क्षमता भन्दा ६ गुणा बढी कैदी

वेलकम खबर
जेष्ठ २३, २०७६

ताप्लेजुङ-जिल्ला कारागारमा स्थापनापछिकै सबैभन्दा धेरै कैदी तथा बन्दी (थुनुवा) राखिएका छन् । २५ जना क्षमताको कारागारमा जेठ १६ गतेसम्म १ सय ३८ जनालाई राखिएको छ । जेलर धनिराम चौधरीका अनुसार अहिलेसम्मको तथ्यांकले यो संख्यालाई जेल स्थापनापछिकै सबैभन्दा बढी देखाएको छ । यो कारागर विक्रम सम्वत् १९५२ सालमा बनेको हो ।

अहिले कैदी ८९ र थुनुवा ४९ जना छन् । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बलात्कार, बलात्कार प्रयास, डाका, चोरी, लागूऔषध, जिउ मास्ने बेच्ने, वैदेशिक रोजगार ठगी, सवारी ज्यान, अंगभंगमा जेल सजाय तोकिएका र अन्य अभियोग लागेकाहरु रहेका छन् । हातहतियार खरखजाना, विस्फोटक पदार्थ, सार्वजनिक अपराध, बैंकिङ कसुर, बहुविवाह, आगजनी, ठगी, गौवध, अभद्र व्यवहार, अपहरण तथा शरीर बन्धक मुद्दाका पनि रहेका छन् । सबैभन्दा बढी बलात्कार घटनाका छन् । यो मुद्दाअन्तर्गत ४० जना रहेको कारागार शाखाले जनाएको छ ।
कारागार शाखाको तथ्यांक अनुसार असोजदेखि कैदी र थुनुवाको संख्या अत्यधिक बढेको हो । जेलर चौधरीले भने, “डीएसपी साहेब आएलगत्तै कैदी तथा थुनुवाको संख्या ह्वात्तै बढ्यो । जेलभित्र पाउनुपर्ने सेवा सुविधा उपभोग गर्न कठिन बन्यो ।” कारागारमा यसअघिसम्म एक सय जनाभन्दा बढी राखिएको थिएन । “भित्र त हिँडडुल गर्नपनि कठिन जस्तै छ,” जेलर चौधरीले भने, “साँघुरो ठाउँमा जबरजस्ती खाटहरु थपेका छौं । खानेपानी र शौचालय समस्याले स्वास्थ्यमा खतरा बढेको छ ।” कारागारभित्र तीनवटा मात्रै शौचालय छन् । शौच गर्न लाइन लागेर पालो मिलाएर गर्नुपर्छ । पानी पर्याप्त मात्रामा छैन । औषधि पनि बजेटले नपुगेर बा“की चलाउनु परेको जेलर चौधरीले बताए ।
मानवअधिकारकर्मी तथा अधिवक्ता बेदनिधि पौडेलका अनुसार कारागारमा थुनुवा तथा कैदीले पाउनुपर्ने न्यूनतम सेवा सुविधाबाट बञ्चित भएका छन् । खान, बस्न, सिपअनुसार काम गर्न र मनोरञ्जन कारागारभित्र कल्पना बाहिरको विषय बनेको अधिकारकर्मी पौडेलले बताए ।
कारागारमा अहिले अदालतबाट मुद्दा फैसलापछि फरार भएकाहरु पनि ल्याइएका छन् । प्रहरीले ज्यान मारेर १० वर्षदेखि फरार रहेकालाई पनि पक्राउ गरेको छ । फरारको संख्या अझै धेरै रहेको अदालतको तथ्यांकले देखाउ“छ । प्रहरी नायब उपरिक्षक थापाले भने, “अदालतबाट कैद तोकिएका तर फरार भएका पक्राउ गर्ने क्रम बढ्दो छ । तथ्यांकअनुसार अझ धेरै पक्राउ पर्न बाँकी नै छ ।” यहि अनुपातमा पक्राउ परिरहे यहाँबाट बाहिर पठाउनैपर्ने अवस्था आउने कारागार शाखाको बुझाइ छ ।
महिलाका लागि राख्ने ठाउ“ नभएकाले ताप्लेजुङमा मुद्दा चलेका ५ जना पा“चथरको फिदिम कारागारमा राखिएका छन् । यो संख्या घट्ने सम्भावना कम रहेको चौधरी बताउ“छन् । प्रकृयागत रुपमा जेठ महिनामा छुट्ने एकजना मात्रै छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले दिने माफी मिनाहाका लागि ४ जनाको सिफारिस गरिएको छ । यहि संख्यालाई आधार मानेर ५ जना छुट्दा जेठ महिनाभरी कारागारमा १ सय ३३ जना हुनेछन् । तर जिल्ला प्रहरी कार्यालयका अनुसार हिरासत अहिले पनि भरिभराउ रहेको छ । तीमध्ये कतिपयको कारागार चलानको सम्भावना रहेकाले संख्या अझै बढ्ने देखिएको छ ।
कारागारको पर्खाल पनि जीर्ण बनेको छ । भूकम्पपछि यो कारागारको पर्खाल २ पटक भत्किसकेको छ । टालटुलमात्र गरिएको छ । ४० मिटर लामो पर्खाल भत्किएपछि का“डेतार लगाएर कैदीबन्दीलाई राखिएको थियो । फुङलिङ नगरपालिकास्थित भानु जन मावि नजिक साढे ७ रोपनी जग्गा कारागारको भएपनि कारागार निर्माणमा कसैले चासो देखाएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*