वन उपभोक्ता महासंघले गर्यो बार्षिक प्रगतिको सार्वजनिक
ताप्लेजुङ । सामुदायिक वन उपभोक्ता महासँघ ताप्लेजुङले बुधवार आफ्नो बार्षिक भौतिक तथा बित्तिय प्रगति सावजनिक गरेको छ ।
बिश्व बन्यजन्तु कोष(डब्लुडब्लुएफ) र नेपाल सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दीगो वन व्यवस्थापन र संरक्षणका अभियानहरु सञ्चालन गर्दै आएको महासँघले एकबर्षको अवधिमा भएका प्रगति समिक्षा गरेको हो । महासँघका जिल्ला अध्यक्ष सुरज ओझाले ५४ लाख ७४ हजार ६६७ रुपैंया बजेट मध्ये ५४ लाख ३४ हजार ६६७ रुपैंया खर्च भई ४० हजार रुपैंया भने फ्रिज भएको जानकारी दिनुभयो ।

महासँघले तीनजुरे–मिल्के–जलजले संरक्षण क्षेत्रमा समेटिएका यहाँका ५ वटा गाउँपालिकाका ५७ वटा सामुदाकि वन उपभोक्ता समुहसँग मिलेर दीगो वन व्यवस्थापन र संरक्षणका अभियानहरु सञ्चालन गर्दै आएको थियो । महासँघका अध्यक्ष ओझाका अनुसार मिल्के–जलजले क्षेत्रमा पर्ने मैवाखोला,आठराई त्रिबेणी,मिक्वाखोला,मेरिङ्देन र फक्ताङ्लुङ गाउँपालिकामा कार्यक्रम सञ्चालनमा थियो । त्यसमध्ये फक्ताङ्लुङमा भने अघिल्लो बर्ष प्रकृया मात्र आरम्भ भएकोले यसबर्षबाट मात्र थप कार्यक्रम सञ्चालन हुने छन् । कार्यक्षेत्रका ४ हजार ८२९ घरधुरी आबद्ध रहेको यो कार्यक्रमले करिव ३ हजार ४८७ हेक्टर वनक्षेत्रलाई समेटेको ओझाले जानकारी दिनुभयो । जिल्लाभरको कुल सामुदायिक वन क्षेत्र भने करिव ७ हजार २०३ हेक्टर बराबर रहेको छ । जिल्ला भरमा अहिले सम्म ११२ वटा सामुदायिक वन उपभोक्ता समूह रहेको उहाम्ले जानकारी दिनुभयो । निजी वन भने १९ वटा दर्ता भएका छन् ।
दीगो वन व्यवस्थापन र संरक्षण कार्यक्रम अन्र्तगत ६ वटा सामुदायिक वन गठन तथा नवीकरण,१२ वटा क्षमता विकास तथा व्यवस्थापन तालिम र १२ वटा वन उपभोक्ता समूहको कार्याल्य व्यवस्थापनका कार्य भएका छन् । यस्तै यो अवधिमा ११ वटा पानी मुहान संरक्षण ७ वटा पोखरी संरक्षण,प्रति २ हेक्टर भित्र १२ वटा वन व्यवस्थापन कार्य,१ वटा निजी तथा कृषि वन प्रवद्र्धन कार्यक्रम,१२ वटा समूहमा प्राकृतिक स्रोतमा शुसासन तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरण कार्यक्रम,सार्वजनिक जग्गा तथा सडक छेउछाउको २ हेक्टर जमिनमा बृक्षरोपण कार्यक्रम र २ वटा वनमा आधारित हरितगृह उद्यम व्यवस्थापनका कार्य भएको सामुदायिक वन उपभोक्ता महासँघले जनाएको छ । महासँघ अध्यक्ष ओझाले ३ वटा संरक्षण सम्वन्धी सचेतना कार्यक्रम र योजना तर्जुमा,समन्वय र अनुगमनका कार्य भएको जानकारी दिनुभयो । उहाँले आगामी आवमा दीगो वन व्यवस्थापन तथा संरक्षण कार्यक्रमका लागि स्थानीय तहसँग समेत साझेदारी र समन्वयमा कार्यक्रम सञ्चालनको गृहकार्य भईरहेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले वन क्षेत्रको संरक्षण र दीगो वन व्यवस्थापनका कार्यमा उपभोक्तालाई बढी जिम्मेवार बनाएर लैजान सुझाउनुभयो । उहाँले प्राकृतिक सम्पदाको रुपमा रहेको वन व्यवस्थापन तथा संरक्षणका कार्यबाट उपभोक्ताको जीवन सुधारका लागि उल्लेख्य काम हुन सक्ने भएकोले समुदायका सदस्यलाई यसकार्यमा बढी क्रियाशिल र जवाफदेही बनाउन आवश्यक रहको बताउनुभयो ।
डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख मोहनलाल कर्णले सानो बजेट परिचालनबाट उल्लेख्य प्रगति हासिल गर्न सकेको भन्दै सामुदायिक वन उपभोक्ता महासँघ प्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समुदायका सदस्यलाई बढी जवाफदेही र जिम्मेवार बनाउने गरी योजना,कार्यक्रम र बजेटको तर्जुमा गर्न सुझाव दिनु भएको छ ।



















