८५ बर्ष नाघेका जेष्ठ नागरिकको सुबिधा थप,शिक्षा क्षेत्र बजेटको मुख्य प्राथमिकतामा

खगेन्द्र अधिकारी
असार २२, २०७६

ताप्लेजुङ,। समयमै नीति,कार्यक्रम तथा बजेट प्रस्तुत नगरेर आलोचित भएको ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले लोकप्रिय बजेटमार्फत पहिलेका आलोचना चिर्ने संकेत दिएको छ ।

निर्धारित समयभन्दा १० दिन ढिलो शुक्रवार ल्याईएको बजेटमा शिक्षा क्षेत्रलाई प्रधानमात्र ठानिएको छैन,बजेटको उल्लेख्य हिस्सा लोकप्रिय कार्यक्रमका लागि छुट्याईएको छ । यसअघि बिद्यार्थी संख्या कम भएका बिद्यालयलाई मर्ज गरेर एकाध बाहेक अधिकाँसबाट वाहवाही पाएको फक्ताङ्लुङले गाउँपालिका भित्रका बिद्यालयको नतिजा सुधारका लागि कोचिङ कक्षा सञ्चालन गर्न बिद्यालयलाई अनुदान दिनेदेखि भाषा शिक्षकलाई दिईने पारिश्रमिकमा बृद्धि र ८५ बर्ष उमेरभन्दा माथिका बृद्ध÷बृद्धालाई प्रोत्साहन बापत जनही १ हजार रुपैैंया थप गर्ने कार्यक्रम ल्याएको छ । गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बूका अनुसार आगामी आर्थिक बर्ष २०७६÷२०७७ बाट गाउँपालिकाका भित्रका ४० वटा बिद्यालयका प्रधानाध्यापकलाई मासिक प्रोत्साहन भत्ता दिइने छ ।

जस अनुसार बर्षमा १३ महिना बराबरको पाउने गरी माध्यमिक तहका प्रधानाध्यापकले मासिक १ हजार ५ सय,आधारभूत तह (१–८) कक्षा सञ्चालन भएका बिद्यालयका प्रधानाध्यापकले मासिक १ हजार र आधारभूत तह(१–५) कक्षा सञ्चालन भएका बिद्यालयका प्रधानाध्यापकले मासिक ५ सय रुपैंया प्रोत्साहन भत्ता पाउने छन् । गाउँपालिका भित्रका सबै बिद्यालयमा करारमा कार्यरत बिद्यालय कर्मचारीलाई मासिक १ हजार रुपैंयाका दरले बार्षिक १३ हजार रुपैंया र बाल शिक्षकलाई मासिक २ हजार रुपैंयाका दरले बार्षिक २६ हजार रुपैंया प्रोत्साहन रकम दिईने छ । भएको छ भने गाउँपालिका क्षेत्रका ३ स्थानमा रहेका सामुदायिक स्वास्थ्य इकाईमा करारमा दरबन्दी कायम गरेर जनही २० हजार रुपैंयाका दरले तलबभत्ता उपलब्ध गराउने भएको छ । नतिजा सुधार कार्यका लागि बिद्यालयमा कोचिङ कक्षा सञ्चालन गर्न १–३ कक्षा सञ्चालित बिद्यालयलाई २५ हजार,१–५ लाई ५० हजार,१–८ लाई १ लाख र माध्यमिक तह सञ्चालनमा रहेकालाई १ लाख ५० हजार रुपैंया बार्षिक अनुदान दिईने भएको छ ।
गाउँपालिकाले भाषा शिक्षकलाई बार्षिक १३ महिना बराबरको पारिश्रमिक पाउने गरी मासिक ८ हजार रुपैंया दिने भएको छ भने उनीहरुलाई पोशाकभत्ता बापत नगद १० हजार रकम पनि दिने छ । उत्कृष्ट छात्रा÷छात्रालाई छात्रबृति दिने गरी बजेट बिनियोजन गरेको गाउँपालिकाले पालिकाभरी उत्कृष्ट १–१० का छात्र÷छात्रालाई जनही १५ हजार,एसईईमा उत्कृष्ट हुने एकछात्र र एकछात्रालाई जनही २० हजार र कक्षा १२ सम्ममा उत्कृष्ट हुने छात्र÷छात्रा एक–एकजनालाई जनही २५ हजार रुपैंया प्रोत्साहन÷छात्रबृत्ति बापत बितरण गर्ने छ । कक्षा १–१० सम्ममा उत्कृष्ट हुने दलित समुदायका एक छात्र र एक छात्रालाई जनही १५ हजार रुपैंयाको दरले छात्रबृत्ति दिईने छ । लेलेपको लुङ्थुङ,तापेथोकको हेल्लोक र लिङ्खिममा रहेका सामुदायिक स्वास्थ्य संस्थामा करारमा दरबन्दी सृजना गर्न एउटा केन्द्रका लागि मासिक २० हजार रुपैंया पारिश्रमिक रहनेगरी जनशक्ति व्यवस्थापन गर्न बजेट छुट्याईएको छ । गाउँपालिकाका प्रवक्ता छेतेन वालुङका अनुसार गाउँपालिकाले ८५ बर्ष माथिका बृद्धबृद्धाका लागि मासिक १ हजार रुपैंया भत्ता दिने भएको छ । यो संघीय सरकारले जेष्ठ नागरिकका बिनियोजन गरेको रकम भन्दा अतिरिक्त हो । अब आउँदो साउनदेखि उता फक्ताङ्लुङ गाउँपालिकाका ८५ बर्ष भन्दा माथि उमेर समुहका व्यक्तिले मासिक संघीय र स्थानीय सरकारको गरी मासिक ४ हजार रुपैंया सामाजिक सुरक्षा भत्ता पाउने छन् । सुरक्षित मातृत्व कार्यक्रम अभियानलाई थप गतिशील बनाउन गाउँपालिकाले बर्थिङ सेन्टरमा नियमित गर्भजाँच तथा सुत्केरी हुने गाउँपालिकाको वडा नं १ देखि ६को लेलेप सम्मका सेवाग्राहीलाई एकमुष्ट ७ हजार र गोला तथा घुन्साका सेवाग्राहीलाई १० हजार प्रोत्साहन रकम दिने भएको छ । गोला र घुन्सा निकै दुर्गम मानिन्छन् । गाउँपालिकाले बजेटमार्फत शिक्षा क्षेत्रलाई विकासको मूलखम्बा मान्दै गाउँपालिका भित्रका जीर्ण भवन निर्माण तथा मर्मत र एयटा बिद्यालयमा मासिक कम्तिमा २ पटक अनुगमन गर्ने नीति लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*