मन्त्रीलाई प्रधानमन्त्रीको ‘टास्क’

कार्ययोजना र सम्झौताअनुरूप काम गर्न नसक्ने मन्त्री मूल्यांकन सूचीमा तल पर्ने
वेलकम खबर
साउन १६, २०७६

काठमाडौं । सरकारको काम कारबाहीको चर्को आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीलाई कामको ‘टास्क’ दिएका छन् । ढिलासुस्ती र सोचेअनुरूपका काम नभएपछि प्रधानमन्त्रीले सामूहिकरूपमा मन्त्रीहरूलाई ‘टास्क’ दिएका हुन् । साथै प्रधानमन्त्रीले सो ‘टास्क’ पूरा गर्न लिखितपत्रमा हस्ताक्षरसमेत गराएका छन् ।

१५ जेठमै बजेट आए पनि असार अन्तिममा मात्र आएर धमाधम खर्च भएपछि प्रधानमन्त्रीले सबै मन्त्री र मन्त्रालयका सचिवसँग प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफल गरेका थिए । छलफलपछि सबै मन्त्रीसँग प्रधानमन्त्री ओलीले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गराएका छन् । विगतमा मन्त्रीले सचिवसँगमात्र यस्तो सम्झौता गर्ने गरेका थिए । तर, नेपालको इतिहासमा प्रधानमन्त्रीले नै मन्त्रीहरूसँग सम्झौता गरेको यो पहिलोपटक हो ।

अर्को समीक्षा बैठकमा मन्त्रीहरूले हस्ताक्षर गरेबमोजिमका काम पूरा गरेर आउनुपर्ने चुनौति थपिएको छ । यदि, कार्ययोजनाअनुसार काम पूरा गर्न नसके मन्त्रीहरू मूल्यांकनमा पछाडि पर्नेछन् । सरकारको कामको गतिलाई लिएर तीव्र आलोचना भइरहेका वेला प्रधानमन्त्री ओलीले सचिव र मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरे ।

आर्थिक वर्ष २०७६÷७७ का लागि सबै मन्त्रालयबाट मन्त्रालयगत योजना मागेपछि प्रधानमन्त्री ओलीले कार्यसम्पादन सम्झौता गरेका थिए । ‘प्रधानमन्त्रीले सबै मन्त्रालयबाट यो आर्थिक वर्षमा कार्यान्वयन गरिने योजना माग्नु भएको थियो । तिनको अध्ययनपछि कार्यान्वयनका लागि मन्त्री र सचिवहरूसँग करार सम्झौता गर्नुभएको छ’, एक सचिवले जानकारी दिँदै भने, ‘पहिले मन्त्री र सचिव बसेर यो प्रक्रिया पूरा गर्ने चलन थियो । तर, योपटक सचिव र मन्त्री दुवैलाई सँगै राखेर प्रधानमन्त्रीले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गराएका हुन् ।’

मन्त्रालयगत छलफल गरेपछि प्रधानन्त्रीले मन्त्री र सचिवबाट योजना कार्यान्वयनको प्रतिवद्धता मागेका थिए । विभागीय मन्त्री र सचिवले जवाफ दिएपछि प्रधानमन्त्रीले विगतमा पनि प्रतिवद्धता मात्रै आयो यसपटक भने लिखित सम्झौता नै गरौँ भनेका थिए । प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूलाई कामलाई तीव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्देश्य आत्मसाथ गर्न आग्रह पनि गरे ।

‘हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन सुरु गर्यौं भने साउनको सुरुबाट काम गर्न सकिन्छ भन्ने सोचले हो’, प्रधानमन्त्री ओलीले भने, ‘तर, पहिलेजस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने ग¥यो भने फेरि ठेक्का लाग्दा नलाग्दा पानी पर्ने वेला हुन्छ । अब त्यस्तो हुनु हुँदैन । समय खेर फाल्नु भएन ।’

प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरूबीच कार्ययोजना सम्झौता भएकाले अब कामले तीव्रता लिने विश्वास व्यक्त गरे । ‘मेरो र मन्त्रीजीहरूको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ । अब मन्त्रीजी र सचिवहरूबीचको सम्झौता भएर कामको गतिले तीव्रता लिने विश्वास लिएको छु’, प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन पनि निर्देशन दिए । ‘भ्रष्टाचार अन्त्य गर्न र सदाचारितालाई अवलम्बन गर्नका लागि सुत्र नै बनाऔँ, मातहतको नजरमा नगिरौँ । मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले संसदमा भइरहेको अवरोध सरकार असफल बनाउने प्रयास स्वरूप भइहेको उल्लेख गरे । ‘हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन, लोकतन्त्रको रक्षा गर्ने र समुचित ढंगले अघि बढाउने कुरामा वर्तमान सरकार दृढ छ’, उनले भने । प्रधानमन्त्री ओलीले जनताले स्थिरताका लागि बहुमत दिएकाले वर्तमान सरकार जनताप्रति उतरदायित्व भएर काम गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*