प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्न प्रस्ताब

वेलकम खबर
जेष्ठ २३, २०७६

काठमाडौं । प्रदेश ३ को नामाकरणको विवाद अहिले पनि थाँती नै छ । प्रदेश राजधानीको पनि टुंगो लाग्न सकेको छैन । यस्तो बेलामा सत्तापक्ष सांसदहरुले ३ नम्बर प्रदेशको नाम भने नेवाः ताम्सालिङ राख्न प्रस्ताव गरेका छन् ।

विभिन्न आधारहरु प्रस्तुत गर्दै ती पाँच जना सांसदहरुले ३ नम्बर प्रदेशको नाम नेवाः ताम्सालिङ राख्न प्रस्ताव गरेका हुन् । उनीहरुले प्रदेश ३ का सभामुख कार्यालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

प्रस्ताव दर्ता गर्नेमध्येका सांसद ओमबहादुर घलानले नामाकरणका सवालमा नेवाः ताम्सालिङ राख्नुपर्छ भन्ने मान्यताका साथ प्रस्ताव दर्ता गरिएको बताए । यो प्रस्तावमा पार्टीको समर्थन रहेको भन्दै उनले नेवाः ताम्सालिङ नाम रहनेमा आफूहरु विश्वस्त रहेको पनि बताए ।

प्रस्ताव दर्ता गर्नेहरु पाँचै जना सत्तापक्षीय सांसदहरु छन् । ओमबहादुर घलान र प्रतिमा श्रेष्ठ प्रस्तावक छन् । उनीहरु नेकपाका सांसदहरु हुन् । त्यस्तै समर्थकहरुमा रत्नप्रसाद ढकाल, सिता अधिकारी र प्रेमबहादुर तामाङ छन् । ढकाल र अधिकारी नेकपाका सांसद हुन भने तामाङ समाजवादी पार्टी नेपालका सांसद हुन् ।

उनीहरुले प्रस्तावमा भनेको छ– यस ३ नं। प्रदेशको नाम ‘नेवाः ताम्सालिङ’ प्रदेश राखियोस् ।

उनीहरुले गरेको प्रस्तावसँगै आधार र कारण पनि प्रस्तुत गरेका छन् । उनीहरुले प्रस्तुत गरेको पहिलो आधारमा ‘संविधानसभाद्वारा सर्वसम्मतिले पारित तथा दोस्रो संविधानसभाद्वारा संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुनर्संरचना गर्दा पशिचान र सामथ्र्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्न’का लागि पनि नेवाः ताम्सालिङ नामाकरण गर्नु उचित भनेको छ ।

त्यस्तै, ‘दोस्रो संविधानसभाको निर्वाचनमा प्रमुख दलहरुले पहिलो संविधानसभाद्वारा दिइएको म्याण्डेटलाई आधार बनाउँदै आफ्नो घोषणापत्रमार्फत पहिचान पनि भेटिने, द्वन्द पनि मेटिने, बहुपहिचान तथा पहिचानसहितको संघीयताको नारा लगाएको र उक्त नारालाई नेपाली जनताले अत्याधिक बहुमतका साथ निर्वाचनमा मत जाहेर गरी अनुमोदन गरेको तथ्यलाई स्मरण गर्दै नेवाः ताम्सालिङ नाम उचित हुने जिकिर छ ।

प्रदेश ३ क्षेत्रमा नेवार र तामाङ समुदायको मुख्य बाहुल्य एवं सांस्कृतिक भूगोल तथा ऐतिहासिक क्षेत्र मिलाएको तथ्य प्रस्तुत गर्दै ती सांसदहरुले नेवाः ताम्सालिङ नामाकरण गर्न प्रस्ताव गरेको छ ।

नेवाः ताम्सालिङ नामाकरणका लागि नौं बुँदे आधार र कारण प्रस्तुत गर्दै सांसदहरुले बुझाएको प्रस्तावबारे अहिलेसम्म कुनै छलफल भने भएको छैन । ती सांसदहरुले जनतासमक्ष आफूहरुले ३ नम्बर प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नु पर्नाको कारणबारे सार्वजनिक रुपमा अभियान नै सञ्चालन गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*