धरानमा डेंगु नियन्त्रणबाहिर : विराटनगर र दमकमा पनि देखियो
धरान । सुनसरीको धरानमा डेढ सातादेखि फैलिएको डेंगु नियन्त्रणबाहिर गएको छ । सुनसरीकै इनरुवा र इटहरी हुँदै मोरङको विराटनगर र झापाको दमकसम्म डेंगु फैलिएको पुष्टि भएको छ । सुनसरीमा चार सय १५ व्यक्तिमा संक्रमण देखिएकोमा पछिल्लो तीन दिनमा झापामा आठ र विराटनगरमा सातजनामा डेंगु देखिएको छ । पानीको हाहाकार रहेको धरानमा स्थानीयले भाँडामा संकलित पानी फाल्न नमान्दा डेंगु नियन्त्रण गर्ने प्रयास सफल हुन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
‘हरेक घरमा पानी टनाटन छ । जम्मा भएको पानी नफाल्दासम्म त्यहाँका जनतालाई औषधि खुवाएर ठीक हुँदैन । लामखुट्टेको जीवनचक्र दुई हप्ताको हुन्छ । दुई हप्ताको जीवनचक्र टुटाउन अहिले भइरहेको लार्भालाई मार्नुपर्छ । घरका ट्यांकी तथा भाँडाकुँडा र घरवरिपरि भएको पानीमा लार्भा देखिएका छन् । त्यसका लागि जम्मा गरेको सफा पानी फाल्नुबाहेक अर्को कुनै विकल्प छैन,’ प्रदेश १ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा निर्देशक भोगेन्द्र डोटेल भन्छन्, ‘सफा पानी घरमा खुला राख्नु खुला बम राख्नुजस्तै हो ।’ घरको पानी फाल्दा दैनिक उपभोगका लागि अर्को पानी व्यवस्था नहुने भएपछि स्थानीयले अस्वीकार गरेका छन् ।
सुनसरीमा दैनिक अस्पताल आउने बिरामीमध्ये २५–३० जनामा डेंगु देखिएको र संख्या बढ्ने क्रममा रहेकाले चुनौती थपिएको उनको भनाइ छ । ‘दैनिक डेंगुका ३० बिरामी देखिनु भनेको सरकारले प्रभावित क्षेत्रमा गरेको नियन्त्रण प्रयास सफल नहुनु हो,’ उनले भने । धरानमा वेलैमा नियन्त्रण गर्न नसक्दा नै पूर्वीतराईमा संक्रमण फैलिँदै गएको छ ।
प्रिमनसुनमै आयो
विगतमा डेंगु पोस्ट–मनसुनमा मात्रै देखिन्थ्यो । तर, अहिले प्रिमनसुनमै देखिएपछि चिकित्सक पनि झस्किएका छन् । ‘पानी परेर रहिसकेपछि खाल्डाखुल्डीमा जमेको पानीमा डेंगु आउनुपर्ने हो । तर, अहिले प्रिमनसुनमै देखिएको छ । यो चिन्ताको विषय हो,’ डोटेलले भने ।
डेंगुबाट बच्ने मुख्य उपाय
आफू बस्ने ठाउँवरिपरि फालिएका खाली बट्टा, टुटेफुटेका कप, बोतल, खाली भाँडामा पानी जम्न दिनुहुँदैन । पानी जमेको स्थानमा हप्ताको दुईपटक मट्टीतेल छर्कने, खानेपानीका ट्यांकीमा लामखुट्टे प्रवेश गर्न नसक्ने गरी ढकन लगाउने तथा हप्तैपिच्छे सफा गर्ने । लामखुट्टेको टोकाइबाट बच्न शरीरका सबै अंग ढाक्ने लुगा लगाउने तथा लामखुट्टे भाग्ने मल्हम शरीरमा दल्ने ।नयाँपत्रिकाबाट



















