गुपचुप छुट्छन् धर्म प्रचारक

वेलकम खबर
असार २६, २०७६

दाङ : दाङ प्रहरीले केही महिनाअघि धर्म परिवर्तन गराउँदै हिँडेका पाँचजना इसाई धर्मका प्रचारकलाई दाङमा पक्राउ गर्‍यो। अमेरिकी र भारतीय नागरिक २ जनासहित ३ जना नेपालीलाई धर्म प्रचार गरेको आरोपमा दाङको घोराहीस्थित एक होटेलबाट केही थान बाइबल, बाड्न तयार गरिएको पैसा राखेका खामसहित प्रहरीले पक्राउ गरि अनुसन्धान गर्‍यो। तर अनुसन्धान धेरैदिन चलेन। प्रहरीले ‘दबाब’का कारण सबैलाई छाडिदियो।

केही दिनअघि बर्दियामा पनि दुई जना विदेशी नागरिक धर्म प्रचारकै मुद्धामा पक्राउ परे। उनीहरु पनि सहज छुटै। रुपन्देहीमा पनि धर्म प्रचारको मुद्धामा पक्राउ परेका विदेशीलाई प्रहरीले मुद्धा बढाउन सकेन। त्यतिकै छाडिदियो। यी घटना उदाहरण मात्रै हुन्। धर्मप्रचारक पक्राउ पर्छन् तर चुपचाप छु्ट्छन्। धर्म प्रचारमा पक्राउ परेका बारे प्रहरीले तथ्याक समेत राम्रोसंग राखेको पाइँदैन।

अनेक प्रलोभन देखाएर दाङमा धर्म परिवर्तन गरिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेपछि हंगामा भएको थियो। अमेरीकामा बसेर क्रिश्चियन धर्म प्रचारमा लगानी गरिरहेकी महिलासहित धर्म परिवर्तन गराउँदै हिँडेका पाँचजनालाई पक्राउ गरेपछि प्रहरीलाई दवाव थेक्न हम्मे पनि पर्‍यो। पक्राउ परेकी अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मेलाई भिसा रद्द गरि १० वर्षसम्म नेपाल आउन रोक लगाउने माग र आग्रहसहित अध्यागमन विभागमा पठायो। अन्य चार जनालाई दाङमै मुद्धा चलाइयो। तर प्रहरीको प्रयास सफल भएन। सबै उम्कीए। अमेरिकी नागरिकलाई अध्ययागमन विभागले चुपचाप छाडिदियो।

दाङमा मुद्धा चलेका भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगञ्जका प्रमोद काफ्ले पनि सहजै थुना मुक्त भए। प्रहरी तथ्यांकमा प्रदेश ५ मा यो वर्ष यस्ता धर्म प्रचारक १२ जना समातिए। तर सबै जना सहजै उम्कीए। प्रदेश ५ का प्रहरी प्रवक्ता तथा डीएसपी नवराज पोखरेलले धर्म प्रचार गरे पक्राउ गरिने बताए। ‘पक्राउ गरी मुद्धा चलाउने हो’, उनले भने, ‘कतिले मुद्धा खेपिरहेका छन्। कति छुटेका पनि छन्।’ डीएसपी पोखरेलका अनुसार प्रदेशका केही जिल्लामा धर्मप्रचारक सक्रिय देखिएका छन्। ‘दाङ, बर्दिया, रुपन्देहीमा बढि देखिएको छ। सबभन्दा बढि बर्दियामै छ’, उनले भने, ‘विपन्न, गरिब र सहजै परिवर्तन हुन सक्ने समुदायमा धर्म प्रचार अभियान बढि देखिएको छ।’

संविधानले धर्म परिवर्तन गराउने कार्यलाई अपराध मानेको छ। गाउँ शहरमा अनेक प्रलोभन देखाएर क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङमा समातिएका पाँचै जना विना कारबाही छुट्नु उनीहरुका लागि हौसला भएको स्थानीय प्रमोद अधिकारीले बताए। पक्राउ परेकामध्ये अमेरिकी नागरिकलाई देश निकाला गर्न आग्रहसहित अध्यागमन विभागलाई पत्राचार गरिए पनि गुपचुप छोडनु परमपरागत धर्म संस्कृतिमाथीको आक्रमणजस्तै भएको स्थानीयको भनाइ छ। ‘दोशीले कारवाही भोग्नु पर्नेमा सम्मान पाए जस्तो भएको छ’, अधिकारीले भने।

अमेरिकी नागरिकलाई नेपाल भ्रमणको अनुमति पत्र रद्द गर्दै देश निकाला गर्न र १० वर्ष नेपाल प्रवेशमा रोक लगाउन माग गरेको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेको भनाइ छ। ‘हामीले बुझाएपछि थप जानकारी हुँदैन’, पाण्डेले भने, ‘कतिपय विदेशी अर्कै कामका लागि भनेर नेपाल आउने र गाउँगाउँमा छिरेर धर्म प्रचार गर्ने गरेको देखिएको छ।’ होटेलमा बस्ने, गाउँमा पुगेर धर्मप्रचार गर्ने र मानिसलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर प्रभावित बनाउने गरेको प्रहरीको भनाइ छ। दाङमा पछिल्लो समय ३० प्रतिसत क्रिश्चियन भइसकेको इसाई अगुवाको दावी छ।अन्नपूर्णपोष्टबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*