ताप्लेजुङ–ओलाङचुङगोला लोकमार्गकाे ट्रयाक खोल्न २४ किमि बाँकी

वेलकम खबर
असार २४, २०७६

साविक मेची अञ्चलको उत्तर–दक्षिण लोकमार्गअन्तर्गत ताप्लेजुङ–ओलाङचुङगोला सडक खण्डको ट्रयाक खुलाउन २४ किलोमिटर मात्र बाँकी छ । पूर्वी नेपालको समृद्धिसँग जोडिएको लोकमार्गको अहिले लुङथुङसम्म ट्रयाक खुला भइसकेका ओलाचुङगोला लोकमार्ग आयोजना कार्यालय ताप्लेजुङका सूचना अधिकारी इन्जिनियर सञ्जीवकुमार गुप्ताले बताए ।

गत वर्ष लोकमार्ग आयोजनाको कार्यालय नै सरकारले हटाएपछि काम गर्न केही असहज भएको थियो । ‘तर, पछि पुनः सरकारले अयोजना कार्यालय पुनस्र्थापना गरेपछि काम तीव्र गतिमा भइरहेको छ,’ गुप्ताले भने । ताप्लेजुङको दोभानदेखि चीनको सिमाना टिप्ताला भञ्ज्याङसम्मको दूरी एक सय २३ किलोमिटर छ । दोभानदेखि ओलाङचुङगोलासम्मको दूरी एक सय किलोमिटर छ ।

 ब्लास्टिङ गर्नुपर्ने
लोकमार्गका विभिन्न ठाउँमा कडा चट्टान भएकाले ब्लास्टिङ गर्नुपर्ने अवस्था छ । सडकमा रहेको तेन्जिङ भिरमा कडा चट्टान देखिएको छ । स्काभेटर र अन्य मेसिन प्रयोग गरिए पनि काम नभएकाले ब्लास्टिङ नै गर्नुपर्ने अवस्था आएको लोकमार्ग आयोजनाका सूचना अधिकारी इन्जिनियर सञ्जीवकुमार गुप्ताले बताए ।  ब्लास्टिङ गर्न सरकारको स्वीकृति चाहिन्छ । ब्लास्टिङ गर्ने स्वीकृति प्राप्त गर्न ढिला नभए काम समयमै सकिने निर्माण कम्पनीले जनाएको छ ।

स्थानीयको पहलमा बन्यो २३ किमि सडक
ओलाङचुङगोलादेखि चीनको सिमानासम्मको २३ किलोमिटर सडक स्थानीयको पहलमा निर्माण भएको छ । दुई वर्षअघि नै यो सडकको ट्र्याक ओपन भइसकेको छ । सडकको ट्रयाक ओपन गर्ने ठेक्का  एबिए/लाइट जेभीले ४० करोडमा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले बाँकी २४ किलोमिटर ट्र्याक ओपन गर्ने काम २५ असार ०७७ भित्रै सकाउनुपर्ने छ । लोकमार्ग निर्माण सम्पन्न भएसँगै पूर्वी नेपालको चीनसँगको ढोका खुल्ने विश्वास गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*