बौद्ध जोरपाटी बन्द गरी स्थानीयबासी तथा ब्यापारी आन्दोलनमा ( फोटो फिचर तथा भिडियो )

काठमाडौं । चाबहिलदेखि जोरपाटीसम्मका स्थानीयले उक्त सडकखण्डमा धुलो बढी हुँदा पनि सरकार र ठेकेदारले बेवास्ता गरेको भन्दै आज बिहानैबाट बाटो बन्द गराएका छन् । सडक छेउका व्यवसायी पनि पसल बन्द गरेर सडकमा उत्रिएका छन् । उक्त सडकखण्ड चार बर्ष बित्दासमेत पिच नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाको बैठकमा काठमाडौंमा धुलो कम भएको, कोही पनि मास्क लगाएर हिँडनु नपरेको बताएका थिए । तर पनि स्थानीयले बाटोमा उडेको धुलो र धुवाँले नजिक बस्नै नसकिएको भन्दै विरोध जनाएका छन् ।
स्थानीय, व्यवसायीलगायतले ‘धुलो धुवाँ धेरै भो, स्वास फेर्न गाह्रो भो’, कालो पत्र छिटो गर’ ‘विश्व सम्पदाको संरक्षण गर’ लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेर उक्त सडकखण्डमा प्रदर्शन गरेका छन् ।
बौद्ध व्यापार संघको पहलमा आज बिहानैबाट उक्त सडक बन्द गराएर स्थानीयले दबाब दिएका हुन् । “हामीले तीनवर्षदेखि संघर्षका कार्यक्रम गरेका थियौं,” बौद्ध व्यापार संघका सचिव सहदेव चौलागाईँले भने,“न त सरकारले सुन्छ, न ठेकेदारले ।” उक्त सडक खण्ड निर्माणको जिम्मा युनाइटेड विल्डर्सले पाएको थियो । उक्त कम्पनीको कार्यालयमा पुगेर समेत आफूहरुले दबाब दिएको भए पनि अहिलेसम्म सडक नबनेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
“हिजो बौद्ध गेटमा एकघण्टा चक्काजाम गरयौ ,” उनले भने, “आज ८ बजेदेखि ५ बजेसम्म चक्काजाम गरेका छौं । परिणाम नआउन्जेल अब हामीले सडक खोल्दैनौं । सडक भत्काएको पाँचवर्ष बढी भइसक्यो तर अहिलेसम्म बनाइएको छैन ।” सडकको चौडाइ २२ मिटर बनाउने भनेर ठेक्का लगाइएपछि स्थानीले आफूहरुले घर नभत्काउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अन्तरिम आदेश दिएपछि सडक निर्माणको काम रोकिएको थियो ।
अघिल्लो वर्ष नै मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि जति सडक अहिले कायम छ त्यसमा पिच गर्नू भनेर निर्देशन दिएको भएपनि अहिलेसम्म नभएको चौलागाईँले जानकारी दिए ।
“हामीलाई धुवाँ धुलो त छँदैछ,” उनले भने, “बौद्ध व्यापार संघले तीन वर्षको बीचमा करिब ८० लाखको पानी बाटोमै खन्याइसक्यौं । अब त त्यो पनि सम्भव भएन । धुलोले बस्नै नसकिने भयो । त्यसैले सडकमा उत्रियौं । हामीले नै पैसा उठाएर दिनमा तीनपटक ट्याङ्करबाट पानी सडकमा खन्याउने गरेका थियौं । तर पनि सरकारले वास्तै गरेन,” उनले भने ।