सरकारले सार्वजनिक सवारीको भाडा बढायो

वेलकम खबर
जेष्ठ ३०, २०७६

काठमाडौं,। सरकारले सवै किसिमका सार्वजनिक सवारी साधनमा लागू हुने गरी भाडा बढाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालले भाडा बढाइएको जानकारी दिएका छन् ।

उनले सबै किसिमका सार्वजनिक सवारी साधनमा लागू हुने गरी १२ प्रतिशत बढाइएको बताएका छन् । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटरसम्मको १६ रुपैंयाँ भाडा तिर्नुपर्ने भएको छ । यसअघि १४ रुपैयाँ तिर्दा हुन्थ्यो । २०६९ पछि विभागले पहिलो पटक वैज्ञानिक भाडादर भएको दावी गरेको छ । बढेको भाडादर असार १ बाट लागू हुने विभागले जनाएको छ ।

विभागले मेकानिकल पार्टसको मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको जनाएको छ । भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल गरेको थियो ।

बिहीबार यायायात व्यवसायी, उपभोक्ता र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागले जनाएको छ । यायायात व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए । यसअघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो । उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो ।

ट्याक्सी भाडा पनि बढ्यो
सरकारले ट्याक्सी भाडा पनि बढाएको छ । यातायात व्यवस्था विभागले असार १ गतेदेखि नै लागू हुने गरी ट्याक्सीको भाडा बढाएको छ । ट्याक्सी भाडा फ्ल्याक डाउन प्रणाली लागू गर्ने भएको छ । यो प्रणाली भनेको चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली हो ।

यो नियम लागू भएसँगै अब ट्याक्सीमा यात्रा गर्ने उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिर्नुपर्ने भएको छ । अब ट्याक्सी चढने बित्तिकै ट्याक्सी चालकले मिटर अन गर्दा ५० रुपैयाँ देखाउने छ । यो ५० रुपैयाँ एक किलो मिटरसम्म यात्रा गर्न पाइने छ । तर, त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने जनाइएको छ ।

यसअघि ट्याक्सी चढना साथ १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुन्थ्यो । यसको अर्थ प्रतिदुई सय मिटर एक रुपैयाँ ८० पैसा बढेको हो । अब पहिलो एक किलोमिटर बाहेक प्रतिकिलोमिटर ट्याक्सीमा ४४ रुपैयाँ थप तिर्नुपर्ने भएको छ । यसअघि प्रतिकिलोमिटर ३९ रुपैयाँ तिर्दा पुग्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*