जताततै भएका सडक निर्माण कार्यले वातावरणीय क्षेत्रमा असर पर्योः स्थानीय समुदाय

खगेन्द्र अधिकारी
मेरिङदेन,ताप्लेजुङ । । ताप्लेजुङको पश्चिमी क्षेत्रका नागरिकले विकासका नाममा सडकलाई मात्र महत्व दिएको भन्दै विकासको यो सोच बदल्न आग्रह गरेका छन् । उनीहरुले विकासका नाममा हुने गरेका सडक निर्माण कार्यले वातावरणीय क्षेत्रमा गम्भिर असर पर्ने चिन्ता समेत जनाएका छन् ।
वातावरणीय प्रभावको असर मूल्याङ्कन नै नगरी हुने गरेका यस्ता पूर्वाधारले भूक्षय र पहिरो सहितका जोखिम निम्ताउने भन्दै त्यसको न्यूनीकरण गर्न पनि विकास भनेको सडक खन्ने कार्य मात्रै होइन भनेर बुझ्न-बुझाउन आवश्यक रहेको समेत उनीहरुले औंल्याएका छन् । मेरिङ्देन गाउँपालिकाको थुकिमामा आयोजित सार्वजनिक सुुनवाईका क्रममा स्थानीय नेत्र नेपालीले स्थानीय तहले विकासका नाममा सडकलाइ मात्र महत्व दिएको भन्दै यो कार्यले प्राकृतिक बिपत्ति निम्त्याउन सक्ने बताए । उनले बिना सुक्ष्म अध्ययन जताजतै सडक खन्ने प्रणालीले प्राकृतिक बिपत्तिलाई निम्तो दिईरहेको समेत बताए ।
स्थानीय कल्पना सिटौला खड्काले सडक खनिएपनि बाह्रैकाल सवारी कुद्ने तहको नहुने हो भने सडक खनिएको अर्थ नहुने बताइन् । उनले वातावरणमा असर नगर्नेगरी सडक खन्ने कार्य रोक्न तथा खनिएका सडक प्राविधिक दृष्टीले उपयुक्त छ की छैन भनेर गहिरो अध्यन गर्न सरोकारवालाई आग्रह समेत गरेकी छन् । तत्कालिन थुकिमामा गाविसका अध्यक्ष मंगलसिंह केदेमले खनिएका सडक भौगर्भिक तथा वातारणीय दृष्टीले उपयुक्त छ की छैन भनेर निर्माण अघि नै गहिरो अध्यनको खाँचो औंल्याए । उनले गाउँका प्रत्येक बस्तीमा बाटो पुर्याउने नाममा दबाबका भरमा खनिएका बाटोका कारण प्राकृतिक बिनासको सम्भावना बढ्दै गएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेकोमा जोड दिए । त्रिभुवन मावि थुकिमाका शिक्षक चन्द्रप्रसाद भट्टराईले सडकका कारण हुने प्राकृतिक बिनास रोक्ने उपाय सुझाउँदै १—२ मिटर सडकको ट्रयाक खोल्न उपकरणको प्रयोग बन्द गर्नुुपर्ने बताए । यसो गरिएमा बिपन्न समुदायका सदस्यले निर्वाहका लागि श्रम गर्ने ठाउँ पाउने र उपकरणका कारण हुने प्राकृतिक खतरा कम हुने भट्टराईले बताए । उनले यसका लागि स्थानीय तहले नीति तथा योजना तय गर्नुपर्ने उनले बताए ।
सडकका कारण हुने वातावरणीय प्रभावका बारेमा स्थानीय समुदायको चिन्ता जाहेर भएपछि स्थानीय सरकारले यसका बारेमा गम्भिर बन्ने संकेत गरेका छन् । मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले स्थानीय तह निर्माण पछिको पहिलो अभ्यास नै सडकका नाममा केन्द्रित भएको स्वीकार गरेका छन् । यो अवस्थामा धार ल्याउन गाउँपालिकाले बिशेष योजना तय गर्ने र आगामी आर्थिक बर्षका योजनामा त्यसलाई गम्भिरतापूर्वक प्रयोग गर्दै जाने बताए । गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फले प्राविधिक दृष्टीले अनुपयुक्त देखिएका क्षेत्रमा खडक खन्दै नखन्ने र यस्तो अवस्था देखिए सुधार गर्ने प्रतिबद्धता जनाइन् । गाउँपालिकाका इञ्जिनियर पवन पौडेलले भौगोलिक बनावटका कारण देखिने एकाध समस्या बाहेक प्राविधिक दृष्टीले अनुपयुक्त क्षेत्रमा पूर्वाधार निर्माण नभएको बताए । उनले वातावरणीय क्षेत्रमा गम्भिर असर पुग्ने गरी विकास निर्माणका कार्य नभएको दावी गर्दै कहिंकतै समस्या आए त्यसलाई सुधारेरकहिंकतै समस्या आए त्यसलाई सुधारेर अघि बढ्ने जनाए । कार्यक्रममा उपस्थित १ नं प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङगामले वातावरणीय असर र प्रभाव नपर्ने गरी विकास निर्माणका कार्य अघि बढाउन सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारलाई विकास प्रवाहको मूल जगको रुपमा ब्याब्खा गर्दै पूर्वाधारका कार्यले वातावरणमा असर नगरोस् भन्ने हेक्कालाई संस्थागत गर्न सबै स्थानीय तहलाई सुुझाएका छन् । गाउपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघको सहजीकरणमा कार्यक्रम भएको हो ।