संसदीय सुनुवाइ समिति : पासाङ ल्हामुको छोरी दावाफूटीको प्रशंसा मात्रै

वेलकम खबर
असार २५, २०७६

संसदीय सुनुवाइ समितिमा ४ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ चल्दै थियो । बंगलादेश, कतार, अस्ट्रेलिया र स्पेनका लागि सिफारिस राजदूतको सुनुवाइ थियो । पालो आयो, स्पेनका लागि प्रस्तावित राजदूत दावाफूटी शेर्पाको ।

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाकी छोरी दावाफुटीले शुरूमा आफ्ना कार्ययोजना सुनाइन् । उनले लिखित कार्ययोजना सुनाएपछि पालो आयो सांसदले प्रश्न सोध्ने । शुरुमा बोले, कांग्रेस सांसद ज्ञानेन्द्र कार्की । उनले प्रश्न होइन, प्रस्तावित राजदूत दावफुटीको प्रशंसामा शब्द खर्चे । शेर्पाको ‘कन्फिडेन्स’ देखेर आफू प्रभावित भएको उल्लेख गरे ।

समितिमा उपस्थित सबै सांसदले शेर्पाको तारिफ मात्र गरे । कसैले प्रश्न गरेनन् । ‘तपाई पासाङ ल्हामु शेर्पाको छोरी, यो तपाईका लागि मात्र नभएर हामी सबैका लागि गौरवको विषय हो । आमाबारे पनि केही उल्लेख गर्नु भएको छ,’ नेकपाका सांसद योगेश भट्टराईले थप प्रशंसा गर्दै भने, ‘आमा (पासाङ ल्हामु) जस्तै तपाईंले पनि उचाइ लिनुस् ।’

नेकपाकै सांसद सुरेन्द्रराज पाण्डेले भने अरू सांसदभन्दा अलि फरक धारणा राखे । ‘अरू माननीयले तपाईंमा कन्फिडेन्स देख्नुभयो, मैले चाहीं संकुचन देखें । त्यसलाई हटाएर कन्फिडेन्स बढाउनुस्,’ उनले सुझाए । कांग्रेस सांसद जीतेन्द्रनारायण देवले त झन् सुनुवाइकै क्रममा राजदूत भएर ‘यो यो गर्नुहोला’ भनेर लामै समय लिएपछि नेकपा सांसद सुमन प्याकुरेलले देवलाई व्यंग्य गर्दै भने, ‘उहाँ अनुमोदन भइसकेपछि तपाइँ विशेष समय लिएर सुझाव दिनुहोला ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*