सुकेटारमा नियमित उडानका लागि काेशिस गरिरहेकाे छु : मन्त्री भट्टराई
ताप्लेजुङ । मन्त्री भएर पहिलाे पटक गृह जिल्ला अाईपुगेका सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलबाट बाह्रै महिना उडानका लागि प्रयासरत रहेको बताएका छन्।
मन्त्री भट्टराईले बिहीबार बिहान विमानस्थलको निरीक्षण गर्दै नियमित उडानका लागि विमानस्थलको सुधार तथा स्तरोन्नती गरिने बताए। विमानस्थलको दुबै भागबाट विमान अवतरण गर्न सक्ने गरि स्तरोन्नती गर्ने र मौसम सफा नहुँदासमेत उडान गर्न सकिने गरी उपकरण जडान गर्ने उनको भनाई छ।
तराईका केही विमानस्थलमा यस्ता उपकरण जडानको तयारी भइरहेको र यसलाई अन्य क्षेत्रमा समेत विस्तार गर्दै लगिने मन्त्री भट्टराईले बताए। मौसम खराबीकै कारण सुकेटार विमानस्थलमा हरेक वर्षको असारदेखि झण्डै असोजसम्म नै उडान अवरुद्ध हुने गरेको छ। नेपाल वायु सेवा निगमले उडान गर्दै आएको यस विमानस्थलमा गएको असारदेखि मौसम खराबीकै कारण उडान अवरुद्ध छ।



















