त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

एमए अर्थशास्त्रमा ‘गोल्ड मेडल’ किनबेचको सम्झौता गरेका विद्यार्थी र कर्मचारी पक्राउ, सम्बन्धनमा घुस खाँदा सहायक डिन पक्राउ
वेलकम खबर
असार ५, २०७६

त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दिइने ‘गोल्ड मेडल’ खरिद–बिक्री हुने गरेको खुलेको छ । गोल्ड मेडल खरिद–बिक्रीमा संलग्न त्रिविका एक कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइरालालाई आयोगले पक्राउ गरेको हो । पाटन क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत कोइराला पेसाले अधिवक्ता हुन् ।

आफूलाई ‘गोल्ड मेडलिस्ट’ बन्ने रहरमा उनले कर्मचारी कर्माचार्यसँग आर्थिक ‘डिल’ गरेका थिए । परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने परीक्षामा चलखेल गर्ने कर्मचारी कर्माचार्यसहित दुईजनालाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । तर, विस्तृत विवरण आफूलाई जानकारी नभएको उनको भनाइ छ । स्रोतका अनुसार गोल्ड मेडल पाउने गरी उच्च अंक थप्न करिब पाँच लाख रुपैयाँ लेनदेन भएको छ । पनिकाका अन्य कर्मचारीमाथि समेत अनुसन्धान अघि बढाइएको अख्तियार स्रोतले जनायो ।

‘फेल भएकालाई पास गराउने र कम अंक ल्याएका विद्यार्थीलाई अंक थप्ने गतिविधि बढेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,’ अख्तियारका उच्च अधिकारीले भने, ‘यसमा विद्यार्थी नेतादेखि धेरै ठूलो गिरोह सक्रिय छ भन्ने सूचना छ । एक कर्मचारीबाट मात्र अंक हेरफेर गर्ने सम्भावना देखिँदैन ।’ कर्माचार्यलाई अख्तियारले गत साता नै पक्राउ गरेको थियो भने कोइराला बुधबार पक्राउ परेका हुन् । कर्माचार्य पक्राउ परेलगत्तै कोइराला फरार भएका थिए ।

आफूले सजिलै नम्बर हेरफेर गरिदिन सक्ने भन्दै आश्वस्त बनाएर कर्माचार्यले पैसाको डिल गरेका थिए । कर्माचार्यले विगतमा पनि त्यसरी धेरैलाई गोल्ड मेडलिस्ट बनाइदिसकेको दाबी कोइरालासँग गरेका थिए । पनिकाका सबै कर्मचारीसँग आफूले सेटिङ मिलाइदिने भन्दै उनले डिलिङ गरेको अख्तियारले जनाएको छ । उनीहरूबीच डिलिङको सूचना पाएपछि अख्तियार टोलीले पिछा गरेको थियो ।

अधिवक्ता कोइरालाले चार विषयमा स्नातकोत्तर गरिसकेका छन् । आर्थिक चलखेलकै आधारमा उनले कतिपय डिग्री लिएको हुन सक्ने आशंका अख्तियार अधिकारीहरूको छ ।

अख्तियारको प्रारम्भिक छानबिनअनुसार बिचौलियामार्फत त्रिविका कर्मचारीले फेल भएकालाई पास गराउने र कम नम्बर ल्याएकालाई उच्च नम्बर दिलाउने गर्छन् । एउटा विषय उत्तीर्ण गर्न नै न्यूनतम ५० हजार रुपैयाँ लिने गरेको देखिएको अख्तियारका एक अधिकारीले बताए ।

बिचौलियाको काम गर्नेमा धेरैजसो विद्यार्थी नेता नै छन् । ‘गोप्य शाखामा आफूअनुकूलका कर्मचारीसमेत सरुवा गरेर यस्तो धन्दा गर्दै आएको देखियो,’ अख्तियार अधिकारी भन्छन्, ‘त्यो गिरोहमाथि नै हामीले अनुसन्धान थालेका छौँ ।’ त्रिविमा धेरै विद्यार्थी नेताले आफन्तलाई कर्मचारी नियुक्त गरेका छन् । उनीहरूमार्फत नै यस्तो धन्दा चल्ने गरेको छ ।

‘एक–दुईजना कर्मचारीको भरमा मात्र नम्बर तलमाथि हुन सक्दैन’
एक–दुईजना कर्मचारीको भरमा मात्र नम्बर तलमाथि हुन नसक्ने त्रिविका एक पूर्वपरीक्षानियन्त्रक बताउँछन् । विद्यार्थीको उत्तरपुस्तिका परीक्षकले जाँचेर माक्र्स फाइलमा नम्बर चढाइसकेपछि स्क्रुटिनीले हेर्ने व्यवस्था छ । माक्र्स फाइलमा विद्यार्थीको एउटा सिम्बोल नम्बरको प्राप्तांक दायाँ र बायाँ दुईपटक भरिन्छ । स्क्रुटिनीबाट फाइनल भएपछि दुईवटा कम्प्युटरबाट छुट्टाछुट्टै व्यक्तिले नम्बर इन्ट्री गर्छन् । दुईवटा कम्प्युटरबाट इन्ट्री गरेको नम्बर तेस्रो कम्प्युटरबाट मिल्छ कि मिल्दैन भनेर अर्को व्यक्तिले ट्याली गर्छ । दुई व्यक्तिले इन्ट्री गरेको नम्बरमा फरक परे तेस्रो कम्प्युटरको व्यक्तिले इरर थाहा पाउँछ । अर्थात् कम्प्युटरको सफ्टवेयरले नै गल्ती देखाउँछ । दुई कम्प्युटरबाट भरेको नम्बरमा गल्ती देखाए प्याकेट खोलेर उत्तरपुस्तिका हेरिन्छ । यदि केही त्रुटि स्क्रुटिनीबाट फेला नपरे वा स्क्रुटिनीबाटै त्रुटि भए उनीहरूलाई नै सच्याउन लगाउने व्यवस्था छ । तर, कर्मचारीले नम्बरमा तलमाथि गर्न मिल्दैन ।

‘कर्मचारीले माक्र्स फाइलमा भएको नम्बर कम्प्युटरमा इन्ट्री गर्न सक्छ, तर कलम चोब्न पाउँदैन,’ त्रिविका एक पूर्वपरीक्षानियन्त्रक भन्छन्, ‘यसमा एउटा व्यक्तिले चाहेर मात्र विद्यार्थीको नम्बर तलमाथि गर्न सक्दैन ।’ उनले एउटा मात्र गोप्य शाखाको व्यक्तिले चाहेर विद्यार्थीको नतिजा तलमाथि गर्न नसक्ने बताए । परीक्षामा सबैभन्दा ठूलो प्रश्न कर्मचारीको नैतिकतामा रहेको उनको भनाइ छ । ‘गोप्य शाखाभन्दा माथि अति गोप्य शाखा हुन्छ । अति गोप्य शाखामा एकेडेमिक र प्राविधिक कर्मचारी हुन्छन् । त्यसमा एकेडेमिक व्यक्तिले तलमाथि गर्न सक्दैन । प्राविधिकतर्फको कर्मचारीले नैतिकता गुमाए विद्यार्थीको नतिजा फरक पर्न सक्छ,’ उनले भने ।

‘लुपहोल’ छैन, कर्मचारीको नियत बिग्रियो : परीक्षानियन्त्रक जोशी
परीक्षानियन्त्रक पुष्पराज जोशीले परीक्षाका लुपहोलभन्दा पनि नियत बिग्रेपछि समस्या भएको बताए । ‘स्थायी कर्मचारी छन्, उनीहरूलाई विश्वास नगरेर कसलाई गर्नू ?’ उनले भने, ‘अख्तियारले अनुसन्धान गर्दै छ, नाजायज काम गर्नेलाई पर्दाफास गर्नुपर्छ, अनि परीक्षा सुधारिन्छ ।’ परीक्षाको मर्यादा कायम गर्न थप सोच्नुपर्ने वेला आएको उनले बताए । अहिले पनिकाले आन्तरिक छानबिन गरिरहेको र रिपोर्ट आएपछि थप काममा अघि बढ्ने बताए ।

सहायक डिन नै घुससहित पक्राउ 
त्रिवि कीर्तिपुरस्थित विज्ञान संकायका सहायक डिन शम्भुप्रसाद पटेल नै ५० हजार घुससहित बुधबार ट्यांलाफाँटबाट रंगेहात पक्राउ परेका छन् । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनले कलेजको सम्बन्धन नवीकरणका लागि घुस मागेका थिए । उनले विगतमा पनि धेरै कलेज सञ्चालकलाई घुस मागेर हैरान पारेका थिए ।

कर्मचारी भर्नामा समेत अनियमितता, एक महिनादेखि अनशनमा बसेका विद्यार्थीलाई पक्रन विश्वविद्यालय छिर्‍यो प्रहरी
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमतिता भएको भन्दै एक महिनादेखि धर्नामा बसेका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरी सोमबार १७ जनालाइ पक्राउ गर्‍यो । सेवा आयोगका अध्यक्ष चैतन्य शर्मालगायत पदाधिकारी र नेताका आफन्तलाई अनियमित ढंगबाट लिखित परीक्षामा उत्तीर्ण गराएको भन्दै उनीहरू एक
महिनादेखि आयोग परिसरमा अनशन बसिरहेका थिए ।

एक महिना पुगिसक्दा पनि कसैले सुनुवाइ नगरेको भन्दै सोमबार अनशनरत विद्यार्थीले सेवा आयोगको गेटमा पदाधिकारीको प्रवेशमा रोक लगाउने भन्दै तालाबन्दी गरेका थिए । विद्यार्थीले तालाबन्दी गरेपछि बिहानैदेखि तैनाथ भएका प्रहरीले अपराह्न हस्तक्षेप गरेको हो । प्रहरीले गेटमा विद्यार्थीले लगाएको ताला फुटाइदिएको छ भने अनशन बस्न बनाएको टहरोसमेत भत्काइदिएको छ ।

त्रिवि सेवा आयोगले लिएको लिखित परीक्षामा आयोगकै अध्यक्ष चैतन्य शर्मा, आयोग प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल र विभिन्न राजनीतिक दलआबद्ध विद्यार्थी संगठनका नेताका आफन्तको नाम निस्किएपछि विभिन्न पक्षबाट विरोध भइरहेको छ ।

सेवा आयोगले प्रशासनिक र प्राविधिक गरी एक सय ५४ जनाको पदपूर्तिका लागि खोलेको विज्ञापनमा ६ हजार १५ जनाले आवेदन दिएका थिए । त्यसमध्ये लिखित परीक्षामा ३ हजार ३ सय ३४ जना सहभागी भएका थिए । आयोगले अन्तर्वार्ताका लागि सहभागीमध्ये २ सय ६४ जनाको नामावली प्रकाशित गरेको थियो । त्यसमा त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका नेताका आफन्तको मात्रै अनियमित ढंगले नाम निस्किएको भन्दै अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेको थियो ।

परीक्षामा अनियमितता भएको भन्दै अख्तियार अनुसन्धान दुरुपयोग आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा निवेदन परेपछि आयोगले परीक्षाका फाइलहरू नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उजुरी परेपछि फाइल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारले अन्तिम नतिजा प्रकाशन नगर्न निर्देशन दिए पनि आयोगले अधिकृतबाहेकका तहको अन्तर्वार्ता लिएको छ । त्रिवि सेवा आयोगले लोकसेवा आयोगका पदाधिकारीको अनुपस्थितिमा नै अधिकृतबाहेकका तहको मौखिक परीक्षा २४ जेठमा नै सम्पन्न गरेको छ ।  त्रिवि सेवा आयोगको विज्ञापन नम्बर १८/२०७३/२०७४ को परीक्षामा अनियमितता भएको प्रारम्भिक अनुसन्धानमा देखिएको अख्तियार स्रोतले बताएको छ । ‘एकदमै प्राथमिकता दिएर अनुसन्धान अघि बढिरहेको छ, हामीले अन्तिम नतिजा सार्वजनिक नगर्न त्रिविलाई निर्देशन दिएका छौँ,’ स्रोतले भन्यो, ‘अहिले बयान लिनेलगायतको अनुसन्धान प्रक्रियामा हामी छौँ, छिट्टै निष्कर्षमा पुग्छौँ ।’

अख्तियारले अनुसन्धान गरिरहँदा विद्यार्थीले अनशनलाई निरन्तरता दिइरहेका थिए । विगत एक महिनादेखि अनशनमा बसिरहेका विद्यार्थीले आयोगले लिएको परीक्षा खारेजी र पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग पूरा नभएसम्म आन्दोलनलाई नरोक्ने बताएका छन् । विद्यार्थीसँग अहिलेसम्म कोही पनि जिम्मेवार निकायले छलफल गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*