नेकपाको दस्ताबेज भन्छ– कांग्रेस दलाल पुँजीपतिको प्रतिनिधि

तर, राष्ट्रियता र समृद्धिको मुद्दामा सहकार्य गर्न सकिन्छ
वेलकम खबर
साउन २१, २०७६

सत्तारुढ नेकपाले समाजवाद आधार तयारीका लागि दलाल पुँजीवाद र राष्ट्रिय औद्योगिक पुँजीको विकासमा अवरोध गर्ने वर्ग र शक्तिहरूसँग पार्टीको मुख्य अन्तरविरोध रहेको निष्कर्ष निकालेको छ । उसले प्रमुख प्रतिपक्षी कांग्रेसलाई दलाल पुँजीपतिहरूको प्रतिनिधि भनेको छ ।

दुईतिहाइ बहुमतसहितको सरकारको नेतृत्व गरिरहेको नेकपाले पार्टी एकतापछि पारित गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई दलाल तथा नोकरशाही पुँजीपतिहरूको प्रतिनिधि भने पनि ऊसँग प्रतिपस्र्धा मात्रै नहुने पनि उल्लेख गरेको छ । कांग्रेससँग सामन्तवादविरोधी आन्दोलनमा सहकार्य गरेको स्मरण गर्दै नेकपाले राष्ट्रियता र समृद्धिको मुद्दामा सहकार्य गर्न सकिने लेखेको छ ।

‘विगतमा हामीले सामन्तवादविरुद्धको संघर्षमा पटक–पटक नेपाली कांगे्रससँग सहकार्य गरेका छौँ र भविष्यमा पनि संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा र समृद्धिको सवालमा जति हदसम्म ऊ तयार रहन्छ, त्यति हदसम्म सहकार्य गर्ने नीति लिइनेछ,’ नेकपाले दस्ताबेजमा भनेको छ, ‘तर, वर्गीय, वैचारिक र राजनीतिक रूपमा कम्युनिस्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति भने नेपाली कांग्रेस नै हो ।’

मुख्य अन्तरविरोधबारे दस्ताबेजमा सविस्तार चर्चा गरिएको छ । हालै प्रकाशित राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘नेपाली समाजमा दलाल तथा नोकरशाही पुँजीवादले उत्पादक शक्तिको विकास र अन्ततः उत्पादन र समृद्धिमा अवरोध उत्पन्न गरिरहेको छ । यतिवेला नेपाली जनताको विकास, प्रगति र समृद्धिको तीव्र आकांक्षाको सम्बोधन मुख्य आवश्यकता हो । यो आवश्यकता र अविकसित, पीछडिएको र विपन्न अवस्थाबीच ठूलो अन्तरविरोध छ । तसर्थ, राष्ट्रिय औद्योगिक पुँजीको विकास र समृद्धिको बाटोमा अवरोध उत्पन्न गर्ने वर्ग, शक्ति, प्रवृत्ति र तत्वहरुसँग  नेपाली जनताको मुख्य अन्तरविरोध रहेको छ ।’

दलाल नोकरशाही पुँजीवादी  र सामन्तवादका अवशेषहरू नै राष्ट्रिय औद्योगिक पुँजीको विकासमा अवरोधका रूपमा देखिएको नेकपाको निष्कर्ष छ । राज्यको नेतृत्वदायी भूमिका र प्रभावकारी ढंगले सुशासनको कार्यान्वयनद्वारा दलाल पुँजीको नियन्त्रण र रूपान्तरण गर्दै राष्ट्रिय पुँजी र उत्पादक शक्तिको विकास नगरी उत्पादन वृद्धि र समृद्धिको दिशामा देशलाई लैजान नसकिने उसको ठोकुवा छ ।

त्यस्तै, जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण, उत्पादक शक्तिको विकास, राष्ट्रिय पुँजीको विकास, आर्थिक क्रान्ति र समृद्धि तात्कालिक मूल दिशा र कार्यभार हुने दस्ताबेजमा उल्लेख छ । अहिलेको अवस्थामा भूमण्डलीकृत साम्राज्यवादसँग एक हदसम्म नबुझी र अर्थतन्त्रलाई समाजवादउन्मुख नबनाई राष्ट्रिय पुँजीको विकास गर्न नसकिने नेकपाको दाबी छ । उसले समाजवादउन्मुख राष्ट्रिय पुँजीको विकास र सामाजिक न्यायसहितको समृद्धि अबको राजनीतिक कार्यभार र लक्ष्य हुने दस्ताबेजमा उल्लेख गरेको छ । नेकपाले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा गर्ने र चुनावी बाटोबाट सरकार चलाउँदै श्रमजीवी वर्गको हितमा काम गर्ने बाटो अख्तियार गरिने पनि दस्ताबेजमा लेखेको छ ।

नेकपा–दृष्टिमा मुख्य चार पार्टी
कांग्रेस : दलाल तथा नोकरशाही पुँजीपतिको प्रतिनिधि

नेपाली कांग्रेस नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवादविरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिका कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन । यद्यपि, यसले लोकतान्त्रीकरणको प्रक्रिया र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण  योगदान पुर्‍याएको छ ।

नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली कांग्रेसले नै गरेको छ । त्यसैले, अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादसँग यसको घनिष्ट एवम् अन्योन्याश्रित सम्बन्ध छ । यसको नवउदारवादी आर्थिक नीतिको अन्धानुकरणलाई यसै परिप्रेक्ष्यमा बुझ्नुपर्दछ । उसको यही आर्थिक नीतिकै कारणबाट कांग्रेस नेतृत्वको लामो अवधिमा पनि देशमा उत्पादक शक्तिको विकासले गति लिन सकेन र आर्थिक विकास हुन सकेन । नेपाली कांग्रेसको वर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारणबाट उसले लगाउने गरेको ‘प्रजातान्त्रिक समाजवाद’ को नारा औपचारिकता र ढोंगमा परिणत भएको छ ।

उत्पादक शक्तिको विकास, राष्ट्रिय पुँजीको विकास, आर्थिक क्रान्ति र समृद्धि तात्कालिक मूल दिशा र कार्यभार हुने नेकपाको निष्कर्ष

नेपाली कांग्रेस राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा दृढतापूर्वक उभिनसकेको छैन । उसको नेतृत्वमा सरकार हुँदा कैयौँपटक राष्ट्रिय हितविपरीत सन्धि–सम्झौता र राष्ट्रियतामाथि आघात पु¥याउने निर्णय भएका छन् । ००७ सालको दिल्ली सम्झौतादेखि ०७२ सालको नाकाबन्दीसम्मका प्रमुख घटनाहरूमा यसले राष्ट्रिय हित र स्वाधीनताको पक्षमा अडान लिनुको साटो आत्मसमर्पणवादी नीति लिँदै आएको छ ।

राष्ट्रियताको मुद्दामा सम्झौतापरस्त नीति यसको प्रवृत्ति नै बन्न पुगेको छ । नेपालको लोकतान्त्रिक संघर्षको पुरानो पार्टी भएर पनि यो लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रन सकेको छैन । सरकारमा रहँदा यसले पटक–पटक अलोकतान्त्रिक निर्णय र काम गर्ने गरेको छ । भ्रष्टाचारविरुद्ध आफूलाई खडा गर्न नसकेको मात्र होइन, यसले कैयौँ सन्दर्भमा भ्रष्टहरूको संरक्षणसमेत गरेको छ ।

राष्ट्रियता र समृद्धिमा सहकार्य, वर्गीय मुद्दामा प्रतिस्पर्धा 
विगतमा हामीले सामन्तवादविरुद्धको संघर्षमा पटक–पटक नेपाली कांगे्रससँग सहकार्य गरेका छौँ र भविष्यमा पनि संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा र समृद्धिको सवालमा जति हदसम्म ऊ तयार रहन्छ, त्यति हदसम्म सहकार्य गर्ने नीति लिइनेछ । तर, वर्गीय, वैचारिक र राजनीतिक रूपमा कम्युनिस्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति भने नेपाली कांग्रेस नै हो ।

 मधेसकेन्द्रित पार्टी राजपा : अतिवादी
फोरम : तुलनात्मक रूपमा ठीक

पछिल्लो समयमा यसमा मुख्यतः दुई समूह देखापरेका छन् : संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल । कतिपय सवालमा यी दुवै पार्टीको नीति समान देखिए पनि यी दुईमा कतिपय प्रश्नमा भिन्नता छन् । कतिपय वेला ढुलमुल देखिए पनि संघीय समाजवादी फोरम राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा तुलनात्मक रूपमा सही ढंगले उभिने गरेको छ । यसले समाजवादउन्मुख समावेशी लोकतन्त्रलाई पनि सकारात्मक रूपमा आत्मसात गरेको छ । जातीय, भाषिक र संघीयताको सन्दर्भमा यसको सोच र नीतिमा केही संकीर्णता र अतिवाद प्रकट हुने गरेका छन् । यसका त्यस्तो सोच, नीति र कमजोर पक्षको आलोचना गर्दै यससँग सहकार्य गर्न सकिन्छ ।

राजपा नेपाल जातीय, भाषिक र संघीयताको विषयमा अतिवादको पक्षपोषण गर्दछ । यसले मजदुर किसान, गरिब, सर्वहारा श्रमजीवी वर्गको हितको पक्षपोषण गर्दैन, बरु तिनका विरुद्ध उभिने गर्दछ । राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा यसले आत्मसमर्पणवादी नीति अवलम्बन गर्ने गरेको छ । कतिपय वेला यसका विभिन्न नेताहरूबाट बाह्य शक्तिको हित गर्ने र विखण्डनकारी विचार पनि प्रकट हुने गरेका छन् । मूलतः यसले तराई–मधेसको बचे–खुचेको सामन्त र दलाल पुँजीपति वर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्दछ । संविधानको कार्यान्वयन एवम् देश तथा जनताको हितको विषयमा यसले जति हदसम्म आफूलाई प्रस्तुत गर्दछ, त्यति हदसम्म यससँग सहकार्य हुन सक्छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल दुवैलाई राष्ट्रिय राजनीतिको मूलधारमा रहन प्रोत्साहित गर्नुपर्दछ ।

नेकपा विप्लव : उग्रवामपन्थी
अरू साना कम्युनिस्ट संकीर्ण 

नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेमकिपा र अन्य कम्युनिस्ट तथा वामपन्थी समूहहरू पनि राजनीतिमा क्रियाशील छन् । उनीहरूका जडसूत्रीय, संकीर्ण, आत्मकेन्द्रित चिन्तन, नीति र व्यवहारको आलोचना गर्दै उनीहरूलाई एकतामा सामेल गर्ने पहल र प्रयत्न अघि बढाउनुपर्दछ । उनीहरूसँग राष्ट्रियता, लोकतन्त्र, समृद्धि र समाजवादका विषयमा कार्यगत एकता र सहकार्यको नीति लिइनेछ । तर, उनीहरूका गलत नीति र व्यवहारका विरुद्ध सैद्धान्तिक र वैचारिक संघर्ष गर्ने हाम्रो नीति स्पष्ट छ ।

त्यस्तै, नेत्रविक्रम चन्द समूहले उग्रवामपन्थी प्रवृत्तिको प्रतिनिधित्व गरिरहेको छ । नेपाली जनताको बलिदान र संघर्षबाट प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गर्ने संविधानलाई अस्वीकार गर्दै पुनः सशस्त्र संघर्षलाई तत्कालीन कार्यसूची बनाउने वकालत गरिरहेको छ । यो नेपालको आजको आवश्यकता र परिस्थितिसँग पटक्कै मेल नखाने काम हो । यसले ऐतिहासिक परिवर्तनलाई कमजोर पार्ने र यसलाई उल्ट्याउन तथा नेपालमा अस्थिरता उत्पन्न गर्न चाहने विभिन्न शक्ति तथा प्रवृत्तिलाई बल पुर्‍याउने कार्य गर्दछ । यसको मनोगतवादी एवम् उग्रवामपन्थी प्रवृत्तिको कडा आलोचना गर्दै यसलाई राजनीतिको मूलधारमा ल्याउने प्रयत्न गर्नुपर्दछ ।

 राप्रपा : धर्मलाई अस्त्र बनाउने खोजीमा
पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले तीन समूहमा विभाजित छ । यी तीनवटै समूहले मूलतः सामन्तवादी अवशेषको प्रतिनिधित्व गर्दछन् । यिनीहरूले हिन्दूराज्यको नाममा धर्मलाई राजनीतिको अस्त्र बनाउन खोजिरहेका छन् । पछिल्लो निर्वाचनबाट राप्रपाका सबै समूहहरू जनताबाट पूरै अस्वीकृत भएका छन् ।नयाँपत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*