झापा पाथीभरा गोल्डकपको सेमिफाईनलमा

ताप्ले्जुङ । साविक विजेता रेडस्टार फुटबल क्लब झापा ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्र्तगत मंगलबारको खेलमा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोल अन्तरले पराजित गर्दै झापाले सेमिफाईनलमा डाँगीहाट क्लब मोरङ संगको भेट पक्का गरेको हो ।
खेलको दोश्रो हाफको छैटौँ मिनेटमा योगेश गुरुङले गरेको गोल नै सेमिफाईनल प्रवेशका लागि प्रयाप्त बन्यो । गुरुङले फ्री किक मार्फत सुन्दर गोल गरेका थिए । रेडस्टार झापाले भदौ ५ गते मोरङको डाँगीहाट संग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । मंगलबारको खेलमा रेडस्टारका गोल किपर विवस चौधरी म्यान अफ दि म्याच घोषित भएका छन् । उनले नगद ५ हजार प्राप्त गरे ।
यस अघि सुनसरीको एलाभेन एरोज, ईलामको रेडहर्ष र मोरङको डाँगीहाट समेत सेमिफाईनलमा प्रवेश गरि सकेका छन् । थ्रीस्टारका ४, दाउफिन्सका ३, मनाङ मस्याङ्दीका १ सहित ए डिभिजनका खेलाडीलाई मैदानमा उतारेको गोर्खाले केहि सुन्दर अवशर प्राप्त गरेपनि गोल गर्न सकेन् ।
यता रेडस्टारले पनि झापा ११ का ५ जना खेलाडीलाई टिममा समावेश गरेको थियो । बुधबार हुने सेमिफाईनलको पहिलो खेलमा दिउँसो २ बजे रेडहर्ष ईलाम र एलाभेन एरोजबीच फाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफि प्रदान गरिने छ । उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफि दिईने छ । सदरमुकाम फुङलिङ स्थित भानुजन माविको खेल मैदानमा भईरहेको प्रतियोगिताको फाईनल खेल भदौ ६ गते हुने छ ।