निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी नजुटे सरकारले बनाउछ : पर्यटनमन्त्री भट्टराई

वेलकम खबर
साउन २८, २०७६

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय लगानी नजुटेको खण्डमा निजगढ विमानस्थलको निर्माण गर्न सरकारले लगानी गर्ने बताएका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबार बसेको बैठकमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माणकार्य अगाडि बढाउने बताए । लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफलपछि थप निर्णय लिने उनको भनाई थियो । बैदेशिक लगानी नआए पनि चिन्तित हुनपर्ने अवस्था नरहेको उनले बताए ।

आगामी मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यास गर्ने घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सम्पन्न गरेर शिलान्यास गरिने सरकारको योजना रहेको उल्लेख गरे । समितिमा बोल्दै मन्त्री भट्टराईले सरकारले बनाउनु पर्ने अवस्था आए नेपाली प्राविधिकहरुले बनाउने जानकारी दिए । नेपाली प्राविधिकहरु पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले कर्मचारीहरुलाई विश्वास गर्नुपर्ने बताए ।

उनले विमानस्थल बनाउँदा १ हजार ९ सय हेक्टरभित्र आधारभूत संरचना बन्ने जानकारी दिए । त्यस क्षेत्रमा वृक्षारोपणको कामलाई महत्वका साथ अघि बढाउने उनले जनाए । विमानस्थल निर्माण गर्दा रुख काट्नुअघि वृक्षारोपण गर्ने सरकारको तयारी रहेको छ । निजगढ विमानस्थल निर्माण कार्यमा करिब ६ लाख रुख काटिने प्रतिवेदनमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*