डिएसपीको कुर्सीमा बसेर फोटो खिच्ने गुरुङ पुर्पक्षाका लागि जेल चलान

वेलकम खबर
असार ३, २०७६

हरी नायव उपरीक्षक (डिएसपी)को कुर्सीमा बसेर फोटाे खिच्ने भारत बैंगलोर कनिका २५ वर्षीय हर्कराज भनिने ओसमान डायनियल गुरुङ पुर्पक्षाका लागि जेल चलान गरिएको छ । उनी झापा विर्तामोड नगरपालिका–५ मा बस्दै आएका थिए ।

काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षाका लागि जगन्नाथ देवलस्थित केन्द्रीय कारागार चलान गर्ने आदेश गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानपछि मुद्दा दर्ता गरेको हो । पक्राउपछि उनलाई झापास्थित इलाका प्रहरी कार्यालय बिर्तामोडले कारबाहीका लागि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार अनाधिकृत तवरले डिएसपीको कुर्सीमा बसेर फोटो खिचेर त्यसलाई सामाजिक सञ्जालमार्फत ‘भाइरल’ बनाएको पाइएपछि विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने, ‘उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको थियो । सोही मुद्दामा उनलाई अदालतले पुर्पक्षाका लागि  जेल चलानको आदेश सुनुवाइ गरेको छ ।’

झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिएसपी सुवास खड्का बस्ने कुर्सीमा बसेर उनले फोटो खिचेका थिए । उक्त फोटो सामाजिक सञ्जालमा पोष्ट भएपछि भाइरल भएको थियो । फोटो पोष्ट भएपछि डिएसपी खड्कामाथि प्रदेश १ प्रहरी मुख्यालयले छानविन नै गरेको थियो । यसका लागि उनलाई प्रदेश प्रहरी मुख्यालय तानिएको थियो ।

प्रहरीका अनुसार गुरुङ भारतीय नागरिक भए पनि नेपाल बसेर मेन पावर व्यवसाय गर्दै आएका थिए । यस क्रममा उनले विभिन्न व्यवसायी तथा व्यापारीलाई ‘प्रहरीको मान्छे हुँ’ भन्दै धम्काउने गर्थे । फोटो पोष्ट गरेका दिन पनि उनले स्थानीय व्यापारिलाई सोही फोटो देखाउँदै धम्काएका थिए । पोष्ट गर्दा भने उनले ‘आई एम द टुडेज डिएसपी’ क्याप्स लेखेका थिए ।

अनुसन्धानमा खटिएका इप्रका बिर्तामोडका डिएसपी मोहन थापाका अनुसार पहिलो चरणमा उनलाई प्रहरीमाथि दुर्व्यवाहार गरेको अभियोगमा पक्राउ गरिएको थियो । विद्युतीय कारोबार ऐन आकर्षित हुने देखिएपछि मात्रै उनीविरुद्ध नयाँ ढंगले अनुसन्धान गरिएको थियो । इप्रका प्रमुख डिएसपी थापाले भने, ‘यसलाई सुरुमा दुर्व्यवाहार गरेको अभियोगमा पक्राउ गरिएको रहेछ । पछि विद्युतीय कारोबार ऐन आकर्षित हुने देखियो । सोहीअन्तर्गत थप अनुसन्धान भयो । मुद्दा स्थापित भएपछि थप कारबाहीका लागि उनलाई अपराध अनुसन्धान महाशाखा पठाइएको हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*