? अझ सर्वोच्चका पूर्वन्यायाधीश भरत उप्रेतीको आत्महत्या पनि एकै प्रयासमा भएको होइन । त्यसैले शालिकरामले बीचमा जति समय बिताएको भए पनि आत्महत्या गर्न नसक्ने कुनै कारण छैन ।

घटनास्थलमा बरामद भएको मोबाइलबाट भिडियो ल्यापटपमा कपी गर्दा कुनै चतुर विज्ञले आफ्नो साधनमा पनि सारेको हुन सक्छ । तर, त्यही माध्यमबाट मिडियामा पुगेको हुनसक्छ । प्रहरीले गलत नियतले भिडियो सार्वजनिक गरेको हो भने विभागीय कारबाही हुन सक्छ । तर, मिडियामा भिडियो पुगेको कारणले अनुसन्धान प्रभावित हुनुहुँदैन । मिडियाले जुनसुकै स्रोतबाट पाए पनि सूचना वा भिडियो सामग्री प्रकाशन÷प्रसारण गर्न सक्छ । त्यो उसको जिम्मेवारी हो । हाम्रो सम्पूर्ण ध्यान मिडियामा भिडियो कसरी पुग्यो भन्नेमा होइन, शालिकरामले किन आत्महत्या गरे, उनको ज्यान किन गयो भन्नेमा केन्द्रित हुन जरुरी छ ।नयाँपत्रिका दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*