नेपाल क्रिकेट संघ प्रदेश १ को अध्यक्षमा शेर्पा निर्वाचित

काठमाडाैँ । प्रदेश १ को प्रादेशिक क्रिकेट संघको अध्यक्षमा मिङमा डण्डु शेर्पा निर्वाचित भएका छन ।
आज(शनिबार) सम्पन्न प्रादेशिक क्रिकेट संघको विशेष साधारण सभाले मिङमा डण्डु शेर्पाको नेतृत्वमा १३ सदस्यीय संघ निर्वाचित गरेको छ ।
निर्वाचित हुनेमा अध्यक्ष मिङमा डण्डु शेर्पा, उपाध्यक्ष नबीन घिमिरे, सचीव मनोज कटुवाल, कोषाध्यक्ष बिरु श्रेष्ठ रहेका छन ।
अध्यक्ष शेर्पा यसअघि मध्यमाञ्चल क्रिकेट बिकास समितिका सदस्य रहिसकेका छन् भने, पोखरा प्रिमियर लिगमा सहभागी चितवन राइनोजका म्यानेजिङ डाइरेक्टर समेत हुन् ।
नव निर्वाचित अध्यक्ष शेर्पाले लुम्बिनी भ्वाइससँग भने, ‘प्रदेश १ मा क्रिकेटको विस्तार र विकासका लागि मेरो नेतृत्वको टोलीले भरपुर काम गर्नेछ । यस क्षेत्रमा रहेका संभावित जिल्लाहरुमा हामी क्रिकेट संघसँग थप जिल्लाहरुलाई आवद्ध गराउने छाैं । अहिले प्रदेश १ मा ५ जिल्लामा मात्रै क्रिकेट संघमा जोडिएका छन् । मेरो कार्यकाल भरमा सम्पूर्ण प्राविधिक कामका साथै क्रिकेट विकासका लागि थप पहल गर्नेछु ।’
प्रदेश नं १ अन्तर्गत नेपाल क्रिकेट संघका उदयपुर,इलाम,सुनसरी, मोरङ र झापा गरी पाँच जिल्ला क्रिकेट संघ रहेका छन् ।
अध्यक्ष शेर्पा प्रदेश १ अन्तर्गत रहेको जिल्ला ताप्लेजुङका स्थायी बासिन्दा हुन भने उनी सामाजिक अभियान्ता समेत हुन् । उनले ताप्लेजुङको विकट हिमाली क्षेत्र घुंसामा विद्यालय, अस्पताल, विद्युत, संचार लगायतका थुप्रै क्षेत्रमा काम गर्दै आएका छन् ।
विश्वको तेश्रो र नेपालको दोश्रो अग्लो हिमाल कञ्चनजंघा मूख्य क्याम्पको रुपमा चिनिने घुंसामा केहि समय पहिले मात्रै नेपाल टेलिकमको नमस्ते मोबाइल सेवा जोड्न सफल भएका थिए । शेर्पा बाहुल्यता रहेको उक्त क्षेत्रमा विद्यालय भएपनि शिक्षक तथा भाैतिक पूर्वाधारको कमीका कारण पढ्न लेख्न आफ्ना वच्चावच्ची बाहिर पठाउनु पर्ने बाध्यता थियो । तर, शेर्पाको पहलमा अहिले विद्यालयमा आवासिय सुविधासहितको सेवा उपलब्ध हुँदै आएको छ ।
अध्यक्ष शेर्पा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश १ कमिटि सदस्य हुन भने पूर्व माओवादी केन्द्र निकट वाइसिएल नेपालका केन्द्रिय सचिव समेत हुन् ।