अध्ययनमै बाहिरियो वर्षमा ४० अर्ब
नेपाली विद्यार्थीले गत वर्ष अध्ययनका लागि ६९ देश रोजे, ६० प्रतिशत विद्यार्थी अस्ट्रेलियामा
आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा वैदेशिक अध्ययनका लागि ४० अर्ब रुपैयाँ बाहिरिएको छ । अध्ययनका लागि बिदेसिने विद्यार्थीको संख्या बढिरहँदा बाहिरिने रकम पनि वृद्धि भइरहेको छ । राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार गत ११ महिनामा ४० अर्ब नौ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा १९.७ प्रतिशत बढी हो । वर्ष ०७४/०७५ को ११ महिनामा शिक्षाका नाममा ३४ अर्ब २२ करोड ८३ लाख रुपैयाँ बाहिरिएको थियो ।
वैदेशिक अध्ययनका लागि वर्ष ०७४/७५ मा कुल ३८ अर्ब आठ करोड ९५ लाख र ०७३/७४ मा जम्मा ३५ अर्ब दुई करोड ४९ लाख बाहिरिएको थियो । यो वर्ष ६३ हजार दुई सय ५९ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । जसमध्ये ६० प्रतिशत अस्ट्रेलियाका लागि रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
केही वर्षयता नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तव्य अस्ट्रेलिया बन्ने गरेको छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार १ साउन ०७५ देखि ३१ असार ०७६ सम्म जारी भएका ६३ हजार दुई सय ५९ एनओसीमध्ये सबैभन्दा बढी अस्ट्रेलियाका लागि ३६ हजार तीन सय २४ छन् । यद्यपि, एनओसी लिने शतप्रतिशत विद्यार्थी बाहिरिँदैनन् ।
अस्ट्रेलियापछि नेपाली विद्यार्थीको रोजाइमा पर्ने गन्तव्यमा क्रमशः जापान, साइप्रस, भारत, चीन, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स छन् । एनओसी संख्याका आधारमा भारत तेस्रो प्रमुख गन्तव्य देखिन्छ । तर, अधिकांश विद्यार्थी एनओसीविनै भारत पढ्न जाने हुनाले यसकोे यकिन विवरण छैन ।
आर्थिक वर्ष ०७५/७६ मा नेपाली विद्यार्थीले ६९ देशका लागि अध्ययन अनुमति लिएका छन् । ब्रुनाई, हङकङ, केन्या, कुवेत, रोमानिया, स्लोभेनिया, श्रीलंका, तान्जानिया, युक्रेनका लागि भने एक–एकजना विद्यार्थीले मात्र एनओसी लिएका छन् ।
जाापान र युएस जाने घटे, अष्ट्रेलिया र साइप्रस बढे
शिक्षा मन्त्रालयका अनुसार अघिल्ला वर्षमा धेरै विद्यार्थीको रोजाइमा परेका केही देशप्रति वर्ष ०७५/७६ मा विद्यार्थीको रुचि घटेको छ । जापान दोस्रो नम्बरमा कायम रहे पनि विद्यार्थी संख्या घटेको छ । वर्ष ०७४/७५ मा जापान अध्ययनका लागि १० हजार तीन सय ६३ जनाले एनओसी लिएकोमा ०७५/०७६ मा घटेर आठ हजार पाँच सय २३ मा झरेको छ । अघिल्लो वर्ष चौथो नम्बरमा रहेको अमेरिका सातौँ नम्बरमा झरेको छ । ०७४/७५ मा अमेरिकाका लागि एक हजार सात सय ७४ ले एनओसी लिएकोमा पछिल्लो वर्षमा एक हजार चार सय ९१ जनाले मात्र लिएका छन् । अस्ट्रेलियाका लागि एनओसी लिनेको संख्या अघिल्लो वर्षको तुलनामा चार हजार दुई सय सातले बढेको छ ।
साइप्रस जाने अत्यधिक बढे, युएई १०औँ गन्तव्य
साइप्रस नेपाली विद्यार्थीको प्रमुख गन्तव्यका रूपमा उदाएको छ । अघिल्लो वर्षभन्दा गत वर्ष साइप्रसका लागि एनओसी लिने विद्यार्थीको संख्या तीन गुणा बढेको छ । वर्ष ०७४/७५ मा साइप्रसका लागि सात सय ४१ विद्यार्थीले एनओसी लिएकामा ०७५/७६ मा यो संख्या बढेर दुई हजार तीन सय दुई पुगेको छ । शिक्षा मन्त्रालयका अधिकारीका अनुसार साइप्रस जान सजिलो रहेको र त्यहाँबाट युरोपलगायतका देशमा जानसमेत सहज भएकाले यो देशप्रति नेपाली विद्यार्थीको रुचि बढेको हो ।
नेपाली कामदार जाने देशका रूपमा चिनिएको युएईमा अध्ययनका लागि जाने क्रम पनि बढ्दो छ । आर्थिक वर्ष ०७५/७६ मा नेपालीको १०औँ आकर्षक देशमा युएई परेको छ । एक वर्षको अवधिमा युएईमा अध्ययनका लागि आठ सय ४१ जनाले एनओसी लिएका छन् ।
नेपाल भित्रिने रेमिट्यान्समा ठूलो हिस्सा विद्यार्थीको छ : डा. गुणाकर भट्ट
कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख, नेपाल राष्ट्र बैंक
विदेशमा अध्ययनका लागि जानेले पैसा खर्च मात्रै गर्दैनन् रेमिट्यान्स पनि पठाउँछन् । आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा कुल ७ खर्ब ९९ अर्ब रेमिट्यान्स भित्रिएको छ । यसमा ठूलो हिस्सा शैक्षिक भिसामा जानेहरूको समेत छ । विदेशमा अध्ययनका लागि बाहिरिने रकम र उनीहरूले पठाएको रेमिट्यान्ससँगै आर्जन गरेको ज्ञानको पनि मूल्यांकन गरिनुपर्छ । हामीले मानव पुँजीलाई पनि हेर्नुपर्छ, उनीहरूले सिकेको ज्ञान तथा लिएको अनुभव भोलि गएर मुलुकको विकासमै उपयोग हुने हो ।
नेपाली विद्यार्थी माल्टादेखि बोस्निया हर्जगोभिनासम्म
शैक्षिक गन्तव्यका रूपमा नचिनिएका मुलुक र नेपालभन्दा आर्थिक र शैक्षिक रूपमा कमजोर देशमा समेत नेपाली विद्यार्थी अध्ययनका नाममा जाने गरेका छन् । त्यसमध्ये एक हो माल्टा । गत वर्ष तीन सय ४२ नेपाली विद्यार्थीले माल्टाका लागि नो अब्जेक्सन लेटर लिएका छन् । स्लोभेनिया, कुवेत, केन्या, इजिप्ट, इस्टोनिया, लिथुवानिया, दक्षिण अफ्रिका, अजरबैजान, किर्गिजस्तान, स्वाजिल्यान्ड, इन्डोनेसियामा पनि नेपाली विद्यार्थी पढ्न गएका छन् । अन्टिगुवा एन्ड बर्बुडा, भियतनाम, बोस्निया हर्जगोभिना, अर्मेनिया, कोस्टारिका, तान्जानियालगायतका देशमा नेपाली विद्यार्थी गएका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख महेश्वर शर्माले पढाइसँगै रोजगारी गर्न चाहने भएकाले विदेश अध्ययनमा जान चाहनेको संख्या बढेको बताए । उनले आवश्यक कागजात पुगेपछि शिक्षा मन्त्रालयले एनओसी दिनुपर्ने बाध्यता रहेको बताए ।
यसकारण बाहिरिने विद्यार्थी बढ्दै छन्
रामशरण सापकोटा, सहसचिव, शिक्षा मन्त्रालय
- शिक्षासँगै कमाइ पनि गर्न ।
- विदेश अध्ययन सामाजिक प्रतिष्ठासँग जोडियो । एकपटक भए पनि विदेश जाऔँ भन्ने विद्यार्थी र अभिभावकमा भावना विकास भएको पाइन्छ ।
- विदेश पढेर नेपाल आएमा फरक हुन सकिन्छ भन्ने भावना छ । नेपालमै पढेर राम्रो गर्न सकिन्छ भन्ने वातावरण बनाउन नसक्नुको कारण पनि विदेश अध्ययनमा जाने बढेका हुन् ।
- नेपालका विश्वविद्यालयले विद्यार्थीको चाहनाअनुसारको पाठ्यक्रम तयार गर्न नसकेर पनि विदेशमोह बढेको हुन सक्छ । नेपालमै राम्रो छ भनेर विश्वस्त बनाउन सकिएन ।
कुन देशमा कति ?
- अष्ट्रेलिया : ३६३२४
- जापान : ८५२३
- साइप्रस : २३०२
- भारत : २०५९
- चीन : १८८१
- क्यानडा : १६७१
- अमेरिका : १४९१
- न्युजिल्याण्ड : १३८५
- दक्षिण कोरिया : ११९८
- युएई : ८४१
- फ्रान्स : ७८६
- बंगलादेश : ६२८
- जर्मनी : ५१६
- थाइल्याण्ड : ५१२
- युके : ३५०
- पोल्याण्ड : ३४६
- माल्टा : ३३९
- डेनमार्क : २५०
- बहराइन : १९३
- फिनल्याण्ड : १७९
- रसिया : १६९
- मलेसिया : १६१
- नर्वे : १४८
- फिलिपिन्स : १२६
- आयरल्याण्ड : १०४,
- लक्जेम्बर्ग : ९०,
- स्वीडेन : ८७,
- टर्की : ७३,
- नेदरल्याण्ड : ६१,
- हंगेरी : ४८,
- कतार : ४५,
- लाटभिया : ४१,
- चेक रिपब्लीक : ३३,
- साउदी अरेविया : २८,
- स्पेन : २४,
- लिथुवानीया : २०,
- माल्दिभ्स : २०,
- पाकिस्तान : २०
- स्टोनिया : १९
- इटाली : १९
- दक्षिण अफ्रिका : १७
- पोर्चुगल : १६
- स्वीजरल्याण्ड : १४
- ग्रिस : ११
- सिंगापुर : १०
- बेल्जियम : १०
- इजिप्ट : ९
- इङ्ल्याण्ड : ९
- अष्ट्रिया ः ८
- अजरबैजान ः ७
- सेन्ट भिन्सेन्ट ः ४
- इजरायल ः ४
- इन्डोनेसिया ः ३
- स्वाजिल्याण्ड ः ३
- क्रिगिस्तान ः ३
- भियतनाम ः ३
- एन्टिगुवा एण्ड बर्बुडा ः ३
- अर्मेनिया ः २
- बोस्निया एण्ड हर्जगोभिना ः २
- कोष्टारीका ः २
- ब्रुनाई ः १
- हङकङ ः १
- केन्या ः १
- कुवेत ः १
- रोमानिया ः १
- स्लोभेनिया ः १
- श्रीलंका ः १
- लान्जानिया ः १
- युक्रेन ः १
- नयाँपत्रिकाबाट



















