सन् २०२२ मा कतारमा हुने विश्वकपमा ३२ राष्ट्रकाे सहभागिता निश्चित
काठमाण्डौ । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा ३२ राष्ट्रकै सहभागिता निश्चित भएको छ । पूर्वीमध्य एसियामा अरबी राष्ट्रबीचको तनावका कारण कतारमा ३२ राष्ट्रबीच मात्र प्रतिस्पर्धा हुने फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अन्तर्राष्ट्रिय मिडियालाई जानकारी दिएका छन् । गत वर्ष इन्फान्टिनोले कतार विश्वकपमा ४८ राष्ट्रबीच प्रतिस्पर्धा गराउने निर्णय लिएका थिए ।
व्यापक छलफल
गत वर्ष फिफाले २०२६ देखि विश्वकपमा ४८ राष्ट्रलाई सहभागी गराउने निर्णय गरेको थियो । इन्फान्टिनोले कतार विश्वकपबाटै फिफाको बहुउद्देश्यीय परियोजना लागू गर्ने प्रयास गरेका थिए । तर, कतारसँगै अन्य छिमेकी राष्ट्रले पनि आयोजनामा साझेदारी गर्नुपर्ने प्रस्ताव फिफाले राखेको थियो । अरबी राष्ट्रबीच आपसी समझदारी बनाउन नसक्दा पूर्वयोजना लागू गर्न नसकेको इन्फान्टिनोले बताए । ‘४८ राष्ट्रका विषयमा व्यापक र गहन छलफल भयो, अब छोटो समयमा यो ठूलो आयोजनालाई परिवर्तन गर्न सकिँदैन,’ उनले भने, ‘सुरुमा कतार सक्षम थियो, तर कतारमाथिको नाकाबन्दीले ४८ राष्ट्रबीचको विश्वकप गर्न नसक्ने निष्कर्षमा हामी पुगेका छौँ ।’
कतार तयार छ
कतारले विश्वकपका लागि जस्तोसुकै लगानी गर्न तयार रहेको जनाउँदै भव्य रूपमा प्रतियोगिता आयोजना गर्न सकिने बताएको छ । ‘कतार सधँै २०२२ मा विस्तारित राष्ट्रसहितको प्रतियोगिता आयोजनाका लागि सक्षम छ, त्यस विषयमा हामी खुला छौँ,’ कतारले विज्ञप्ति जारी गर्दै भन्यो, ‘आयोजक राष्ट्रका रूपमा ४८ राष्ट्रलाई नै सहभागी गराउन पाएको भए फुटबल र कतारका लागि थप ऐतिहासिक हुने थियो ।’ साढे तीन वर्षको समयमा ३२ राष्ट्रका टोली निश्चित भएसँगै आयोजना भव्य बनाउने कतारले दाबी गरेको छ ।
कतार खुसी
फिफाको निर्णयसँगै कतारको ठूलो संकट हटेको छ । कतारले अब ३२ या ४८ राष्ट्रबीचको विश्वकप गर्नुपर्ने द्विविधा समाप्त भएको जनाएको छ । ‘अब ३२ राष्ट्रको विश्वकपलाई ऐतिहासिक बनाउने ध्याउन्नमा कतार केन्द्रित हुनेछ,’ कतारले भनेको छ, ‘आयोजकका रूपमा निकै राहत महसुस भएको छ । साथै, कतारलाई एकल आयोजनाको जिम्मेवारी खोसिनेसमेत चिन्ता थियो ।’ संख्या थप हुँदा कतारले अन्य छिमेकीसँग विश्वकप आयोजनाको साझेदारी गर्नुपथ्र्यो, जुन कतार चाहँदैनथ्यो । कतार अहिले अरब राष्ट्रहरूबाट घेरिएकाले कम्तीमा आफ्नो एकल प्रयासमा विश्वलाई आफूमा केन्द्रित गर्न चाहन्छ ।
२०१७ मै निर्णय
२०१७ मा फिफाले २०२६ को विश्वकपका लागि ४८ राष्ट्र सहभागी गराउने निर्णय सर्वसम्मत रूपमा पारित गरेको थियो । यद्यपि, २०१८ मा इन्फान्टिनोले कतारमा ४८ राष्ट्रबीच प्रतियोगिता गर्न सकिने सम्भावनाका विषयमा बोलेका थिए । पछिल्लो निर्णयसँगै कतार विश्वकपमा कति राष्ट्र हुने भन्ने विषयको बहस समाप्त भएको छ ।



















